रोम। कोरोना भाइरसको नयाँ केन्द्र बनेको युरोपेली राष्ट्र इटलीमा मृत्युदर उच्च देखिएको छ । पछिल्ला केही दिनदेखि इटलीमा मृत्यु हुने कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । इटलीमा बुधबारमात्रै ४ सय ७५ जनाको मृत्यु भएको छ । यो संख्या चीनमा गत डिसेम्बरमा कोरोना भाइरसको महामारी सुरु भएपछि देशव्यापी हिसाबले एकै दिनमा मृत्यु हुने बिरामीको उच्चतम संख्या बराबर हो ।
कोरोना भाइरसको त्रासबीच युरोप र अन्यत्र पनि उच्च सतर्कता अपनाइएको छ । विभिन्न देशमा स्वास्थ्य संकटकाल घोषणा गरिएको छ । बिहीबार साँझसम्म इटलीमा थप ४ सय ७५ जनाको मृत्यु भएपछि कोभिड–१९ रोगका कारण मृत्यु हुनेको संख्या करिब ३ हजार पुगेको छ ।
केही इटालेलीहरूले केही साताअघि लगाइएका आवतजावत प्रतिबन्धहरूको बेवास्ता गरिरहेका कारण पनि इटलीमा कोरोना भाइरसको संक्रमण अझै उच्च दरमा बढिरहेको बताइएको छ । आन्तरिक मन्त्रालयका अनुसार मंगलवार जरुरी कामबिना बाहिर रहेका ८ हजार मानिसलाई प्रहरीले पक्राउ गरेको छ । पहिलो दिनको तुलनामा त्यो संख्या चार गुणाले बढी हो । इटालीमा निषेधाज्ञा अटेर गर्नेलाई जरिमाना वा तीन महिनाको कैद सजाय हुने व्यवस्था छ ।
- युरोपेली राष्ट्रमा प्रतिबन्ध कडा पारियो
- चिलीमा ९० दिनका लागि संकटकाल घोषण
- एसियामा चीनपछि इरानमा सबैभन्दा बढी प्रभावित
- अमेरिका र क्यानडाद्वारा सीमा बन्द,
- यूएईद्वारा भिसा रद्द,
पछिल्लो २४ घन्टामा मात्रै इटलीमा ४ हजार २ सयभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । इटालीको लोम्बार्डी क्षेत्र कोरोना भाइरुसका कारण सबैभन्दा बढी प्रभावित भएको छ । सो क्षेत्रमा एकै दिन ३ सय १९ जनाको मृत्यु भएको छ ।
गत डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना भाइरसका कारण चीनपछि सबैभन्दा बढी इटली प्रभावित बनेको छ । कोरोना भाइरसका कारण अहिलेसम्म ८ हजार ९ सय ५३ जनाको मृत्यु भएको छ । जसमध्ये चीनमा ३ हजार २ सय ४५ जना रहेका छन् ।
संक्रमितमा चीनसहित एसिया र युरोपमा मात्र ८० प्रतिशत छन् । कोरोना भाइरसको संक्रमण विस्तार हुन नदिन विश्वभरी नै कडा कदम चालिएपनि दिन प्रतिदिन संक्रमितको संख्यामा वृद्धि भइरहेको छ । सामाजिक दूरी कायम गर्ने, सार्वजनिक कार्यक्रमहरु रद्द गर्ने तथा हिँडडुलमा प्रतिबन्ध लगाइएको छ । इटाली पछिल्ला दुई सातादेखि पूर्ण रुपमा ठप्प छ ।
विश्व स्वास्थ्य संगठनका प्रमुखले कोरोनाको संक्रमण रोक्नका लागि देशहरु आइसोलेसनमा जानु पर्ने, परीक्षण र उपचारको व्यवस्था हुनु पर्ने बताएका छन् ।
बुधबारराति देखि बिहीबार बिहानसम्ममा विश्वभर ९ सय ७५ जनाको कोरोना भाइरसका कारण कारण मृत्यु भएको छ । इरानमा १ सय ४७, स्पेनमा १ सय ५, फ्रान्समा ८९, अमेरिकामा ४४, बेलायतमा ३३, नेदरल्यान्डस्मा १५, दक्षिण कोरियामा १०, इन्डोनेसियामा १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
