एक युगको अन्त्य !

काठमाडौं । वाङ्मय शताब्दी पुरुष एवं दिग्गज संस्कृतिविद् सत्यमोहन जोशी अब हामीमाझ रहेनन् । उनको उपचारकै क्रममा शुक्रबार बिहान ७ बजेर ९ मिनेट जाँदा ललितपुरको किस्ट मेडिकल कलेजमा १ सय ३ वर्षको उमेरमा निधन भयो ।

ज्वरोको कारण उनलाई सो अस्पतालमा ७ असोजमा भर्ना गरिएको थियो । उनमा डेंगु संक्रमण देखिएपछि निरन्तर त्यहीँ उपचार गरिएको थियो । चिकित्सकका अनुसार डेंगु ठीक भए पनि कमजोरीका कारण उनलाई अन्य समस्याले च्याप्दै लग्यो र शुक्रबार निधन भयो ।

शताब्दी पुरुष जोशीको महाप्रस्थान

हुन त उनी पछिल्लो समय मुटु र प्रोस्टेटको समस्याबाट पनि ग्रस्त थिए । तथापि, बिरामी भएर अस्पताल भर्ना हुनुभन्दा केही समयअघि पनि उनी हिँडेरै पाटनबाट काठमाडौंसम्म आउने गर्थे ।

दिवगंत संस्कृतिविद् जोशीको पार्थिव शरीरलाई आइतबार दिउँसो ललितपुर महानगरपालिकाको कार्यालय प्रांगणमा राखिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, निवर्तमान सभामुख अग्नि सापकोटा, नेता वामदेव गौतमलगायतले जोशीको पार्थिव शरीरमा पुष्पगुच्छा चढाउँदै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सो क्रममा संक्षिप्त बोल्दै प्रधानमन्त्री देउवाले शताब्दी वाङ्मय पुरुष जोशीको निधनले नेपाली संस्कृति तथा कला साहित्य क्षेत्रमा ठूलो क्षति भएको बताए । साहित्यकार, कलाकार, संस्कृतिविद्, विभिन्न पेसाका व्यक्ति तथा आफन्त र शुभचिन्तकले पनि त्यहाँ पुगेर जोशीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

जोशी परिवारका अनुसार सत्यमोहन जोशीको पार्थिव शरीरलाई नजलाइने भएको छ । उनले केही वर्षअघि आफ्नो मृत शरीर ललितपुरको किस्ट मेडिकल कलेजलाई दान गर्ने सम्झौता गरेकाले उनको शरीर अब सो कलेजमा राखिने भएको छ । कलेजले उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर अध्ययनका लागि किस्ट मेडिकल कलेजमै राख्ने जनाएको छ ।

संस्कृतिविद् जोशीले तीनपटक मदन पुरस्कार जितेका छन् । ‘हाम्रो लोक संस्कृति’ पुस्तकबाट उनले २०१३ सालमा पहिलो मदन पुरस्कार, ‘नेपाली राष्ट्रिय मुद्रा’बाट २०१७ सालमा र ‘कर्णाली लोक संस्कृति’ले २०२८ सालमा (संयुक्त रूपमा) उनले मदन पुरस्कार प्राप्त गरेका थिए । उनी २०७० सालमा उनी पद्मश्री साधनाबाट सम्मानित थिए । नेपाल सरकारबाट २०७९ को संविधान दिवसको अवसरमा उनलाई ‘राष्ट्र गौरव’ मानपदवी प्रदान गर्ने निर्णयसमेत गरिएको थियो ।

स्रष्टा सत्यमोहन जोशी निबन्धकार, नियात्राकार, समालोचक, कोशकार, काव्यकार, नाटककार, कथाकार, अनुवादक र सम्पादकका रूपमा क्रियाशील थिए । उनले चार दर्जन बढी पुस्तक लेखेका छन् । उनका कयौं पुस्तक विभिन्न भाषामा समेत अनुवाद भएर प्रकाशित छन् ।

बाबु शंकरराज (दास) जोशी र आमा नुगलक्ष्मी जोशीको कोखबाट ३० वैशाख १९७७ मा ललितपुरको बखुम्बहालमा उनको जन्म भएको थियो । सत्यमोहन जोशीको सुरुको नाम सत्यमोहनराज जोशी थियो । नाम लामो भयो भनेर उनले एसएसलसी दिने समयमा राज हटाएका थिए ।

