नेपालमा बेरोजगारीको समस्या र समाधान

नेपालको श्रम तथा रोजगार नीतिले लगानीकर्ता मैत्रीपूर्ण वातावरण सिर्जना गर्ने, सबैलाई रोजगारीका अवसर प्रदान गर्ने, दीर्घकालीन आर्थिक वृद्धिको वातावरण तयार पार्ने, श्रम गर्ने उमेरका नागरिकलाई उत्पादनशील, विभेदरहित, शोषणमुक्त, मर्यादित, सुरक्षित र स्वास्थ्य कामका अवसर प्रदान गर्ने, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने, बहुसीपयुक्त मानव संसाधनको विकास गर्ने जस्ता उद्देश्य राखेको छ । नेपालको संविधानमा भएका प्रावधान अध्ययन गर्ने हो भने रोजगारीका अवसर प्रदान गर्ने र सामाजिक न्याय’bout अत्यन्त राम्रो प्रतिबद्धता आएको छ । संवैधानिक र कानुनी प्रत्याभूति हुँदैमा रोजगारीका अवसर प्राप्त हुने भए नेपालमा कोही पनि बेरोजगार रहनुपर्ने अवस्था हुने थिएन । तर, देश यो समस्याबाट आक्रान्त छ ।

राष्ट्रिय प्रतिबद्धता आवधिक योजनामार्फत पनि आएका छन् । तर, पनि नेपालमा जनसंख्यामा आर्थिक रूपले क्रियाशीलहरूको संख्या ५६ प्रतिशत छ । यही समूहबाट प्रतिवर्ष विशेषगरी युवा ५ लाखको हाराहारीमा रोजगारीको खोजीमा निस्कन्छन् । देशभित्र नगण्य अवसर प्राप्त हुने भएकाले उनीहरूको गन्तव्य वैदेशिक रोजगारी (खासगरी मलेसिया, मध्यपूर्व, कोरिया आदि) हुने गरेको छ । युवा जोस, जाँगर र शक्ति विदेशी भूमिमा सिञ्चित गर्दै अस्वस्थ अवस्थामा नेपालमा फर्किन हुँदा यस्तो सशक्त र जीवन्त शक्तिको उपयोग हामीले गर्न नसकी उनीहरूको उमेर ढल्किँदै जाँदा सामाजिक सुरक्षाको जिम्मेवारी राज्यले लिनुपर्दा यस्ता जनशक्ति दायित्वको रूपमा राष्ट्रले लिनुपर्ने अवस्था छ ।

तथापि, हाम्रो अर्थतन्त्रमा कुल गार्हस्थ उत्पादनको ३२ प्रतिशतसम्म यही क्षेत्रले योगदान गर्ने भएकाले हामी युवाहरूलाई विदेश पठाई उनीहरूको आर्जनबाट देशको अर्थव्यवस्था सञ्चालन गरिरोखका छौं र यसैमा गौरवान्वित हुँदै गएका छौं । यस्तो अवस्था सिर्जना हुनुका पछाडिका कारण र यसका समाधानका विषयमा छलफल केन्द्रित गर्नुपर्ने अवस्था छ । श्रम बजारमा सधंै उत्पादक श्रमिकको माग हुन्छ । हामीसँग भएका श्रमशक्ति प्रायः अदक्ष छन् । यस्तो श्रमशक्तिको आवश्यकता रोजगारदातालाई पर्दैन, त्यसैले देशभित्र उपलब्ध रोजगारीका लागि समेत अन्य देशबाट श्रमिक नेपाल आएको अवस्था छ । देशमा आर्थिक क्रियाकलापमा वृद्धि हुन सकेको छैन । आर्थिक वृद्धिदर न्यून छ ।

राजनीतिक अस्थिरताका कारण सरकार कमजोर छ । एक दशक लामो द्वन्द्वले देशभित्र कानुनको शासनको जग नराम्ररी खलबल्याइदिएको छ । दण्डहीनताको अवस्था दिनानुदिन सुदृढ हुँदै छ । द्वन्द्वको क्रममा १७ हजार नेपाली मारिनु, टीकापुर, मधेस आन्दोलन आदिमा संलग्न महाअपराधीलाई सरकारले प्रोत्साहित गर्नुजस्ता कारणले देशको कानुनी शासनको अवस्था सिद्धान्तमा सीमित हुन पुगेकाले वैदेशिक लगानी आकर्षित मात्र गर्न नसकिएको होइन स्वदेशी लगानीकर्तासमेत बाहिरिने क्रम जारी छ । यसबाट देशभित्र आर्थिक क्रियाकलाप घट्दै गई बेरोजगारीको समस्या अत्यन्त बढिराखेको छ । निजीकरणलाई उपयुक्त हिसाबले अघिबढाउन नसक्दा यो क्षेत्र नकारात्मक रूपमा प्रभावित भएको छ ।

