इलामको फास्ट ट्रयाक: न तोडिन्छ ठेक्का, न जोडिन्छ सडक

मन्त्री : भीसीएनको कहाँ हो स्रोत ?
डी. : झापा वा दुई–तीनवटा क्रसर छन् ।
मन्त्री : झापाबाट मगायो भने यो बाटोबाट आउँछ नि, हैन ?
डी. : आउँछ ।
मन्त्री : आउँछ भने झापाबाट ल्याउने व्यवस्था गरौँला नि त ।
डी. : वर्षामा टेन्डर गरियो भने अर्को असारसम्ममा काम सकिन्छ ।
मन्त्री : हैन, चैत्र मसान्तसम्म समय तोकौँ । रिटेन्डर गरौँ । चाँडै ठेक्का निकालौँ ।

गत असार ५ गते शुक्रबार इलामको पुवा खोलाछेउ भाङ्गटारमा भएको यो संवादसँगै इलाम–झापा फास्ट ट्रयाकको भञ्ज्याङ–बेलासी सडकखण्डले अब गति लिने आशा जागेको थियो ।

ठेकेदार र सरकारी निकायका कारण तीन जिल्ला बन्धक

पूर्वाधार विकास मन्त्री सुनिल लम्साल आफैँ स्थलगत निरीक्षणमा थिए । सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईसँग सडकको अवस्था बुझेपछि उनले काम गर्न नसकेको निर्माण कम्पनीको ठेक्का तोडेर नयाँ टेन्डर निकाल्न निर्देशन दिएका थिए । त्यसबेला प्रमुख जिल्ला अधिकारी लक्षुमण ढकाल पनि त्यही थिए । तर मन्त्रीको त्यो निर्देशन भएको करिब दुई महिना बित्दा सडक पनि बनेन, ठेक्का पनि तोडिएन ।

बरु काम नगर्ने ठेकेदारले फेरि प्रतिबद्धता गरे । सडक डिभिजनले फेरि मौका दियो । अर्को व्यक्ति आएर ठेक्का सम्हाल्ने सहमति भयो । तर सडकमा न जनशक्ति देखियो, न उपकरण नै । उता मेची राजमार्ग पनि पहिरोले ढप्प भएको डेढ महिना बितिसकेको छ । इलामसँगै पाँचथर र ताप्लेजुङका नागरिकका लागि महत्वपूर्ण वैकल्पिक मार्ग मानिएको फास्ट ट्रयाक यात्राका लागि जोखिमपूर्ण बनेको छ । तीन जिल्लाको यात्रा ठेकेदारको गैर जिम्बेवारी र सरकारी निकायको अनिर्णयले खाल्डोमा परेको छ ।

इलाम आएका मन्त्री लम्सालले भञ्ज्याङ–बेलासी सडकको कामको अवस्था देखेपछि पुरानो ठेक्का अन्त्य गरेर नयाँ प्रक्रियामा जानुपर्ने निष्कर्ष सुनाएका थिए । निर्माण सामग्रीको स्रोत’bout सोधपुछ गर्दै उनले झापाबाट निर्माण सामग्री ल्याउन सकिने भए त्यसको व्यवस्था मिलाउने बताएका थिए । वर्षायाममा नयाँ ठेक्का गर्दा काम अर्को असारसम्म लम्बिन सक्ने सडक डिभिजनको भनाइ आएपछि मन्त्रीले चैत्र मसान्तसम्म काम सक्ने गरी नयाँ ठेक्का निकाल्न निर्देशन दिएका थिए । मन्त्रिको निर्देशन पछि पुरानो ठक्का तोडेने र सडकले नयाँ गति लिने स्थानीयकोे विश्वास थियो । तर त्यसको केही समयमै सडक डिभिजनमा निर्माण कम्पनीका अर्का व्याक्त्तिको आगमन भएपछि एकपटक अवसर दिने निर्णय डिभिजनले ग¥यो । तर अहिले सम्म नयाँ व्याक्तीले पनि माखो मार्न थालेका छैनन ।

‘काम गर्छु, ठेक्का नतोडिदिनू’
सडक डिभिजन इलामले निर्माण व्यवसायी खड्का–कृष्ण–सक्षम जेभीलाई असार ११ गते लिखित प्रतिबद्धता गराएको थियो । प्रतिबद्धतामा असार १५ गतेसम्म कम्तीमा ३५ जना जनशक्ति थप्ने, प्रत्येक १५ दिनमा प्रगति विवरण बुझाउने, भञ्ज्याङ–पुवाखोला खण्डमा १५ दिनभित्र बेस निर्माण सुरु गर्ने र असोज ३० गतेभित्र सबै खण्डमा कालोपत्रे गर्ने उल्लेख थियो । प्रतिबद्धता पत्रमा जेभीका आधिकारिक प्रतिनिधि सुवर्ण खड्काले हस्ताक्षर गरेका थिए । तर प्रतिबद्धताअनुसार काम अघि बढेन ।