बाल्यकालमा बोली नफुटेपछि भक्तपुरको कमल विनायक मन्दिरमा लगेर उनलाई बाबुआमाले छाडेका थिए । त्यसपछि उनको बोली प्रस्टसँग फुटेको थियो ।

दरबार हाईस्कुलबाट एसएलसी गरेर उनले आईए त्रिचन्द्र कलेजमा पढेका थिए । सोही कलेजबाट उनले साहित्य लेखन सुरु गरेका थिए । पुष्कर शमशेर, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम आदिको संगतका कारण त्रिचन्द्र कलेजमा अध्ययनकै क्रममा उनमा नेपाली, अंग्रेजी र संस्कृति साहित्यप्रति प्रभाव परेको थियो ।

आफू १९ वर्षको हुँदा उनले १४ वर्षकी राधादेवी जोशीसँग मागी विवाह गरेका थिए । श्रीमतीसहित उनका तीन छोरा र तीन छोरी छन् । विवाहपछि पनि उनले अध्ययनलाई निरन्तर अघि बढाएका थिए ।

२००० सालमा औद्योगिक व्यापारिक समाचार संग्रह स्थापना भएको थियो । साथी नरकान्त अधिकारीको सुझावमा उनले त्यहाँ दरखास्त दिएका थिए । २५ वटा दरखास्तमा उनीसहित चार जना चयन भएका थिए । २००१ सालमा उनले खरिदारको पहिलो जागिर सोही अड्डाबाट सुरु गरेका थिए । उनी औद्योगिक सुपरीवेक्षक भएर जागिरका लागि तनहुँ र लम्जुङ जिल्लामा खटिएका थिए । त्यहाँ त्यतिबेला उद्योग थिएन । त्यसैले उनी जागिर भए पनि फुर्सदिलाजस्तै थिए ।

पहिलो पुस्तकबाट पहिलो मदन पुरस्कार
त्यहाँ पँधेरीहरूले गाएको, जंगल मेलापातमा गएकाहरूले गाएका गीत उनले संकलन गरे । उनले ती गीत लेखे । सुरुमा उनले संकलन गरेका ती गीत शारदा साहित्यिक मासिकमा छापियो । गाउँघरका गीत शीर्षकमा छापिएको त्यो गीतले निकै चर्चा पायो । उनी सरकारी काममा त्यहाँ गएका थिए । त्यसपछि उनले ती गीत कुन अवस्थामा कसरी गाउने, त्यसको भाका के हो भन्ने चर्चासहित २०१४ सालमा ‘हाम्रो लोक संस्कृति’ पुस्तक प्रकाशन गरेका थिए । सोही वर्ष यो पुस्तकबाट जोशीले पहिलो मदन पुरस्कार पनि प्राप्त गरेका थिए ।

यसपछि उनी सरकारी जागिरे भए पनि पुस्कारले उनलाई साहित्यमा लाग्न प्रेरणा मिल्यो । उनले साहित्य लेखनलाई पनि निरन्तता दिए ।

उनी त्यसपछि नेपालबाट सरकारी कामको सिलसिलामा न्युजिल्यान्ड गए । केही समय न्युजिल्यान्ड पनि बसे । त्यसपछि नेपाल आएर न्युजिल्यान्ड यात्रा’bout पुस्तक नै लेखे । न्युजिल्यान्ड जाने उनी पहिलो नेपाली थिए ।

पुरातत्व विभागको पहिलो निर्देशक
२०१५ सालको चुनावबाट कांग्रेसले सरकार बनाएपछि पुरातत्व र संस्कृति विभाग (हालको पुरातत्व विभाग) खडा ग¥यो । सो विभागमा पहिलो निर्देशकका रूपमा सरकारले सत्यमोहन जोशीलाई नियुक्ति दियो । उनी खरदारबाट एकाएक विभागको निर्देशकमा नियुक्त भए । त्यतिबेला उनलाई पुरातत्वसम्बन्धी जानकारी थिएन । सो विभागको निर्देशक भएपछि उनले पुरातत्वका क्षेत्रमा काम सुरु गरे । काठमाडौंका विभिन्न मन्दिर, धार्मिक स्थल, दरबार’bout उनले खोजी गरे । यस्ता कुराको अभिलेख राख्न थाले । उनले सोही क्रममा लिच्छवीकालदेखि पछिल्लो समयसम्मको ताम्रापत्र, शिलालेख, ताडपत्र, मुद्राहरूको खोजीसँगै अभिलेख तयार गरे । उनले लिच्छवी कालमा मानांकदेखि अहिलेसम्मको मुद्रा’bout छुट्याएर मुद्रा’bout ‘नेपाली राष्ट्रिय मुद्रा’ पुस्तक लेखे । यो पुस्तकबाट पनि उनले दोस्रो मदन पुरस्कार प्राप्त गरेका थिए । उनले लेखेको यो पुस्तकमा लिच्छिवीकालीन राजा मानदेवदेखि राजा महेन्द्रको पालासम्मका मुद्रा’bout खुलाइएको छ । त्यतिबेला खोजेका मुद्रालाई उनले मुद्रा संग्रहालय स्थापना गरी संग्रहालयमा राखे । उनले त्यतिबेला वीर पुस्तकालयको व्यवस्थापन पनि गरेका थिए ।

