जनकपुरधाम । नेपालमा मैथिली भाषाका लागि सबैभन्दा ठूलो पुरस्कार घोषणा गरिएको छ । दुई लाख रुपैयाको नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार मैथिली साहित्यकार एवं रंगकर्मी रमेशरञ्जन झालाई दिइने निर्णय गरिएको हो । झाको आधा दर्जन भन्दा बढी पुस्तक प्रकाशित रहेको छ ।
यसैगरी नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार डा. सूर्यनारायण यादव र नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार लहान नगरपालिकाका अर्जूनप्रसाद गुप्तालाई दिइने घोषणा गरिएको छ । अनुसन्धान र पाण्डुलिपी पुरस्कार एक–एक लाखको रहेको छ । यसैगरी नेपाल विद्यापति मैथिली कलासंस्कृति पुरस्कार निर्मला झा र अशोककुमार दत्तलाई दिइने छ । कलासंस्कृति पुरस्कार ५०/५० हजारको रहेको जानकारी विद्यापति पुरस्कार कोषका सदस्य सचिव रुद्रकुमार झाले दिएका छन । निर्मला झालाई मिथिला चित्रकला र दत्तलाई गीतसंगीतका लागि दिइएको छ । अनुवाद पुरस्कारका लागि यसपाली कुनै पुस्तक नपरेकाले घोषणा गरिएको छैन । घोषणा गरिएको पुरस्कार असार ३१ गते प्रदान गरिने छ ।
प्रत्येक वर्ष विद्यापतिको स्मृति दिवसका दिन कातिक महिनामा पुरस्कारको घोषणा गरिदै आएको थियो तर यसपाली ८ महिना ढिलो गरी घोषणा गरिएको छ । पुरस्कारका लागि संस्कृति मन्त्रालयले अवकाशप्राप्त प्राध्यापक रामचन्द्र यादवको अध्यक्ष र रुद्रकुमार झा सदस्य सचिव रहने गरी पुरस्कार कोष गठन गरेको छ । २०६८ सालदेखि प्रत्येक वर्ष विद्यापतिको नाउँमा पुरस्कार दिदै आएको छ ।






