जसपा नेता अशोक राईलाई मत माग्दै सशस्त्रका डीआईडी ठाडामगर

इटहरी । सुनसरी–१ को प्रतिनिधिसभा निर्वाचनमा एमालेको समर्थनमा जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवारी दिएका अशोककुमार राईलाई मत माग्न सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) गणेश ठाडामगर सक्रियताका साथ लागिपरेका छन् । मधेश प्रदेशका डीआईजी ठाडामगर प्रदेश नम्बर १ को सुनसरी पुगेर राईलाई मत हाल्न जनजाति समुदायलाई आग्रह गरेको स्रोतको दाबी छ । उनी महोत्तरीको बर्दिबास स्थित नम्बर २ बाहिनीको कार्यालयबाट शनिबार गई सुनसरीको एक होटलमा बसेर जनजाति समुदायका प्रभावशाली व्यक्तिलाई भेटेर राईको पक्षमा लाग्न आग्रह गरेको पनि स्रोतको दाबी छ ।

स्रोतका अनुसार डीआईजी ठाडामगर जसपा अध्यक्ष उपेन्द्र यादवको आग्रहमा सुनसरी गएका हुन् । ठाडामगर राईलाई मत माग्न सुनसरी पुगेको रिपोर्टिङ सशस्त्र मुख्यालयसमक्ष पुगेको छ ।

प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बो उम्मेदवार छन् । माओवादीका मेन्याङ्बोलाई कांग्रेसले चुनावी मैदान खाली गरिदिँदा एमालेले पनि आफ्नो ‘लालकिल्ला’ जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईलाई छाडिदिएको हो । २०७४ को निर्वाचनमा राई कांग्रेसको समर्थनमा संघीय समाजवादी फोरमबाट यही क्षेत्रबाट उम्मेदवार बनेका थिए तर उनलाई माओवादीसहितको वामगठबन्धनबाट जयकुमार राईले दोब्बर मतले पराजित गरेका थिए ।

यो क्षेत्रमा एमालेले जसपालाई ठाउँ खाली गरिदिँदा एमाले कार्यकर्ता रुष्ट छन् । यो क्षेत्रमा एमाले प्रदेश सचिवालय सदस्य समेत रहेका पुर्व नगरप्रमुख मनोजकुमार मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिएका छन । यो क्षेत्रमा एमालेले जयकुमार राईको एकल नाम सिफारिस गरेको थियो । जित्न सक्ने क्षेत्रमा गठनबन्धनका नाममा एमाले हाइकमाण्डले स्थानीय नेताकार्यकर्ता कसैलाई पनि नसोधी जसपा नेता अशोक राईलाई चुनावी मैदान खाली गरिदिएपछि साधारण सदस्य पनि नरहने गरी एमालेबाट राजिनामा दिदै पुर्व नगरप्रमुख मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

प्रतिनिधिसभा सदस्यमा यही क्षेत्रबाट नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । धरानका मेयर हर्कराज राई टिमका भनेर चिनिएका तर्कबहादुर मगरले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सुनसरीमा प्रतिनिधिसभाका लागि चार क्षेत्र रहेकोमा १ नम्बर क्षेत्रमा १ लाख ४१ हजार ८ सय ७८ मतदाता छन् । क्षेत्र नम्बर १ अन्तर्गत धरान उपमहानगरपालिकाका सबै २० वटै वडा, बराहक्षेत्र नगरपालिकाका १, २, ३, ४ र ५ तथा रामधुनी नगरपालिकाका ६ र ७ वडा पर्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 545 times, 1 visits today)

epaper

ताजा समाचार

आज जनैपूर्णिमा पर्व मनाइँदै