बिहीबारसाँझसम्म चीनमा ८, इरानमा १४९, स्पेनमा १२९, जर्मनीमा ३, अमेरिकामा ५, दक्षिण कोरियामा ७, स्वीट्जरल्यान्डसमा ३, बेल्जियममा ७, जापानमा ३, डेनमार्कमा २, इन्डोनेसियामा ६, लक्जमबर्गमा २ सहित ३ सय ३३ जना थप विरामीको मृत्यु भएको छ ।
जर्मन चान्सलर एन्जेला मर्केलले आफ्नो देशले अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा ठूलो चुनौतीको सामना गरिरहेको बताउँदै मानिसहरूलाई भाइरस रोकथामका लागि लगाइएका प्रतिबन्धहरूको पालना गर्न आग्रह गरेकी छन् । फ्रान्समा मंगलबरदेखि सबै मानिसलाई अत्यन्त जरुरी काम नभएसम्म आफ्नो घरमै बस्न आदेश दिइसकिएको छ ।
पोर्चुगलले पनि आतपकाल घोषणा गर्दै भाइरस फैलिने क्रम रोक्न कडा कदमहरू चाल्न लागेको छ । बेलायतचमा आगामी सप्ताहअन्तदेखि स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका कर्मचारीका छोराछोरी पढ्ने बाहेकका सबै विद्यालयहरू बन्द गर्न लागिएको छ । युरोपमा ईयू सदस्य राष्ट्रहरूबीचको खुला आवतजावतमा समेत रोक लगाइएको छ । सर्बियाले रात्रिकालीन कफ्र्यू लगाउने तयारी गरिरहेको जनाएको छ ।
दक्षिण अमेरिकी देश चिलीमा पनि नब्बे दिनका लागि संकटकाल घोषणा गरिएको छ । अमेरिका र क्यानडाले अत्यावश्यक आपूर्तिबाहेक सबै सवारी साधनका लागि सिमाना बन्द गर्ने निर्णय गरेका छन् ।
यूएईद्वारा भिसा रद्द
संयुक्त अरब इमिरेट्स (यूएई) ले भिसा वा प्रवेशाज्ञा पाएका सबै विदेशी अब दुई सातासम्म यूएई प्रवेश गर्न नपाउँने घोषणा गरेको छ । ८० लाख भन्दा बढी एशियाली तथा उत्तर अफ्रिकी आप्रवासी कामदार यूएईमा बसोबास गर्छन् । नयाँ नियमबाट कति जना प्रभावित हुन्छन् त्यो प्रस्ट छैन ।
निकारागुआमा पहिलो संक्रमण
मध्यअमेरिकी अमेरिकी मुलुक निकारागुआले कोभिड–१९ को संक्रमणको पहिलो घटना पुष्टि भएको उपराष्ट्रपति रोजारियो मुरिलोले जानकारी दिएका छन् । निकारागुआमा संक्रमित भएका नागरिक भर्खर मात्र छिमेकी मुलुक पनामाको यात्राबाट फर्किएका मुरिलोले राष्ट्रिय टेलिभिजनमा बताएका छन् ।
कोरोना भाइरसबाट संक्रमित ती व्यक्तिलाई ज्वरो र सुख्खा खोकी जस्ता लक्षणहरु देखा परेपछि उनी अस्पताल गएका थिए । अस्पतालमा परीक्षण गर्दा उनमा कोरोना भाइरस पोजेटिभ देखिएको मुरिलोले बताए । हाल बिरामीको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।
एल साल्भाडोरमा पनि संक्रमण भेटियो
एल साल्भाडोरमा कोरोना भाइरस संक्रमण भएको पहिलो व्यक्ति भेटिएको राष्ट्रपति नायब बुकेलेले बताएका छन् । कोरोना भाइरसको संक्रमण देखिएका ती व्यक्ति इटालीको यात्राबाट हालै फर्किएको समाचारमा जनाइएको छ । हाल यी व्यक्ति मतापानको साल्भाडोरन नगरपालिकामा अलग्ग राखिएको (आइसोलेसन) बुकेलेले टेलिभिजनमार्फत बताएका छन् ।
