काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मत खसेको छ । जुन अपेक्षाभन्दा कम हो । प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फ गरी निर्वाचनमा ११ हजार ५ सय ४३ उम्मेदवारबीच प्रतिस्पर्धा छ । उनीहरूको भविष्य मतपेटिकामा बन्द छ ।
प्रतिनिधिसभा र प्रदेशसभामा गरी कुल ८ सय २५ जना उम्मेदवार संसद् प्रवेश गर्ने छन् । धेरै ठाउँमा मतगणनाको अन्तिम गृहकार्य भइरहेको छ । आयोगका अनुसार सोमबार विहानदेखि मतगणना कार्य धमाधम हुने छ । देशका १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा एकै चरणमा एकैपटक निर्वाचन सम्पन्न भएकोमा प्रारम्भिक विवरणअनुसार ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगको प्रणालीमा प्रविष्ट भएको प्रारम्भिक विवरणअनुसार ६१ प्रतिशत मत खसेको बताए । पाँचवर्षे कार्यकालका लागि प्रतिनिधिसभा सदस्यतर्फ प्रत्यक्षमा १ सय ६५ र समानुपातिकतर्फ १ सय १० गरी २ सय ७५ र प्रदेशसभाका लागि प्रत्यक्ष ३ सय ३० र समानुपातिक २ सय २० गरी ५ सय ५० सिटका लागि ११ हजार ५ सय ४३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ हजार १ सय ८९ पुरुष र २ सय २५ महिला गरी कुल २ हजार ४ सय १२ तथा समानुपातिकतर्फ १ हजार १२ पुरुष र १ हजार १ सय ८७ महिला गरी कुल २ हजार १ सय ९९ उम्मेदवार मैदानमा छन् । यसैगरी, प्रदेशसभाको प्रत्यक्षतर्फ २ हजार ९ सय ४३ पुरुष, २ सय ८० महिला र एक अन्य गरी कुल ३ हजार २ सय २४ तथा समानुपातिकतर्फ २ हजार १ सय ९७ पुरुष र १ हजार ५ सय ११ महिला गरी कुल ३ हजार ७ सय आठ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
निर्वाचनमा कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले मतदान गर्न योग्य भएको आयोगले बताएको थियो । आयोगले निर्वाचनका लागि ९१ लाख ४० हजार ३ सय ६ पुरुष, ८८ लाख ४७ हजार ५ सय ७९ महिला र १ सय ८५ अन्य मतदाता कायम भएको जनाएको थियो ।
यसैगरी, यसपटक ४ लाख ५० हजार अस्थायी मतदातासमेत मतदानमा सहभागी भएका थिए । निर्वाचनका लागि देशभर १० हजार ८ सय ९२ मतदानस्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र तथा १ सय ४१ अस्थायी मतदान केन्द्र निर्धारण गरिएको थियो भने आयोगले मतदानका लागि मतदाता नामावलीमा नाम समावेश भएका र ३ मंसिरसम्म १८ वर्ष पूरा भएका मतदातालाई मतदानमा सहभागी गराउने निर्णय गरेको थियो ।
निर्वाचनमा प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सहभागी हुन ८७ दल आयोगमा दर्ता भएका थिए । त्यसमध्ये ६१ दलहरू पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा सहभागी भएका हुन् । यसैगरी, ४७ दलले समानुपातिक निर्वाचन प्रणालीका लागि बन्दसूची दर्ता गराएका थिए ।
निर्वाचन शान्तिपूर्ण र उत्साहजनकः
निर्वाचन आयोग निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन केही छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको बताएको छ । मतदानका लागि तोकिएको निर्धारित समय सकिएपछि आयोगले आइतबार साँझ गरेको पत्रकारसम्मेलनमार्फत मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको बताएको हो । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, ‘प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ केही सामान्य घटनाबाहेक देशभर शान्तिपूर्ण र सामान्य रूपमा सम्पन्न भएको छ ।’ उनले निर्वाचन सम्पन्न गराउने ऐतिहासिक कार्यमा भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निर्वाचन अधिकृतहरू, स्थानीय प्रशासन, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल, मतदाता, पर्यवेक्षक, अन्तर्राष्ट्रिय समुदाय, सञ्चार माध्यमसहित सबै क्षेत्र र समुदायलाई आयोगका तर्फबाट धन्यवादसमेत व्यक्त गरे ।
