विश्वका ७ दशमलव ९ अर्ब मानिस कोभिड संक्रमणको जोखिममा छन् । हालसम्म कुल जनसंख्याको ७३ प्रतिशतले पूर्ण र ७६ प्रतिशतले एक मात्रा खोप लिइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो चरणमा ५० जिल्लाका ५ देखि १२ वर्षमुनिका ३९ लाख बढी बालबालिकाका लागि यही भदौ ५ देखि ११ गतेसम्म कोभिडविरुद्धको फाइजर खोपको पहिलो मात्रा दिइँदै छ । यसअघि २७ जिल्लाका १९ लाख १९ हजार ४० बालबालिकालाई लक्षित गरी ९ देखि १५ असार दिइएको थियो ।
बालबालिकामा खोपको प्रभावकारिता ९१ प्रतिशत देखिएको छ । ७५ प्रतिशत बढी मृत्यु भएका खोप नलगाएका छन् । संक्रमित ५० प्रतिशतमा लक्षण देखिँदैन, खोप नलगाएकामा जटिलता र मृत्युको जोखिम १० गुणा हुन्छ । बुस्टर मात्राले ८५ प्रतिशत सुरक्षा प्रदान गर्छ । महामारीको समयमा पहिले आपूm जोगिने अनि अरूलाई सहारा दिने हो ।
बालबालिकालाई खोप लगाउँदा अरूलाई पनि जोखिम कम
बालबालिकालाई खोप लगाउँदा सम्भावित फाइदा भनेको अन्य व्यक्तिको जीवन बचाउन सक्छ । बेलायतमा २ देखि १२ वर्षसम्मका बालबालिकालाई नाकमार्फत एउटा स्प्रे दिइने गरेको छ, जसले कुनै पनि संक्रामक फ्लुबाट उनीहरूका अभिभावकलाई बचाउने गर्छ । यसै सिद्धान्तमा आधारित भएर हर्ड इम्युनिटी बन्नमा मद्दत पुग्ने आशा छ । कोभिडविरुद्धको खोपको पहिलो मात्राले मात्रै पनि संक्रमणको सम्भावना आधाले घटाएको र संक्रमण भइहाले पनि अर्काे व्यक्तिमा फैलाउने सम्भावना कमै भएको देखिएको छ । साना नभए पनि ठूला उमेरका बालबालिका संक्रमित हुने र संक्रमण फैलाउने सम्भावना केही बढी छ । माध्यमिक तहका बालबालिकामा संक्रमण हुने र फैलने सम्भावना बढी रहेका प्रमाणहरू छन् । त्यसैले बालबालिकालाई पनि खोप लगाइदिँदा संक्रमण फैलने सम्भावना कम हुने देखिन्छ ।
गर्भावस्थामा पनि खोप
पछिल्लो समय भएका अध्ययनमा कोभिडविरुद्धको खोपले स्तनपान, गर्भवती महिला र गर्भमा रहेको शिशुमा असर नगर्ने पुष्टि भएपछि अमेरिकी सीडीसीले आमा र शिशुलाई संक्रमणबाट जोगाउन खोप लगाउन गत अगस्टमा स्वीकृति दिएको छ । गर्भवतीमा संक्रमण तथा मृत्यु बढ्दै गएकाले, संवेदनशील, डेल्टा भेरियन्टको उच्च जोखिमले खोप अनिवार्य छ । प्रि–इक्लाम्प्सिया, बच्चा छिटो जन्मने, गर्भमै बच्चाको मृत्युको सम्भावना बढाएको छ । संक्रमण गम्भीर भएमा गर्भावस्थाको मधुमेह वा कम तौलको बच्चा जन्मिन सक्छ । दुर्लभ तर सत्य भाइरस भु्रणमा प्रसारित हुन सक्छ ।
गर्भपतनको जोखिम कम अर्थात् खोप लगाएका र नलगाएकामा १३ प्रतिशत बराबर छ । अमेरिकासहित १८ देशमा यसअघि नै गर्भवती महिलामा कोभिडविरुद्धको खोप प्रयोग भइरहेको छ । अमेरिकामा २३ प्रतिशत बढी गर्भवती र स्तनपान गराइरहेका महिलाले खोप लगाएका छन् । नेपालमा पनि गर्भवतीलाई खोप दिन त्यसमा छुट्टै स्थान, समय तालिका बनाई सुरु गर्न गत वर्षकै असारमा स्त्री समाजले अनुरोध गरेको हो । छुट्टै कार्यक्रम नभए पनि जोखिम समूह, उमेर वर्गअनुसार भने गर्भवतीले खोप लगाइरहेका छन् ।
६० प्रतिशतमा एन्टिबडी
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को स्वीकृतिमा सेन्टर फर डाइनामिक नेपाल, स्वास्थ्य मन्त्रालय र विश्वस्वास्थ्य संगठनले ७७ जिल्लाका १३ हजार ७ सय नागरिकमा गरेको संयुक्त नमुना परीक्षणमा आधाभन्दा बढीमा एन्टिबडी विकास भएको उजागर भएको छ । त्यसो त यसअघि २०७७ असोजमा मनाङ र मुस्ताङबाहेक ५ महिनामाथिका ७५ जिल्लाबाट ६ हजार ५ सय जनाको नमुना संकलनमा १३ प्रतिशतमा कोभिडविरुद्धको एन्टिबडी देखिएको थियो ।
घरमै पुगी खोप लगाउन सर्वाेच्चको आदेश