त्यसअघि नै सडक डिभिजनले पेस्की जमानत जफत गर्ने निर्णय गरेपछि निर्माण व्यवसायी अदालत पुगेका थिए । पछि अदालतमा परेको रिट फिर्ता लिएर मन्त्रालय, विभाग र सडक डिभिजनमा ‘काम गर्छु, ठेक्का नतोडिदिनू’ भन्दै आएपछि ठेक्का तोड्ने प्रक्रिया रोकिएको बताइएको छ ।

ठेक्का जोगियो, सडकको हालत उही
प्रतिबद्धता गरेपछि निर्माण व्यवसायीले काम अघि बढाउने विश्वास सडक डिभिजनको थियो । तर प्रतिबद्धतापछि पनि अपेक्षित काम नभएपछि डिभिजन आफैँ झस्किएको छ ।

सडक डिभिजन प्रमुख पवन भट्टराईका अनुसार ठेक्का तोडेर नयाँ ठेकेदार ल्याउँदा सडक निर्माण झन् पछाडि धकेलिन सक्ने भएकाले काम गराउने प्रयास गरिएको हो । “ठेक्का तोडेर पनि अझै एक–दुई वर्ष सडक नबन्न सक्छ । त्यसैले भरसक सडक चाँडो बनोस् भनेर प्रयत्न गरेका हौँ,” भट्टराईले भने, “खड्का–कृष्ण–सक्षम जेभीका अर्का प्रतिनिधि आएर काम गर्छु भनेपछि ठेक्का तोड्न स्थगित भएको हो । समयमा काम भएन भने ठेक्का तोड्ने नै हो ।”

स्थानीयवासीको प्रश्न : कहिलेसम्म ‘अन्तिम मौका’ दिइरहने ?
बारम्बार ठेक्का तोड्न दबाब दिँदै आएका इलामवासी अहिले पनि उही सडकमा हिलो र जोखिमसँग जुधिरहेका छन् । ठेक्का लिएर निर्माणे काम नगरेका कारण अलपत्र पारेपछि पनि अझै म्याद दिई राख्नु पर्ने भन्ने स्थानीयको माग छ । होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेलले भञ्ज्याङ–बेलासी सडकको अवस्थाप्रति व्यङ्ग्य गर्दै भने, “भञ्ज्याङ–बेलासी सडकमा धान रोप्ने हो भने इलामवासीलाई एक वर्ष खान पुग्छ । हाम्रा साथीहरूले बाटो होइन, धान खेती गर्ने खेत बनाएछन् ।”

उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष कृष्ण पौडेलका अनुसार अहिले राजदुवाली खण्डबाट कुनै पनि सवारीसाधन आवतजावत गर्न सक्ने अवस्था छैन । वर्षा भइरहेकाले तत्काल यातायात सञ्चालन हुने सम्भावना पनि कम छ । यस्तो अवस्थामा सिमल गोलाई–तिल्केनी वैकल्पिक सडक र मेची कोरिडोर नै आवतजावतको मुख्य विकल्प हुन् । तर मेची कोरिडोरकै भञ्ज्याङ–बेलासी सडकको अवस्था जटिल छ । “यो सडक समयमै बनेको भए राजदुवाली बन्द हुँदा पनि समस्या आउने थिएन,” पौडेलले भने ।

ठेकेदारले हात उठाए, अर्का आए
खड्का–कृष्ण–सक्षम जेभीका तर्फबाट पछिल्लो समय सडक निर्माणको जिम्मेवारी लिएका डम्बरबहादुर खड्काले आफूले काम गर्न नसक्ने जानकारी सडक डिभिजनलाई गराइसकेको बताइएको छ । त्यसपछि जेभीका अर्का प्रमुख व्यक्ति रत्नबहादुर खड्का सडक निर्माणको जिम्मेवारी लिन इलाम आएका थिए । रत्नबहादुरमार्फत काम अघि बढ्ने सडक डिभिजनको विश्वास छ । तर त्यसका लागि सडकमा अहिलेसम्म अपेक्षित जनशक्ति र उपकरण परिचालन भएको छैन ।

साउन ३ गते सडक डिभिजनका प्रमुखसहितको उपस्थितिमा भएको समझदारीमा रत्नबहादुर खड्का स्वयं फास्ट ट्र्याकको निर्माण अघि बढाउन सहमत भएका थिए । रत्नबहादुर खड्का जाजरकोटको छेडागाड नगरपालिकाका नगर प्रमुखसमेत हुन् । उनी निर्माण व्यवसायमा पनि संलग्न छन् । डम्बरबहादुर खड्का नेपाली कांग्रेस इलामका सभापति हुन् । स्रोतका अनुसार डम्बरबहादुर र रत्नबहादुरबीच भएको समझदारीमा लिड पार्टनरका रूपमा खड्का कृष्ण कन्स्ट्रक्सन प्रालिले ठेक्का ‘टेक ओभर’ गर्ने र आधिकारिक व्यक्ति नरबहादुर खत्रीलाई तोक्ने उल्लेख छ ।