९६ प्रतिशत अनौपचारिक क्षेत्रमा काम गर्ने सक्रिय जनशक्तिलाई राष्ट्रले महत्व दिन सकेको छैन

सबैभन्दा बढी रोजगारी प्रदान गर्ने कृषि क्षेत्रको आधुनीकरण हुन सकेको छैन । औद्योगिक क्षेत्रको सम्भावना अत्यन्त न्यून छ । सेवा क्षेत्रको विकासको कमी आधारभूत आधारशिलाहरूको अपर्याप्तता, सबै क्षेत्रको अत्यन्त बढी केन्द्रीकरणले गर्दा रोजगारी सिर्जना गर्ने सबै कार्यक्रम पछि पर्दै गएका छन् । देशका नीतिहरू र कार्यक्रम प्रायः औपचारिक क्षेत्रमा कामदारहरूलाई लक्षित गरी तयार भएका छन् । अनौपचारिक क्षेत्रलाई समेटने दूरगामी सोचको अभाव छ । यसले ९६ प्रतिशत अनौपचारिक क्षेत्रमा काम गर्ने सक्रिय जनशक्तिलाई राष्ट्रले महत्व दिन सकेको छैन ।

श्रम व्यवस्थापनमा श्रमबजारको लचकता श्रमिकहरूको उत्पादकत्व र सामाजिक सुरक्षाजस्ता महत्वपूर्ण पक्ष हुन्छन् । यसैगरी श्रम व्यवस्थापनले त्रिपक्षीय सामन्जस्यताका आधारमा अघि बढ्न सक्नुपर्छ । सबैभन्दा ठूलो दायित्व सरकारको हो । सरकारले औपचारिक र अनौपचारिक दुवै क्षेत्रलाई सम्बोधन गर्न कृषि घरेलु उद्योगको आधारमा साना तथा मझौला उद्योगहरूको विकास गर्ने, कार्यान्वयन योग्य नीतिहरू तर्जुमा गरी तुलनात्मक लाभका क्षेत्रहरूको पहिचान गरी लगानी गर्ने, अन्तर्राष्ट्रियस्तरको मापदण्डलाई आत्मसात् गरी अघि बढ्ने सामाजिक सुरक्षा र औद्योगिक प्रवद्र्धन प्रत्याभूति गर्ने, अनुगमनलाई प्रभावकारी बनाउने, वैदेशिक रोजगारीको क्रियाशीलतामा वृद्धि गर्ने, रुग्न उद्योगहरूको सुधारमा पर्याप्त चासो दिनुपर्छ ।

निजी क्षेत्र र सार्वजनिक क्षेत्र दुवै साथ साथै अघि बढ्नुपर्छ । यसका लागि रोजगारदाता पनि उद्यमशीलताको विकास र प्रवद्र्धन गर्न, श्रमिकहरूको गुणस्तरमा सुधार ल्याउन, उद्योगहरूको स्थापनामा विशेष लगानी गर्न, पारदर्शिता, जवाफदेहिता र सामाजिक उत्तरदायित्व वहन गर्न, मजदुरप्रति संवेदनशील बन्दै सामाजिक न्यायका आधारमा व्यवहार गर्न विशेष जिम्मेवार हुनुपर्छ ।

यसैगरी, श्रमिकहरूले आफ्नो सीप र दक्षताको विकास गर्दै अत्यधिक उत्पादन बढाउने, पेसागत मूल्य मान्यता र व्यावसायिकतालाई प्राथमिकतामा राख्ने, अनुशासन र कर्तव्यप्रति सजग रही कानुनी शासनलाई पूर्ण रूपमा आत्मसात् गर्न, कार्यरत संगठनको प्रगति र विकासमा दत्तचित्त रहने, अधिकार प्राप्तिका साथ साथै जिम्मेवारीलाई समेत पर्याप्त महत्व दिन, समग्रमा देशको आर्थिक विकासमा योगदान पु¥याउनेगरी जिम्मेवार बन्नुपर्छ । यसो भएमा रोजगारीका अवसर प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने तीनवटै पक्ष सरकार, रोजगारदाता र श्रमिकबीच अत्यन्त राम्रो सम्बन्धको विकास भई उद्योग व्यवसायहरूको प्रवद्र्धन हुन पुग्छ, तीनवटै पक्षहरूमा स्वामित्वको भाव सिर्जना हुन्छ र अन्ततोगत्वा रोजगारीका अवसर थप हुँदै जाने अवस्था हुन्छ ।

