वीरगन्ज । नेपालमा प्रतिनीधि र प्रदेश सभा सदस्य पदको निर्वाचन हुन ४ दिन मात्र बाँकी छँदा १५ हजार फर्जी मतपत्र सहित पर्सामा एक भारतीय नागरिक पक्राउ परेका छन् । उनलाई पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ दशौतास्थित सडकखण्डबाट शसस्त्र प्रहरीले फर्जी मतपत्र सहित पक्राउ गरेको हो ।
प्रतिनीधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी प्रभावित पार्ने उद्देश्यले ती व्यक्तिले भारतबाट फर्जी मतपत्र लिएर आएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । खुल्ला सीमाको फाइदा उठाउँदै केही अवाञ्छित गतिविधि हुन सक्ने कुरालाई सशस्त्र प्रहरीले नजिकबाट नियालिरहेको सशस्त्र प्रहरी बल गण नम्बर १३ का प्रमुख तेजप्रकाश पोख्रेलले बताए । सोही क्रममा दुवै देशको सीमा कटी नेपाल तर्फ फर्जी मतपत्र सहित छिरेका एक भारतीय नागरिकलाई रंगेहात पक्राउ गरिएको उनको भनाई छ ।
प्रतिनीधि र प्रदेश सभा दुवै तर्फको १५ हजार फर्जी मतपत्र सहित नेपाल प्रवेश गरेका व्यक्ति भारत बिहार राज्य जिल्ला पश्चिम चम्पारण ग्रामपंचायत नरकटिया वडा नम्बर १४ का ४० बर्षीय इजाजत अहमद रहेको पर्साका प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताए । उनलाई मंगलबार दिउसो पक्राउ गरिएको उनको भनाइ छ । बीआर २२ डब्लु ८००२ नम्बरको भारतीय मोटरसाइकलमा पछाडीको सिटमा हरियो रंगको बोरामा शंकास्पद कागजपत्र बोकी आउँदै गरेको अवस्था शसस्त्र प्रहरीले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अहिले अभियुक्तलाई पर्साको ईलाका प्रहरी कार्यालय पोखरियामा राखी थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ । फर्जी मतपत्र लिएर आएको भेटिएपछि उनलाई के कानूनी कार्वाही गर्ने भन्ने कुरा पर्साको क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृतसँग छलफल गरी निश्कर्षमा पुग्ने पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले बताए । तत्काललाई उनले ल्याएको मतपत्र र मोटरसाइकल जफत गरिएको छ । नेपालका कुनै पनि उमेद्वारले छाप्न आदेश दिए अनुसार छापेर ल्याएको हुन सक्छ । त्यो पनि अनुसन्धान भइरहेको उको भनाइ छ ।






