राष्ट्राध्यक्ष वा राष्ट्रपति पदमा रहने व्यक्ति पदीय मर्यादामा देशकै सबैभन्दा ठूला व्यक्ति हुन् । कार्यकारी प्रधानमन्त्री काम कर्तव्य र अधिकारमा सर्वशक्तिमान भए पनि उनी राष्ट्रपति र उपराष्ट्रपति पछिका तेस्रो ठूलो व्यक्तिमा पर्दछन् । समान्यतया ठूलो व्यक्ति भन्नाले पदीय दायित्व र जिम्मेवारी उच्च एवं व्यापक भएको व्यक्ति भन्ने बुझिन्छ । ठूलो व्यक्तिमा मानप्रतिष्ठा सँगसँगै असीमित अधिकार र दायित्व हुन्छ । कार्य सञ्चालनको दायित्व गहन हुने मात्र होइन उसका हरेक क्रियाकलाप र गतिविधिले राष्ट्रिय महत्व राख्छ । सम्पूर्ण देशबासीकै आस्था र विश्वासको केन्द्र बन्ने भएकोले ठूलो व्यक्तिले सम्पादन गर्ने सकारात्मक कार्यले देश र देशबासीकै प्रतिनिधित्व गर्दछ । अर्को शब्दमा भन्नुपर्दा ठूलो व्यक्ति राष्ट्रकै अभिभावक हुने भएकोले उसले सबैको निम्ति अनुकरणीय कार्य गर्नुपर्दछ । कार्यकुशलता, नैतिक इमानदारिता, आदर्श व्यवहार, दृढ नेतृत्व, जनमुखी कार्य र सेवा भावना ठूलो व्यक्तिमा हुनुपर्ने प्रमुख विशेषता हुन् ।
कामकर्तव्य, अधिकार क्षेत्र र जिम्मेवारीको हैसियतले कार्यकारी प्रधानमन्त्रीभन्दा ठूलो व्यक्ति हाम्रो मुलुकमा अरू छैन । तर, राज्य संयन्त्रका उच्च पदस्थ पदाधिकारीदेखि मन्त्रालयको नेतृत्वसम्म मात्र होइन मुलुककै कार्यकारी प्रधानमन्त्रीभन्दा शक्तिशाली, लेनदेन र कारोबारमा मध्यस्थता गर्ने बिचौलिया वा दलाल हुन्छन् भन्दा कतिपयलाई आश्चर्य लाग्न सक्ला । तर, यो आश्चर्यको विषय होइन, सर्वपक्षीय कर्तव्य एवं अधिकार र दायित्वमा आधारित नभए पनि बिचौलियाको भूमिका निर्वाह गर्ने व्यक्तिले कार्यकारी प्रधानमन्त्रीलाई नै बसमा राख्न सक्ने अवस्थाले मुलुककै सबैभन्दा ठूलो शक्ति भनिएको हो । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रसम्म प्रभाव पार्न सक्ने बिचौलिया मुलुककै सबैभन्दा ठूलो शक्ति कसरी बन्छ उनीहरूले आफ्नो कार्य क्षेत्र कसरी विस्तार गर्दै छन् तथा राज्यलाई बिचौलियाले कसरी प्रभावित बनाउन्छन् ? यस सम्बद्ध केही दृष्टान्त हेरौं ।
स्मरण रहोस् गत असार अन्तिम साता नेपाल प्रहरीको हतियार खरिद प्रकरणले छापामा उच्च प्राथमिकता पायो । प्रहरीलाई आवश्यक पर्ने ९ एमएम पेस्तोल १ हजार नाल, ऐको गोली १० लाख २० हजार थान, १२ बोरको सटगन ११५० नाल, ऐको छरारा २ लाख थान तथा अश्रुग्यास र रबरका गोलीसमेत गरी कुल ८४ करोडको हातहतियार र खरखजाना इटलीबाट खरिद गर्ने प्रक्रिया सरकारले अगाडि बढाएको सर्वविदितै छ । हतियार इटालीको बेरेटा र फार्वाम कम्पनीको भए पनि सो कम्पनीमार्फत नभई बिचौलिया दिपक भट्टकै योजनाअनुसार चीनको पोली टेक्नोलोजी इन्कमार्फत झिकाउने सहमति गरेको बेहोरा यसअघि नै सार्वजनिक भइसकेको छ । हतियार खरिद गर्ने सो योजना २०७१ सालमै बनेको भए पनि त्यसबेला प्रहरीको लागि करिब डेढ अरबको हतियार झिकाउन लागिपरेका बिचौलिया उनै दिपक भट्टले पहिले रद्द गरिएकै खरिद प्रकरणलाई अहिलेको अनुकूल अवसर ठानी पुनः बिउताए ।