त्यसपछि पेकिङ रेडियोका लागि कार्यक्रम चलाउन नेपाली भाषा सिकाउन उनी चीन गए । सोही क्रममा उनले त्यहाँ नेपाली भाषाका लागि टिम तयार गरेर रेडियोमा कार्यक्रम सञ्चालन गराए । चीन बसाइमा भृकुटी’bout अध्ययन गरेर उनले पुस्तक नै लेखे । केही वर्ष चीनको बसाइपछि नेपाल फर्केका उनी तत्कालीन शाही नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ परिषद् सदस्यमा चयन भए । उनले सो क्रममा विभिन्न नाटक लेखे । नाटकको व्यावसायिक मञ्चन गराए । प्रज्ञा भवनमा गाईजात्रा महोत्सव गर्ने क्रमको थालनी गरेका थिए । प्रज्ञा प्रतिष्ठानमै रहँदा उनी बिहारी कृष्ण श्रेष्ठ, चुडामणि बन्धु, थिर जंगबहादुर सिंह र प्रदीप रिमालसँग जुम्लाको सिँजा पुगे । त्यहाँ उनले केही समय त्यहाँ बसेर नेपाली भाषाको उत्पत्ति र विकास’bout अनुसन्धान गरे । कर्णालीको लोक संस्कृतिको पनि अध्ययन अनुसन्धान गरे । सो क्रममा उनले कर्णालीको लोक संस्कृति पुस्तक लेखे ।

उनकै पालामा लुम्बिनीको उत्खनन र लुम्बिनीमा मायादेवीको मन्दिर स्थापनासहित मूर्ति व्यवस्थापन गरिएको थियो । यस्तै, जमलको काठ गोदामलाई नाचघर बनाउने काम पनि सत्यमोहन जोशीले २०१७ सालमा नै गरेका थिए । त्यसको केही समयमै नाचघर आगलागी भयो । त्यसको एक वर्षपछि फेरि नाचघर निर्माण गरिएको थियो । आर्ट काउन्सिल बबरमहलका संस्थापक उनको नेपाली ललितकलाको क्षेत्रको विकासमा पनि त्यत्तिकै योगदान रहेको छ ।

१०० वर्ष पुगेपछि वाङ्मय शताब्दी पुरुष
काठमाडौं विश्व विद्यालयबाट महाविधावारिधि अरन प्राप्त संस्कृतिविद् सत्यमोहन जोशीलाई १०० वर्ष पुगेको अवसरमा ‘वाङ्मय शताब्दी पुरुष’का रूपमा विभूषित गरेको थियो । त्यसअघि उनलाई सो उपाधि नई प्रकाशनले २०७१ सालमा प्रदान गरेको थियो । त्यसपछि उनलाई वाङमय शताब्दी पुरुषका रूपमा सम्बोधन गर्न थालिएको हो ।

उनको जन्म शताब्दीको अवसरमा नेपाल सरकारले १ हजार रुपैयाँको चाँदीको सिक्का र १० रुपैयाँको हुलाक टिकटसमेत प्रकाशित गरेको थियो । उनको निधनप्रति एक दिन राष्ट्रिय बिदा घोषणा गरिने संस्कृतिमन्त्री जीवनराम श्रेष्ठले आइतबार श्रद्धाञ्जली दिने क्रममा बताएका छन् । तर, सो’bout सरकारले निर्णय गरेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 330 times, 1 visits today)

epaper

ताजा समाचार

तीन बुद्धिचाल खेलाडी संयुक्त शीर्ष स्थानमा