कपिलवस्तु । मानव बेचबिखन विरुद्धको १६औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा मानव बेचबिखनमा नयाँ शैली र मार्ग प्रयोग हुने गरेकाले सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
कपिलवस्तुको चन्द्रौटामा आयोजित चेतनामूलक ¥याली कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले मानव बेचबिखनमा नागरिकहरू सचेत भए पनि विभिन्न प्रलोभनले बेचबिखन तथा ओसारपसार भइरहेको बताए ।
बढदो सामाजिक संजालको प्रयोग, कमजोर आर्थिक स्थिति र शिक्षाको कमीले मानव बेचबिखनमा कमि आउन नसकेको केसीले बताए । ‘विभिन्न सङ्घ संस्थाले न्यूनीकरणको लागि प्रयास गरिरहेका छन्,खुल्ला सीमा लगायतको कारणले पनि बेचबिखन बढ्दो छ,’ केसीले भने, ‘शिक्षित र रोजगारी सिर्जना भएमा बेचबिखन धेरै कम हुनेछ ।’
मानव बेचबिखन तथा ओसारपसार गर्नेका विरुद्धमा निकै बलियो कानुन भएपनि त्यसको कार्यान्वयन पक्ष फितलो हुँदा समस्या भएको केसीले बताए । मानव बेचबिखनको स्वरूप र बाटोहरू परिवर्तन भएकोले त्यसै अनुसार नियन्त्रणका लागि कदम चलाउनुपर्नेमा उनले जोड दिए । बेचबिखनमा बढी महिला पीडित हुने गरेको भन्दै यसको न्यूनीकरणमा महिला नै जागरूक हुनुपर्ने उनको भनाई थियो ।
शिवराज नगरपालिकाका प्रमुख अजय थापाले नेपालमा मानव बेचबिखनको घटनाहरू धेरै रहेकोले यसबाट सबै सचेत हुनुपर्ने बताए । मानव बेचबिखनका दलाल तथा अन्य संलग्न व्यक्तिहरूले पीडित सम्पर्क माध्यमका रूपमा आधुनिक प्रविधि, सामाजिक सञ्जालको गर्ने हुदा त्यसको सहि प्रयोग गर्न नजान्दा यस्ता घटना बढेको बताए ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख कपिलजंग साहीले मानव बेचबिखन तथा ओसारपसार अपराधको रूपमा रहेको भन्दा कानुनी कारबाहीको ’boutमा सचेत गराए । मानव बेचबिखन विरुद्ध काम गर्दै आएको शान्ति पुनर्स्थापन गृहलगायत संस्थाको आयोजनामा भएको चेतनामूलक -याली चन्द्रौटा प्रहरी चोकदेखि खसी बजार हुँदै पुनः दुर्गा मन्दिर परिसरमा गई कोणसभामा परिणत भएको थियो ।