नेपालमा श्रमिकहरूको अवस्था पनि रोजगारीका अवसर सिर्जना गर्न मैत्रीपूर्ण देखिएका छन् किनकि कम शिक्षित, सीप कम भएका मजदुर छन्, यस्ता मजदुर पर्याप्त भएकाले सस्तोदरमा उपलब्ध भई उत्पादन लागत कम हुन आउँछ । श्रममूलक उत्पादन पद्धतिको अभाव छ । अधिकांश श्रमशक्ति कृषिमा आधारित रही अदृश्य रूपमा बेरोजगारीका समस्याको सामना गरिराखेकाले यस्ता क्रियाशील जनशक्तिलाई औपचारिक क्षेत्रतर्फ स्थानान्तर गर्न सक्ने अवसर छ । लोचनशीलता अत्यन्त न्यून छ अर्थात् तलब सुविधा जति भए पनि आफ्नो कार्यस्थल परिवर्तन नगर्ने, संगठन नछाडने प्रवृत्ति ज्यादा छ ।

यसबाट श्रमिकहरूको उपयोगमा स्थायित्व कायम हुन्छ । विकसित सहरतर्फ कामको खोजिमा भौतारी रहने जनशक्ति पर्याप्त छ । छिमेकी देशहरूबाट पनि श्रमिक देश प्रवेश गरिराखेका छन् । देशको जनसंख्यामा १५ देखि ५५ वर्ष उमेर समूहका क्रियाशील जनशक्ति ५६ प्रतिशत भएकाले यो ऊर्जाशील जनशक्तिलाई उत्पादक कार्यमा प्रयोग गर्न सकिने सम्भावना धेरै छ । यसले गर्दा उद्यमीहरू र सरकारका लागि अत्यन्त राम्रो अवसर श्रमिकहरूको अवस्थाले प्रदान गरेको छ । यस्तो अवसरलाई उपयोग गर्न सक्ने क्षमता हाम्रा रोजगारदाता र सरकारमा विकास हुन नसक्नु नै यतिखेरको रोजगारका अवसरको उपयोग राम्ररी हुन सकेको छैन ।

परिणामस्वरूप नेपालको अर्थतन्त्रको विकास अत्यन्त सुस्त भई सबै क्षेत्र प्रभावित भइराखेको छ । हाम्रा यिनै कमजोरीका कारण युवाहरू पलायन भएका छन् । आर्थिक पक्ष मात्रै नकारात्मक रूपमा प्रभावित नभई देशको इज्जत र प्रतिष्ठा पनि धुमिल भएको छ । यो अवस्थाको अन्त्य अपरिहार्य छ जसका लागि स्वदेशमै रोजगारीका अवसर प्रदान गरी वैदेशिक रोजगारीलाई विस्थापन गर्न सक्नुपर्छ ।

अधिकतम फाइदाजनक श्रम गन्तव्य मुलुकहरूको अन्वेषण गर्ने, आर्थिक कूटनीति र श्रम सहचारीको उपयोग प्रभावकारी बनाउनुपर्छ

आर्थिक विकास र आर्थिक वृद्धिमा रोजगारी प्रदान गर्न सकिन्छ । हाम्रा आर्थिक वृद्धिको अभावमा रोजगारी प्रदान गर्न सकिँदैन । त्यसैले हाम्रा आर्थिक विकासका लागि के कस्ता सम्भावना रहेका छन्, के कस्ता आर्थिक क्रियाकलाप सञ्चालित छन्, कसरी उत्पादक हिसाबले सुधार गर्दै अघि बढ्न सकिन्छ ? यसका लागि आवश्यक पर्ने जनशक्तिको प्रक्षेपण हुनुपर्छ । रोजगारी दिने विषय सरकारको होइन, यो विशुद्ध रूपमा व्यवसाय, पेसा, आर्थिक अवस्थाको संरचना, आयाम र आर्थिक वृद्धिको गतिसँग सिधा सरोकार राख्ने विषय हो । आर्थिक विकास र आर्थिक वृद्धिको गतिमा सुधार ल्याउँदा मात्र यो समस्याको समाधानको नजिक पुग्न सकिन्छ । यसका लागि देशको ७० प्रतिशत रोजगारी दिने क्षेत्रका रूपमा रहेको, कृषिमा आधुनिकीकरण गरी कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने, कृषि उत्पादनको प्रशोधन गरी साना तथा मझौला उद्योगहरूको विकास गरी ग्रामीण र सहरी अर्थ व्यवस्थालाई एकीकृत गर्ने, अन्नबालीका साथै नगदेबालीको उत्पादनमा प्राथमिकता दिने, सहर बसाउन र कृषिका लागि उपयोग गरिने क्षेत्र छुट्याउने, भूमिपतिबाट जमिन लिई किसानलाई दिने, सामूहिक सहकारीको प्रारम्भ गर्ने, कृषि सामग्री तथा मल, बीउबिजनको आपूर्तिको व्यवस्था मिलाउने, तराईमा अन्न र नगदेवाली एवं फलपूmल, पहाडमा चिया, कफी, फलपूmल, पशुपालन, हिमाली क्षेत्रमा जडिबुटी खेती, पशुपालन गर्ने र ग्रामीण सडकको स्तरीकरण गरी ग्रामीण र सहरी अर्थ व्यवस्थाबीच आबद्धता गराउने, प्रशोधन कम्पनी स्थापना गर्ने, वन विकास र वनपैदावारमा आधारित उद्योग प्रवद्र्धन गर्ने, यसबाट रोजगारी सिर्जना भई कम्तीमा पनि फलपूmल, तरकारी, मासु एवं खाद्यान्नमा आत्मनिर्भर भई कृषि उपजको आयात प्रतिस्थापन सम्भव हुन्छ ।