बिचौलिया दिपक भट्ट उल्लेखित हतियार ल्याउने ठेक्कासमेत आफ्नो हातमा पार्न सफल बने । प्रहरीको हतियार ल्याउन मात्र होइन भट्टले आपसी हेलमेल र निकट सम्पर्ककै आधारमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र वर्तमान प्रधानमन्त्री निवास बालुवाटारलाई नै प्रभावित बनाएर साडे चार अरबमा २ वटा हेलिकोप्टर खरिद गराउने प्रयासमा लागेको बुझिन्छ । यसको अलावा नेकपा एमाले र माओवादी केन्द्रबीचको साविकको एकीकरण पनि बिचौलिया भट्टकै सहजीकरणमा भएको जानकारहरू बताउँछन् । दुई दलबीच एकीकरण गराउन उल्लेख्य भूमिका निभाएबापत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कारस्वरूप दिपक भट्टकै दाजु सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नै बनाएका थिए । विवादास्पद भूमिकाबाट अर्थमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका जनार्दन शर्माको मन्त्री पदबाट भएको बर्हिगमनको कारक तत्व पनि बिचौलिया भट्टले नै मन्त्री शर्मालाई भेट गर्न पठाएका व्यक्ति थिए भन्ने कुरा पनि यसअघि नै सार्वजनिक भइसकेको छ ।
‘ए’ ग्रेडका अन्य धेरै बिचौलिाया अहिले आ–आफ्नो क्षेत्रमा सक्रिय रहँदै आएका छन् । केन्द्रदेखि स्थानीय तहसम्मका तीन तहकै सरकार पनि तीन तहकै बिचौलियाबाट प्रभावित बन्दै आएका छन्
२०७१ सालमा कमिसनकै चक्करमा प्रहरीलाई डेढ अर्बको हतियार खरिद गराउन अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्की, सरकारकै उच्च पदस्थ पदाधिकारीदेखि एजेन्ट दिपक भट्टसम्मका व्यक्तिहरू लागिपरेको भए पनि आफूले उनीहरूको योजनालाई बिफल बनाइदिएको पूर्वएआईजीपी राजेन्द्रसिंह भण्डारीले बताउँदै आएका छन् । शृंखलाबद्ध रूपमा हुँदै आएका उपरोक्त घटनाले बिचौलिया दिपक भट्ट राष्ट्रिय स्तरका प्रभावशाली दलकै शीर्षस्थ नेताहरू क्रमशः शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपालदेखि विभिन्न संसदीय समितिसम्म तथा अख्तियारका लोकमानसिंह कार्की, अर्थ तथा गृह मन्त्रालयका उच्च पदस्थ अधिकृत एवं नेपाल प्रहरीसम्मलाई परिचालित गराउन सक्ने हैसियतका व्यक्ति देखिन्छन् । यति मात्र होइन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्मलाई आफूले प्रयोग गर्न सक्ने खुलसा भट्ट आफैंले भिडियो रेकर्डमा उल्लेख गरेका छन् ।
घटनाको उपरोक्त क्रमबद्ध विवरण हेर्दा बिचौलिया राज्यको सबैभन्दा ठूलो शक्ति भएको तथा बिचौलियाले नै छदम भेषमा राज्य सञ्चालन गरिरहेको पुष्टि हुन्छ । यस’bout पनि संक्षिप्त चर्चा गरौं । बिचौलियाको प्रमुख भूमिका नै राज्यको आर्थिक कारोबारमा प्रत्यक्ष संलग्न भई लक्षित कार्य गर्ने गराउने क्रममा मध्यस्थकर्ता बनी कमिसनबापत रकम हत्याउने तथा सम्बन्धित अधिकारीसम्म बाँडफाँड गरी खाने नै हो । निजी स्वार्थलाई सर्वोपरि ठान्ने व्यक्तिका निम्ति बिचौलिया सहकार्यकै सारथी मानिन्छन् । सार्वजनिक पदधारण गर्ने उच्च पदस्थ पदाधिकारीको सहकार्यको सारथी मानिएका बिचौलियामध्येकै नाइके वा अग्रपंक्तिका व्यक्ति हुन् दिपक भट्ट । उच्च पदस्थ पदाधिकारीले कार्य सम्पादन गर्ने गराउने क्रममा दिपक भट्टलाई नै छानेका हुन् वा दिपक भट्टले नै राज्यका उच्च पदस्थ पदाधिकारीलाई आफ्नो चंगुलमा पारे भन्ने कुरा अन्योलपूर्ण भए पनि यो पारस्परिक लाभकै मिलन हो भन्न सकिन्छ ।