प्रत्यक्ष र समानुपातिकको गणना सँगै
निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मत गणना सँगसँगै गरिने बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सकेसम्म छिटो नतिजा दिनेगरी आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको गणना सँगसँगै गर्ने बताए । उनले सकेसम्म धेरै स्थानमा गणना गर्नेगरी व्यवस्थापन गर्न आयोगले सम्बन्धित अधिकारीलाई निर्देशन गरेकोसमेत स्पष्ट पारेका हुन् ।
बाजुरामा एकको मृत्यु
आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा धेरैजसो स्थानमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भए पनि १२ जिल्लाका २४ मतदान केन्द्रमा भने गोली चल्यो । सो क्रममा बाजुरामा एक जनाको ज्यान भएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार अधिकांश जिल्लामा शान्तिपूर्ण रूपमा निर्वाचन भए पनि केही ठाउँमा स्थिति असामान्य बन्न पुगेपछि प्रहरीले गोली चलाएको हो । प्रहरीका अनुसार १२ वटा जिल्लाका २४ वटा मतदान केन्द्रमा गोली चलाइएको छ । जसअनुसार प्रदेश १ को ताप्लेजुङमा एउटा मतदान केन्द्रमा प्रहरीले गोली चलेको छ ।
त्यस्तै, मधेस प्रदेशका रौतहट र सिराहामा गोली चलेको थियो । रौतहटको गरुडा र कनकपुर मतदान केन्द्रमा अवस्था असामान्य भएपछि प्रहरीले गोली चलाएको हो । त्यस्तै, सिरहाको मिर्चैया बडहरामाल मतदान केन्द्रमा गोली चलाउने अवस्थ बनेको थियो । यसैगरी, बाग्मती प्रदेशको चितवन र दोलखामा गोली चलेको छ । चितवनको राप्ती नगरपालिकामा विप्लव समूहले बम विस्फोट गराएपछि अवस्था नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको थियो ।
दोलखाको तामाकोसी गाउँपालिकास्थित गुम्बेश्वर मावि, जिरी नगरपालिकास्थित कालिका मावि, तामाकोशी गाउँपालिकाको अमर मावि, बैतेश्वरको जनज्योति मावि, जफेको कालपानी मावि, सूर्योदय प्रावि भदौरे र कालिञ्चोक गाउँपालिकाको बेगुम्पास्थित वडा कार्यालयको मतदान केन्द्रमा गोली चलाउने अवस्था सिर्जना भएको प्रहरीले बताएको छ ।
यसैगरी, गण्डकी प्रदेशको स्याङ्जाको चापाकोट नगरपालिका १ स्थित भानु मावि र गल्याङ नगरपालिकास्थित आदर्श माविमा गोली चलेको थियो । कर्णाली प्रदेशअन्तर्गत हुम्लाको देवकोटा आधारभूत विद्यालय र मानधारा मावि भकुण्डामा रहेको मतदान केन्द्रमा पनि गोली चलाउनुपर्ने स्थिति बनेको थियो ।
सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा सबैभन्दा बढी गोली चलेको छ । बाजुरामा सुरक्षाकर्मीले चलाएको गोलीले लागेर एक जनाको ज्यान नै गएको छ । जिल्लाको त्रिवेणी नगरपालिका–७ मा रहेको नाट्यश्वरीआधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा विवाद हुँदा सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानीय सञ्जिव अएडीको मृत्यु भएको हो ।
घटनामा एक जना प्रहरी कर्मचारीसहित तीन जना घाइते भएको बताइएको छ । मतदानका क्रममा बाजुराका पाँचवटा मतदान केन्द्रमा गोली चलेको थियो । स्वामी कार्तिक खापर गाउँपालिकाको छेडेदह, कोइलासेवरी आधारभूत विद्यालय, सत्ते मावि पाण्डुसै, धुरालसेन मावि दुगरीमा पनि गोली चलेको थियो ।
यसैगरी, डोटीको राधाकृष्ण मावि गोपघाट र दार्चुलाको मालिकार्जुन मावि मतदान केन्द्रमा पनि गोली चलेको प्रहरीले जनाएको छ । प्रहरीका अुनुसार बझाङको मष्टा आधार आधारभूत विद्यालयमा पनि गोली चलेको छ ।






