मुड्खु–तीनपिप्ले बाटो बनाउने जिम्मा कमलजित–ड्रागनको

काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रयोग हुने बालाजु–रानीपौवा सडकअन्तर्गत मुड्खु–तीनपिप्ले सडकखण्ड ठेक्का कमलजित–ड्रागन जेभीले पाएको छ ।

यसअघि, शैलुङ कन्स्ट्रक्सनले समयमै काम नगरेपछि सरकार ठेक्का तोडेर नयाँ प्रक्रियामार्फत अघि बढेको हो । नयाँ प्रक्रियाअन्तर्गत कमलजित–ड्रागन जेभीले सबैभन्दा कम आर्थिक प्रस्ताव पेस गरेकाले सो कम्पनीसँग ठेक्का सम्झौता हुन लागेको छ ।

सडक विभागले सो सडकखण्ड निर्माणका लागि कम्पनी छनोट गरिसके पनि सम्झौता हुन बाँकी छ । निर्माण कम्पनीले चार महिनाभित्र काम सक्नुपर्ने सडक विभागले जनाएको छ । कम्पनीले मल्य अभिवृद्धि करबाहेक १२ करोड १८ लाख ५२ हजारमा निर्माण कार्य गर्नेछ ।

स्थानीयले सो सडकखण्ड पिच नगरेको भन्दै पटकपटक सडक अवरोध गर्दै आएका छन् । तोकिएको समय सडक निर्माण नसकिए ठेक्का म्याद नथपिने सडक विभागले जनाएको छ ।

यसअघिको ठेकदार कम्पनीले समयमै काम नगरेपछि बालाजु–रानीपौवा सडक टुक्रएर ५.५ किलोमिटर दूरीबीचको खण्ड ‘फास्ट ट्रयाक’मा स्तरोन्नति गर्न ठेक्का गरिएको हो ।

बालाजु–रानीपौवाको १७.१० किमि सडक स्तरोन्नतिका लागि आठ वर्षअघि भारतीय निर्माण कम्पनी एआईपीएलसँग शैलुङ कन्स्ट्रक्सनले संयुक्त ठेक्का लिए पनि काम हुन सकेको थिएन ।

सातपटक म्याद थप्दा पनि आयोजनामा प्रगति नभएपछि सडक सुधार तथा विकास आयोजना निर्देशनालयले गत ५ असारमा ठेक्का तोडेको थियो । ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वर्षका लागि कालोसूचीमा राखिसकेको छ ।

सरकारले ठेक्का तोडेपछि शैलुङ सरकारविरुद्ध अदालत पुगेको थियो । जिल्ला अदालत ललितपुरले यसअघि भएको अन्तरिम आदेश खारेज गर्दै कम्पनीसँगको सडक विभागले गरेको ठेक्का रद्द गर्ने निर्णय सदर गरेको थियो ।

अदालतले सरकारको ठेक्का तोड्ने निर्णर्य सदर गरेपछि सरकारले नयाँ ठेक्का प्रक्रिया अघि बढाएको हो । गत ६ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले बालाजु त्रिशुली सडकखण्को (मुड्खु–तीनपिप्ले) ५.५ किलोमिटर सडक निर्माण कार्य तत्काल अघि बढाउन विशेष परिस्थितिमा बोलपत्र आह्वान गरी खरिद प्रक्रियामा लैजाने सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।

सहरी विकास मन्त्रालयले तीन महिनामा बाटो निर्माणलगायत विषयमा स्थानीयसँग सहमति गरेकाले पनि सो बाटो चाँडो निर्माण गर्नुपर्ने सरकारलाई दबाब छ । हाल पनि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन विषयमा सिसडोल तथा बन्चरेडाँडा सडकखण्ड नबनेका कारण समस्या हुने गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 429 times, 1 visits today)

epaper

ताजा समाचार

सरकारले आज ३ ठाउँको सुकुम्बासी हटाउँदै