दिपक भट्टको पहुँच राज्यको जुनसुकै क्षेत्रमा छ भन्ने कुरा माथि उल्लेखित घटना विवरणले नै पुष्टि गर्दछ । दिपक भट्टसँग उच्च पदस्थ पदाधिकारीलाई मोहित बनाउने मोहनी छ जुन आर्थिक लाभ नै हो । दिपक भट्टजस्तै ‘ए’ ग्रेडका अन्य धेरै बिचौलिया अहिले आ–आफ्नो क्षेत्रमा सक्रिय रहँदै आएका छन् । केन्द्रदेखि स्थानीय तहसम्मका तीन तहकै सरकार पनि तीन तहकै बिचौलियाबाट प्रभावित बन्दै आएका छन् । विशेषगरी आर्थिक कारोबार गर्ने राज्य निकाय जस्तो भन्सार, अन्त शुल्क, मालपोत, राजस्व मात्र होइन प्रशासनिक कार्यदेखि सार्वजनिक निर्माण र अदालतसम्म बिचौलिया सक्रिय छन् । सामान्य नागरिक काम विशेषले सरकारी कार्यालयमा पुगे भने सम्बन्धित फाँटमा पुग्न नपाउँदै बिचौलियाको घेरामा पर्दछन् । के काम गर्नुपर्ने हो, मलाई भन्न होस् म छिट्टा गराइदिन्छु भन्ने व्यक्तिकै झुन्ड त्यहाँ हुन्छ । ग्राहक पट्याउन उनीहरूबीच नै प्रतिस्धर्पा हुन्छ ।
कुन व्यक्ति कस्तो हो ? काम गरिदिएबापत ऊबाट कति रकम हत्याउन सकिन्छ ? भन्ने कुरा व्यक्ति हेर्नासाथ बिचौलियाले थाहा पाउँछन् । शक्ति र प्रभावको आधारमा बिचौलिया तीन प्रकारका हुन्छन् । प्रायः गरी अदालत, मालपोत, नापी, भन्सार, अन्तर्शुल्क, राष्ट्रिय यातायात कार्यालयमा सक्रिय रहने बिचौलिया तेस्रो समूहका वा तल्लो स्तरका बिचौलिया मानिन्छन् । यस्ता बिचौलियालाई वास्ता नगरी आफैं आफ्नो काम गर्ने भनी अगाडि बढेमा फाँटबाला कर्मचारीले नै सेवाग्राही सोझै आएको महसुस गरी व्यस्तताको नाटक गरी काममा ढिलाइ गरिदिन्छन् । तत्कालै हुने कार्यलाई केही घण्टा वा आज होइन भोलि आउनु भनी पन्छाउछन् । कर्मचारीले आलटाल गर्नुको मुख्य कारण पनि बिचौलियामार्फत प्राप्त हुने हिस्सा गुमेको ठान्नु नै हो । किनकि फाँटबालाकै मिलेमतोमा बिचौलिया सक्रिय हुने र सेवाग्राहीबाट प्राप्त हुने लाभ कर्मचारीसहित मिली खाने तल्लो वा तेस्रो तहका बिचौलियाको प्रमुख धन्दा नै हो ।
छदम भेषमा रहने बिचौलिया राष्ट्रसेवक कर्मचारीदेखि सत्तासिन नेतासम्मकै स्थायी आम्दानीका स्रोत हुन् । कुन दिन, कुन कार्यालयमा, कस्तो प्रकृतिको कार्य हुन्छ भन्ने कुरा नेतादेखि राष्ट्रसेवक कर्मचारीले नै बिचौलियालाई अग्रिम जानकारी दिन्छन्
यसैगरी योभन्दा माथिल्लो तहको वा अझै स्टेन्डर मानिने दोस्रो तहका बिचौलिया हुन्छन् । दोस्रो वर्गका बिचौलियाले सामान्यभन्दा ठुलै रकम हत्याउने उद्देश्यले कार्य गर्दछन् । यिनीहरूको कार्य क्षेत्र पनि व्यापक हुन्छ । यो वर्गका बिचौलियाको हेलमेल र सम्पर्क पनि फाँटबालासँग मात्र नभै कार्यालय प्रमुखसँगै हुन्छ । कार्यालय प्रमुखसँग निकटम सम्बन्ध कायम गरी सम्बन्धित फाँटवालालाई धम्की दिएरै पनि उद्देश्य पूरा गर्ने यिनीहरूको प्रवृत्ति हुन्छ । कसैलाई घर जग्गा मिलाइदिने, कसैको बिक्री गरिदिने, मझौला खालको निर्माण सम्भार जस्तो पुलपुलेसा, ढल कल्वभर्ट निर्माण, अफिस प्रयोजनका मालसामान खरिद बिक्री तथा कुनै खास कार्यका लागि आह्वान हुने टेन्डर वा बोलकबोल कसैलाई मिलाइदिने वा आफैंलाई पार्ने कार्यमा दोस्रो वर्गका बिचौलिया सक्रिय हुन्छन् । यस्ता बिचौलियाले कसैको काम गरिदिए वा कसैलाई काम दिलाइदिएबापत ठुलै रकम हत्याउँछन् ।
