काठमाडौं । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले संयुक्त रुपमा घोषणा गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा न्यून प्रभाव देखिएको छ।
बन्द घोषणा गरिएको भनिए पनि मंगलबार उपत्यकामा सामान्य रुपमा नै सवारीका साधनहरु निर्वाधरुपमा आवतजावत भइरहेका छन्। सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सवारीका साधनहरु अन्य दिनजस्तै सामान्य रुपमा निर्वाध चलिरहेको जानकारी दिएको छ।
उता, नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बन्द गराउँदै हिँड्न खोज्ने १७ जनालाई पक्राउ परेका छन ।।
दाङमा पत्रकार वलीसहित ४ बन्दकर्ता पक्राउ
दाङमा पत्रकारसहित चार जना बन्दकर्ता पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, तुलसीपुरका अनुसार पत्रकार हेमन्तप्रकाश ओलीसहित चारजनालाई पक्राउ गरिएको हो ।
यसरी पक्राउ पर्नेमा पक्राउ पर्नेमा जनपत्रकार सङ्गठन दाङका जिल्ला अध्यक्ष हेमन्त प्रकाश वलीसहित ४ जना रहेका छन ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक बखत शाहीका अनुसार तुलसीपुर बजारमा गाडीको चाबी खोस्दै हिँडेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहित ४ साना पार्टीले आज देशव्यापी बन्दको घोषणा गरेको छ।






