काठमाडौं । सरकार कालोबजारी गर्ने विरुद्ध आक्रमक हुँदै गएको बताए पनि बजारमा मास्क, सेनिटाइजर र ग्याँस अभाव कायमै रहेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौं र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छुट्टाछुट्टै बसेको बैठकले अत्यावश्यक वस्तुको कालोबजारी गरे हदैसम्मको कारबाही गर्ने निर्णय गरिए पनि बजारमा मास्क, सेनिटाइजर र ग्याँसको अभाव यथावत् रहँदा प्रशासनको निर्णय र क्षमतामाथि नै चुनौती थपिएको छ ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालकी कुमारी खरेलले बजारमा मास्क, सेनिटाइजर र ग्याँसको अभाव रहेको बताइन् । उनले नाकाबन्दीको जस्तो सामान नपाएर हाहाकार नभए पनि केही आवश्यक वस्तुको भने अभाव रहेको बताइन् ।
त्यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले हामीले अनुगमन गरेर भेटेसम्म कारबाही गरिरहेको बताए । उनले सप्लाई नमिल्दा केही समस्या आएको भने स्वीकार गरे । बजारमा खाद्यान्न पर्याप्त मात्रामा पाइएको जानकारी दिए ।
‘कर्मचारीलाई अनुगमन गर्न बजार पठाउँदा खाद्यान्न किन्न आउने मान्छे घटेको पायौं’ उनले भने । विभागले पहिलेको तुलनामा ७ प्रतिशत खाद्यसामग्री आएको जनाएको छ । त्यसैले सरकारको उपस्थितिले कालोबजारी रोकिएको तर आपूर्तिलाई पनि व्यवस्थित बनाउनुपर्ने आवश्यक रहेको देखिन्छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पेट्रोल, ग्याँस, खाद्यान्नलगायत वस्तुको कालोबजारी गरे हदैसम्मको कारबाही गरिने बताए । उनले माक्स र सेनिटाइजरको कालोबजारी गर्ने ५ कम्पनीविरुद्व कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत कारबाही गर्ने जानकारी दिए ।
त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका उच्च अधिकारीको बैठकले पनि ग्याँस र उपभोग्य वस्तुको कालोबजारी गरे कानुनी कारबाही अघि बढाउने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमणको त्रास रहेका बेला ग्याँसको कालोबजारी भएका कारण उपभोक्ताले नपाएको हुन सक्ने विषयलाई मध्यनजर गरी कारबाही गर्ने बताएको छ । मन्त्रालयले ग्याँस उद्योगले असहयोग गरे अनुमति खारेज गर्ने निर्णय गरेको छ । खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ तथा ठूला निजी खाद्यस्टोर, निगमको भण्डारण मौज्दात विवरण सार्वजनिक गर्ने, सबै जिल्लाको खाद्यान्न विवरण संकलन गर्नेलगायतका निर्णय गरेको मन्त्रालयले जनाएको छ । सरकारले खाद्यान्न अभाव भए हेलिकोप्टरबाट भए पनि ढुवानी गर्ने, कर्मचारी कामका लागि २४ घण्टा तयार रहनुपर्ने निर्णय पनि गरेको छ ।
्
कालोबजारी गर्नेविरुद्ध छापा मारिने
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता जीवनप्रसाद आचार्यले सूक्ष्म अनुगमनमा खटाएका प्रतिनिधिको रिपोर्टका आधारमा कालोबजारी गर्न राखिएका ग्याँस सिलिन्डर नियन्त्रणमा लिइने बताए । ‘ग्याँसमा कालोबजारी गर्नेलाई हदैसम्मको कारबाही गरिनेछ’ उनले भने ।