सर्वाेच्च अदालतले खोप लगाउन केन्द्रसम्म जान नसक्ने ज्येष्ठ नागरिक र अशक्तलाई घर घरमा पुगेर खोप दिन सरकारलाई अन्तरिम आदेश गत साउन २९ मा दिएको थियो । असमर्थ ज्येष्ठ नागरिक, बिस्तारामा रहेका हिडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घरोगी तथा फरक क्षमता भएका, दुवै आ“खा नदेख्नेको वडास्तरमा लगत संकलन गरी घर घरमा पुगी कोभिड खोप सेवा उपलब्ध गराउन भनेको थियो ।
अस्पताल भर्ना र मृत्युमा कमी
भारतस्थित एनआईभीको हालैको अध्ययनले खोप लगाएकामध्ये संक्रमित ९ दशमलव ८ प्रतिशतलाई मात्र अस्पतालमा भर्ना गर्न परेको र शून्य दशमलव ४ प्रतिशतको मृत्यु भएको देखाएको छ । सबैभन्दा तीव्र गतिमा फैलने डेल्टा भेरियन्टबाट हुने मृत्युबाट ९९ प्रतिशतसम्म बचाउँछ । कोरोनाको संक्रमण र जटिलताबाट बच्न खोप नै एक मात्र विकल्प रहेको देखाएको छ ।
यस्तै, खोप लगाएका ८० प्रतिशतले अन्य व्यक्तिका संक्रमण नसार्ने पनि टाइम्स अफ इजरायलमा प्रकाशित इजरायल सरकारको स्वास्थ्य मन्त्रालयको अर्काे अध्ययनमा छ । सार्वजनिक स्थलका अध्ययनमा खोप लिएका १० प्रतिशतले १ जनासम्म र ३ प्रतिशतले २ देखि ३ जनासम्ममा संक्रमण सार्न सक्छन् । तसर्थ, चौथो लहर आए पनि दोस्रोको जस्तो क्षति कम गर्न खोपकै आवश्यकता छ ।
भारतमा एक थिंक ट्यांक संस्था एनआईटीआईले गरेको खोजमा कोभिडको दुवै डोज खोप लगाउँदा कोभिडबाट हुने मृत्युमा ९८ प्रतिशत सुरक्षा हुने अध्ययनले देखाएको छ । एक मात्राले पनि कोरोना संक्रमणबाट हुने मृत्युबाट ९२ प्रतिशत जति सुरक्षा दिन्छ ।
नेपालमा २ मात्रा खोप लगाएकामा २ सातापछि संक्रमण नभएको र भए पनि अस्पताल भर्ना हुन परेको थिएन भने मृत्युको त कुरै आएन । पहिलो मात्रा मात्रैले पनि अस्पताल भर्ना र मृत्यु हुन नदिएको दोस्रो लहरमा ज्येष्ठ नागरिकमा देखियो । पूर्ण खोप, बुस्टर मात्रा समेत लगाएका तथा स्वस्थ जीवनशैली र औषधी लिइरहेका मधुमेह, उच्च रक्तचापका रोगीमा पनि संक्रमण भए पनि बढी जटिलता देखिएको छैन, आईसीयूमा राख्न परे पनि भेन्टिलेटरमा राख्नुपरेको छैन ।
महामारीबाट बच्न खोप
लापरबाहीले संक्रमण उकालो लाग्दै छ । संक्रमण, मृत्यु जति बढ्दै छ त्यति नै लापरवाही, बिना मास्क हिडडुल र जमघट गर्नेको संख्या दिनानुदिन सबै स्थान र क्षेत्रमा बढ्दै छ । वैशाख २१ पछि साढे २ महिनापछि फेरि मृत्यु हुन थालेको छ । खोप नलिएका र जटिल दीर्घरोग भएकामा कोभिड संक्रमण घातक र मृत्युको कारक देखिँदै छ । साउनयता मृत्यु भएकामा ८० प्रतिशत खोप नलगाएका छन् । खोपको पूर्ण डोजले संक्रमित हुनबाट नभई जटिलता र मृत्यु हुनबाट धेरै हदसम्म जोगाउने भएकाले संक्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना र संक्रमण भइहाले जालोमा कमी ल्याउन, जटिलता तथा मृत्युबाट जोगिन खोप लगाउने नै हो ।
पोस्ट कोभिड
पहिले कोभिड संक्रमण भइसकेकोमा थकाइ लाग्ने, श्वास फेर्न गाह्रो, सम्झन गाह्रो, निद्रामा समस्या, खोकी लागिरहने, छाती दुख्ने, बोल्न अप्ठ्यारो, मांशपेशी दुख्ने, स्वाद र गन्ध हराउने, डिप्रेसन र चिन्ता लागिरहने आदि भइरहेमा पोस्ट वा लङ कोभिडका लक्षण हुन सक्छन् । हाल पोस्ट कोभिडका लक्षणहरू लिएर आउने कम छन् तर आउनेहरू प्रायः डेल्टा संक्रमणकै छन् । विश्व स्वास्थ्य संगठनका अनुसार एकपटक संक्रमण पुष्टि भएपछि मान्छे निको भएका १० देखि २० प्रतिशतमा मध्यम तथा दीर्घ खालका असरहरू कोभिडले गराउन सक्छ । वीर अस्पतालको कोभिड भइसकेका ७ हजार बिरामीमा सन् २०२१ मा गरिएको तथा सन् २०२२ को सुरुमा प्रकासित पाइलट स्टडीमा ५८ दशमलव ८ प्रतिशतमा पोस्ट कोभिड समस्या थियो । खोप लगाएका र पटक पटक संक्रमण भएकामा भन्दा खोप नलगाएकामा पोस्ट कोभिड देखिने सम्भावना बढी छ ।