ठूलाठूला उद्योग खोल्ने व्यवस्था मिलाउने, निर्यातजन्य उद्योग खोली आयात प्रतिस्थापन गर्ने र रोजगारीका अवस्थामा सुधार ल्याउने, मझौला र साना उद्योगहरूमा स्थानीय स्तरमा नै स्रोतसाधन जुटाई सञ्चालन गर्ने रणनीति अवलम्बन गर्नुपर्छ । कृषि सामग्री, मल, बीउ, बिजनको आयात र भण्डारणमा सहजीकरण गरिनुपर्छ । सेवाले वास्तविक क्षेत्रलाई सहयोग पु¥याउने भएकाले पर्यटन, बैंक, बिमा, सार्वजनिक सवारीसाधन, व्यापार, होटल रेस्टुरेन्ट, शिक्षा, स्वास्थ्यलगायतका आधारभूत सरकारी सेवा प्रवाह आदिको संस्थागत विकास गर्नुपर्छ । ठूलाठूला लगानीमा जोड दिनुपर्छ, ठूला पूर्वाधार निमार्णका कार्य प्रारम्भ गर्ने, सरकारले लगानी गर्ने र अन्तर्राष्ट्रिय क्षेत्रको लगानी भिœयाउने, यसबाट वस्तु र सेवाको बजार स्वतः सिर्जना हुन्छ ।

रणनीतिक सडकहरूको निर्माण, उत्तर दक्षिण सडकको निर्माण, ग्रामीण विद्युतीकरणमा जोड दिनुपर्छ । गुणस्तरयुक्त जनशक्तिको उत्पादनमा सरकारले क्रियाशीलता दिनुपर्छ, आवश्यक सीप र योग्यताको प्रक्षेपणगरी कार्य योजना बनाउने, तालिम प्रदायक संस्थालाई स्थानीय निकायसम्म पु¥याउने, शिक्षा पद्धतिमा आमूल परिर्वतन जरुरी हुन्छ । हालको श्रम प्रक्रियामा व्यापक सुधार गर्नुपर्छ । वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई र उनीहरूका परिवारलाई सहयोग गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ । मजदुर कल्याणकोषको सदुपयोग जरुरी छ । अधिकतम फाइदाजनक श्रम गन्तव्य मुलुकहरूको अन्वेषण गर्ने, आर्थिक कूटनीति र श्रम सहचारीको उपयोग प्रभावकारी बनाउनुपर्छ, श्रमिक पठाउने र स्वीकार गर्नेबीच सबल पद्धतिको विकास गर्नुपर्छ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसारका ढाँचा तयार गर्ने, अनुगमन कार्य प्रभावकारी बनाउनु विप्रेषण पठाउन औपचारिक माध्यमलाई अवलम्बन गराउनुपर्छ । रोजगारीका अवसर क्रमशः देशभित्रै सिर्जनागरी वैदेशिक रोजगारीको प्रवाह कम गर्दै लैजानुपर्छ । यसो भएमा विस्तारै वैदेशिक रोजगारीलाई देशभित्रै प्राप्त हुने रोजगारीले विस्थापित गरी देशको अर्थतन्त्र सुदृढ हुने दिशामा अघि बढ्छ ।

तपाइको प्रतिक्रिया
(Visited 2,502 times, 1 visits today)

epaper

ताजा समाचार

सुकुम्वासीका घर जर्बजस्ती नभत्काउन सर्वोच्चको आदेश