यो समूहका बिचौलियाले सम्बन्धित कार्यालयका प्रमुखलाई लाभांश बाँड्छन् । दोस्रो श्रेणीका बिचौलियामार्फत हुने कार्य पनि तत्कालै हुन्छ । सेवाग्राहीले लामो समयसम्म झुलिएर रहनुपर्दैन । तर, काम प्राप्त गरेबापत वा काम गरिदिएबापतको नजराना भने सेवाग्राहीले बिचौलियालाई टक्र्यउँनै पर्दछ । यस्तो वर्गका बिचौलियाको कार्य क्षेत्र प्रायः गरी जिल्लास्तरीय कार्यालयसम्म फैलिएको हुन्छ ।
सबैभन्दा माथिल्लो तहको बिचौलियालाई उच्च स्तरीय बिचौलिया वा ‘ए’ ग्रेडको बिचौलिया भनिन्छ । उच्चस्तरीय बिचौलियाको सम्पर्क पनि सम्बन्धित विभागीय प्रमुखदेखि मन्त्रालयको सचिव र मन्त्रालयकै नेतृत्वसम्म वा सत्तासिन नेतासम्म हुन्छ । लाखौं करोडौंको अपेक्षा गर्ने यो वर्गका बिचौलियाले योजना बनाउने र कार्यान्वयन गर्ने गराउने उच्च पदस्थ पदाधिकारीलाई हातमा लिएर कार्य गर्दछन् । ठूलो लगानीमा निर्माण हुने राष्ट्रिय स्तरका योजना परियोजना, सडक, पुल भवन निर्माण, अत्यावश्यक सरकारी सामग्री, सवारी साधन खरिद गर्नु वा निर्माण गर्नुपर्दा ‘ए’ ग्रेडकै बिचौलिया अग्रसर हुन्छन् । दिपक भट्ट यही वर्गका बिचौलिया हुन् । दिपक भट्टजस्तै उच्च स्तरीय बिचौलिया अरू पनि धेरै छन् । जसले राजनैतिक नेतृत्वदेखि विभागीय प्रमुखसम्मका उच्च पदस्थ पदाधिकारीलाई पट्याएरै काम लिन्छन् । काम प्राप्त भएपछि त्यसको लाभांश पनि बाँडेरे खान्छन् । ‘ए’ ग्रेडका बिचौलियाको आँखा र मुख नै ठूलो हुन्छ जसले ठुलै रकम मात्र देख्छन् र खान्छन् । यो वर्गका बिचौलियाको संख्या सीमित हुन्छ । कतिपय त राजनैतिक आस्थाकै व्यक्ति भएकोले आस्थावान् दल सत्तामा पुगे यिनीहरूको चुरीफुरी बढ्छ । ‘ए’ ग्रेडका बिचौलियाले प्रधानमन्त्री समेतलाई कठपुलतली बनाउँछन् । दिपक भट्टको प्रहरीको हतियार खरिद प्रकरण राज्यलाई नै कठपुलती बनाएको दृष्टान्त हो ।
छदम भेषमा रहने बिचौलिया राष्ट्रसेवक कर्मचारीदेखि सत्तासिन नेतासम्मकै स्थायी आम्दानी स्रोत हुन् । कुन दिन, कुन कार्यालयमा, कस्तो प्रकृतिको कार्य हुन्छ भन्ने कुरा नेतादेखि राष्ट्रसेवक कर्मचारीले नै बिचौलियालाई अग्रिम जानकारी दिन्छन् । ठूलो धनराशीको विकास निर्माणको कार्य, आयात निर्यात र खरिद बिक्री त ‘ए’ ग्रेडकै बिचौलियासँग कुरा मिलेपछि मात्र राज्य संयन्त्रले सार्वजनिक गर्दछ । निजी स्वार्थलाई कानुनभन्दा माथिको ठान्ने, पदीय मानमर्यादा र इमानदारिताभन्दा लाभ ठूलो देख्ने तथा लाभप्रति आशक्त बन्ने व्यक्तिको लागि आर्थिक लाभको स्रोत व्यक्ति बिचौलिया त, कार्यकारी प्रधानमन्त्रीभन्दा माथिको मानिन्छ ।






