काठमाडौं । बाग्मती प्रदेशसभाको ६६ निर्वाचन क्षेत्रबाट पाँच जना महिला उम्मेदवार विजयी भएका छन् । बाग्मती प्रदेशसभामा ७ दशमलव ५ प्रतिशत महिला मात्र विजयी भए । प्रदेशसभामा महिला उम्मेदवार निकै कम रहेकाले पनि जित्ने महिलाको संख्या कम हुन पुगेको हो । पाँच विजयी महिला उम्मेदवारमध्ये नेपाली कांग्रेस र माओवादी केन्द्रका २÷२ जना छन् भने एकीकृत समाजवादीकी एक उम्मेदवार विजयी भइन् । यी पाँचैजना उम्मेदवारको प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवारसँग भएको थियो ।
सिन्धुपाल्चोलकको निर्वाचन क्षेत्र १ (१)बाट नेपाली कांग्रेसकी मसिना खड्का भण्डारीले जित हात पारिन् । उनले १४ हजार ६ सय ५२ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी तामाङले १३ हजार ४ सय ९० मत ल्याए । यो क्षेत्रमा राप्रपाकी महिला उम्मेदवार निर्मला श्रेष्ठले २ हजार ६७ मत ल्याइन् ।
काठमाडौंका २० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ६ (१) बाट नेपाली कांग्रेसकी हरिप्रभा खड्गी विजयी भइन् । उनी काठमाडौं महानगरपालिकाकी पूर्वउपमेयर हुन् । उनलाई प्रदेश सरकारको मन्त्रीका रूपमा समेत हेरिएको छ । उनले पनि एमालेका निरेशलाल सिंह महर्जनलाई हराइन् । उनले ४ हजार ६ सय ५६ मत ल्याउँदा महर्जनले ३ हजार ९ सय ३६ मत पाए । काठमाडौं १० (२) बाट एकीकृत समाजवादीकी रमा आले मगरले एमालेका रामशरण ओल मगरलाई पछि पार्दै जित दर्ता गरिन् । उनी यसअघि पनि सोही क्षेत्रबाट प्रदेशसभामा विजयी भएकी थिइन् । उनले ५ हजार ८ सय १८ मत ल्याइन् भने एमालेका उम्मेदवारले ५ हजार १ सय ८८ मत ल्याए ।
नुवाकोट क्षेत्र नम्बर १ (१) बाट माओवादी केन्द्रकी राधिका तामाङ विजयी भइन् । उनले १६ हजार १ सय ६१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुशीलकुमार खड्काले ११ हजार ३ सय ५० मत पाए ।
मकवारनपुरका क्षेत्र नम्बर २ (१) बाट माओवादी केन्द्रकी कुमारी मुक्तानले जित दर्ता गरिन् । उनले एमालेका विष्णुप्रसाद ढकाललाई ३ सय २ मतान्तरले हराइन् । उनले १९ हजार ८ सय ७३ मत ल्याइन् भने ढकालले १९ हजार ५ सय ५१ मत ल्याए ।
बाग्मती प्रदेशमा दोलखाको १० वटा विवादित निर्वाचन केन्दमा पुनः मतदान हुने भएकाले त्यहाँको नतिजा आइसकेको छैन । ती दुवै प्रदेशसभाको क्षेत्रमा महिला उम्मेदवार छैनन् ।
हालसम्म बाग्मती प्रदेशमा नेपाली कांग्रेसले २३ सिट जितेको छ भने माओवादी केन्द्रले १४ सिट जितेको छ । एकीकृत समाजवादीले ५ सिट जितेको छ । सत्ता गठबन्धनका दलले ४२ सिट जितेकाले यही गठबन्धन कायम रहेको खण्डमा उनीहरूकै सरकार बन्ने सम्भावना छ । नेकपा एमालले १२ सिट जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ सिट जितेको छ । मजदुर किसान पार्टीले १ र हाम्रो नेपाली पार्टीले १ सिट जितेको छ ।