संक्रमणसँग जुध्न एक विशेष अस्पतालको पनि घोषणा गरिएको र नागरिकले घरमै बस्नेलगायत स्वास्थ्य अधिकारीले जारी गरेको सरसफाइको नियम पनि अनुसरण गर्न सुझाव दिइएको राष्ट्रपति बुकेलेले बताएका छन् ।
संदिग्ध संक्रमितद्वारा अस्पतालमै आत्महत्या
दिल्लीको सफदरजंग अस्पतालमा बुधबारराति कोरोना भाइरसका एक संदिग्ध विरामीले अस्पतालबाट हामफालेर आत्महत्या गरेका छन् । कोरोना भाइरस संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएका बिरामीले सातौँ तलाबाट हामफालेर आत्महत्या गरेका हुन् । हालै अस्ट्रेलियाको सिड्नीबाट फर्किएका ३५ वर्षीय व्यक्ति हालै अस्ट्रेलियाको सिड्नीबाट फर्किएका थिए । उनलाई अस्पतालको क्वारेन्टाइनमा राखिएको थियो ।
ती व्यक्तिको नामुना कोरोना भाइरस परीक्षणका लागि पठाइए पनि अझै रिपार्ट नआएको अस्पतालका अधिकारीलाई उद्धृत गर्दै हिन्दूस्तान टाइम्सले जनाएको छ । ती युवा पञ्जावको शहीद भगत सिंह नगर जिल्लाका भएको जनाइएको छ । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आएपछि उनले टाउको दुखेको बताएका थिए । त्यसपछि बुधबारराति ९ बजे उनलाई सफदरजंग अस्पताल भर्ना गरिएको थियो ।
उनका परिवारका सदस्य पनि विमानस्थलमा गएर कुराकानी गरेको र अस्पतालसँग पनि सँगै गएको प्रहरीले जनाएको छ । प्रहरीले मृतकका परिवारलाई उनले आत्महत्या गरेको’bout जानकारी गराइसकिएको जनाएको छ ।
श्रीलंकाद्वारा निर्वाचन नै स्थगित
कोरोना भाइरसको संक्रमण विश्वव्यापी बन्दै गर्दा श्रीलंकाले आगामी महिनाका लागि तय गरेको संसदीय निर्वाचनलाई अनिश्चितकालका लागि स्थगित गरेको छ । सरकारले कोरोनाभाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि तत्कालका लागि निर्वाचनलाई स्थगित गर्ने निर्णय लिएको अधिकारीले बताएका छन् ।
‘विश्व स्वास्थ्य संगठनले श्रीलंकालाई भोलि कोरोनाभाइरसको संक्रमणको खतरा नरहेको बताएपनि हामीले निर्वाचनलाई तोकिएको समय (अप्रिल २५) मा सम्पन्न गर्न सक्दैनौँ,’ निर्वाचन आयोगका प्रमुख महिन्दा देशाप्रियाले बिहीबार बताए । उनले भने, ‘निर्वाचन मे, जुन वा जुलाईमा कहिले गर्ने भन्ने बिषय कोरोनाभाइरस संक्रमण फैलिने क्रम कहिलेसम्म जारी रहन्छ भन्ने बिषयमा निर्भर रहन्छ ।’
श्रीलंकाका राष्ट्रपति गोतावाय राजापाक्षले आगामी निर्वाचनमा आफ्नो दलले दुई तिहाई बहुमतका साथ संसदमा आउने विश्वाससहित यसबाट आफूलाई थप शक्तिशाली बनाउन सविधान संशोधनको अपेक्षा गरिरहेका अनुमानहरू स्थानीय राजनीतिक विश्लेषकहरूले बताएका छन् ।
कोरोना भाइरसका कारण विश्वव्यापी सन्त्रास फैलिएपनि श्रीलंकामा भने यसको संक्रमण पुष्टि भएका ५३ व्यक्ति मात्र रहेका छन् । सरकारले यो हप्तादेखि अन्तर्राष्ट्रिय विमानस्थललाई बन्द (लकडाउन) गरेको छ भने संवेदनशील मानिएका करिब आठ लाख ५० हजार नागरिकलाई अतिआवश्यक काममा बाहेक आफ्नो घरबाट बाहिर नजान निर्देशन गरेको छ ।






