राजनीतिक प्रतिद्वन्द्वीको सार विचार र राजनीति हुने भए पनि पछिल्लो समयमा नेपालमा यो प्रतिद्वन्द्वीले राजनीतिक चरित्र क्रमशः परित्याग गर्दै जान थालेको देखिएको छ । यसको स्थान स्वतन्त्रता र गैरराजनीतिक चरित्रले ग्रहण गर्न थालेको छ । स्थानीय निर्वाचनका बखत सांकेतिक रूपमा देखिएको यो प्रवृत्ति प्रादेशिक तथा संघीय निर्वाचनका बेलासम्म आइपुग्दा झनै झांगिएर जान थालेको छ । परिणामतः प्रादेशिक तथा संघीय आवधिक निर्वाचनमा स्वतन्त्र उम्मेदवार नै दलका शीर्ष नेताको प्रतिद्वन्द्वीका रूपमा देखापर्न थालेका छन् । चुनावी सरगर्मी बढेसँगै प्रमुख राजनीतिक दलका शीर्ष नेतासहित स्वतन्त्र उम्मेदवार पनि चुनावी कार्यक्रममा निकै व्यस्त रहन थालेका छन् । जनताबीच स्वतन्त्र उम्मेदवारले के भन्दा रहेछन् भनेर जिज्ञासा पैदा भएको अनुभूत गराउने गरी चासो राखेको देखिन थालेको छ । सभामा जनमानसको उपस्थिति, चोक, चिया पसल र भेटघाटको गफगाफमा स्वतन्त्र उम्मेदवार’bout टिकाटिप्पणी हुने गरेको छ । तर, यसको तुलनामा राजनीतिक दल र तिनका नेताको एकोहोरो नकारात्मक टिप्पणी मात्र हुने गरेको पाइन्छ । त्यसमा पनि सत्ता गठबन्धन’bout त आमजनताबीच निकै तीतो अभिव्यक्ति पाइने गरेको छ ।
यता चुनावी क्रियाशीलताका हिसाबले मत परिणाम आफ्नो पक्षमा पार्न स्वतन्त्र उम्मेदवार राजनीतिक दलका शीर्ष नेता झैं सक्रियताका साथ लागिपरिरहेका छन् । उनीहरू चुनावी मैदानमा उत्तिकै खटिरहेका छन् । चुनावी कार्यक्रमसहित सर्वसाधारणको घरदैलोमा पुगिरहेका छन् । जनसभा, बैठक, भेटघाटलगायत कार्यक्रम पनि गरिरहेका छन् । स्वतन्त्रको यो क्रियाशीलता गठबन्धनका उम्मेदवारलाई निकै भारी परिरहेको छ । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा ल्याउनका लागि यो जम्मा दोस्रो आवधिक निर्वाचन हो । समयका हिसाबले मात्र ५÷६ वर्ष ! तर, यो ५÷६ वर्षको समयमा राजनीतिक दल र तिनका शीर्ष नेतादेखि यसरी अघाए कि मानौं जनताको दृष्टि र रोजाइ स्वतन्त्र उम्मेदवारतिर आकृष्ट हुन गयो । यो बहुदलीय राजनीतिक व्यवस्थाको स्थायित्वका लागि विडम्बनाको कुरा हो । तर, राजनीतिक दल र यसका शीर्ष नेतामा यसको गाम्भीर्यताको बोध भएको देखिँदैन । सबै दल जे जसरी हुन्छ, आ–आफ्नो पक्षमा मत पार्न लागि एकोहोरो लागिपरिरहेका देखिन्छन् । राजनीतिक दल र तिनका नेताका लागि यी कुरा ‘रोटी हराएको थाह छैन, गहुँका गेडा गन्ने’ भनेसरह हुन गएको छ ।
यसैले पनि राजनीतिक दल तथा तिनका शीर्ष नेताले स्वतन्त्र उम्मेदवारको निरन्तर चुनौतीको सामना गर्नु परिरहेको छ । हालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि यसको भूमरीमा बेरिँदै गएका देखिन्छन् । देशभरका प्रायः धेरै स्थानमा स्वतन्त्र उम्मेदवारले ठूलो संख्यामा उम्मेदवारी दिएका छन् । यसले गर्दा निर्वाचन परिणाममा ठूलो असर पर्ने देखिन्छ । मत खस्दाका दिनसम्म समर्थन गर्ने भन्ने कुराले त निर्वाचन परिणामलाई निर्णायक नै बनाउनेछ । निकै आक्रामक र विद्वेषपूर्ण बन्दै गएको निर्वाचन माहोल अन्त्यसम्म नसोचेको घात÷प्रतिघातसम्म पनि पुग्न सक्छ । पार्टीबीच त अस्वस्थ र अपाच्य प्रतिस्पर्धा छँदै छ, त्यसमा पनि पार्टीभित्रै के हुने हो, त्यो भने हेर्न बाँकी छ । तर, अप्ठ्यारो नै हुँदै गएको सबैलाई अहिलेदेखि अनुभूत भइरहेको छ । गठबन्धन र साँठगाँठको प्रक्रिया अहिले पनि जारी छ । त्यसमाथि स्वतन्त्रको उम्मेदवारको उपस्थिति निर्णायक हुने देखिन्छ ।