पेस्की जमानत जफत गर्न अनुरोध गर्ने विषयसमेत समझदारीमा राखिएको बताइएको छ । इलाम सदरमुकाम राष्ट्रिय राजमार्गबाट विच्छेद भएको अवस्थामा एक साताभित्र सबै प्रकारका सवारी साधन निर्बाध सञ्चालन गर्न सकिने गरी सडक मर्मत गर्ने सहमतिसमेत भएको थियो । तर सहमति भएको सातौँ बित्दा पनि सडकमा ‘सङ्को भाँचिएको’ छैन ।

‘कम्पनी कालोसूचीबाट जोगाउन पनि काम गर्नुपर्छ’
सडक निर्माणको जिम्मेवारी लिन तयार भएका रत्नबहादुर खड्काले आर्थिक तथा बैंकिङ कारोबार मिलाउनुपर्ने भएकाले काम अघि बढाउन ढिलाइ भएको संकेत गरेका छन् । “फर्म कालोसूचीबाट जोगाउन भए पनि निर्माण गर्नुपर्ने भएको छ । म सडक निर्माण गर्छु,” उनले भने ।

तर साझेदारबीचको आर्थिक कारोबार, बैंकको ऋण तथा ठेक्कासँग जोडिएका दायित्व नमिल्दा निर्माण कार्य अघि बढ्न नसकेको बुझिएको छ । यसले सडक निर्माणभन्दा पनि ठेक्का जोगाउने खेल भइरहेको त होइन ? भन्ने आशंका जन्माएको छ ।

चासो कसले ठेक्का लिन्छ भन्ने होइन, सडक कहिले बन्छ ?
इलाम सदरमुकामलाई तराई क्षेत्रको माई नगरपालिका–लोदियासम्म जोड्ने करिब १८ किलोमिटर लामो केचना–कञ्चनजंगा सडक मेची कोरिडोरअन्तर्गतको महत्वपूर्ण सडक हो । भन्ज्याङदेखि बेलासे सम्मको ९.४ किलोमिटर सडक निर्माणका लागि २०७८ असार २९ गते सम्झौता भएको थियो ।

दुई वर्षभित्र काम सक्ने गरी २७ करोड २१ लाख ५३ हजार रुपैयाँमा खड्का–कृष्ण–सक्षम जेभीले ठेक्का लिएको हो । तर पाँच वर्ष बितिसक्दा भौतिक प्रगति जम्मा ४६ प्रतिशत मात्रै भएको सडक डिभिजन इलामले जनाएको छ । कहिले डिजेलको अभाव, कहिले बाढीले क्षति पु¥याएको भन्दै निर्माण व्यवसायीले काममा ढिलाइ गर्दै आएको बताइएको छ ।

यस सडक खण्डमा पर्ने बेलासेमा गएको असोज १८ र १९ को भेलबाडीले पक्की पुलमा क्षती गरे पछि त्यहा बेलीब्रीज जडान गरी यातायात सञ्चालन गरिएको छ भने पुवाखोला पनि गत असोज १८ र १९ बाढीले बेलीब्रीज बगाएपछि अहिलेसम्म बेलिब्रीज निर्माण हुन सकेको छैन । यहाँका लागी बेलीब्रीजका केही सामान आए पनि पुर्ण रुपमा आई नसकेको सडक डिभिजन इलामले जनाएको छ ।

सडकमा धान रोप
सडक नबनेपछि स्थानीयले हिलाम्मे सडकमा धान रोपेर सांकेतिक विरोधसमेत गरिसकेका छन् । रोपाई गरेको सडक खण्डको अवस्था झन् दयनीय बनेको छ । अहिले मुस्किलले फोरह्वील सवारी साधन मात्र चल्ने गरेका छन् । दिनहुँजसो सवारी साधन फस्ने र पल्टिने गरेका दृश्य सामाजिक सञ्जालमा दिनहु पोस्ट हुने गर्छन । सडकले स्थानीयको यात्रा मात्र असहज बनाएको छैन, बिरामीलाई अस्पताल पु¥याउनेदेखि कृषि उपज बजारसम्म लैजाने कामसमेत जोखिमपूर्ण बनाएको छ ।

कतै कालोपत्रे, कतै ठेक्काको चक्कर, फास्ट ट्रयाकमा सँधै ठक्करै ठक्कर
मेची कोरीडोरको लोदिया जङ्गल क्षेत्रसम्म कालोपत्रे भइसकेको छ । सोक्तिमदेखि सोम’bout–चिसापानी खण्डमा करिब दुई किलोमिटर कालोपत्रे भएको छ । सोक्तिमदेखि लोदियासम्मको सडक कालोपत्रेका लागि केही महिनाअघि भगवती निर्माण सेवाले ठेक्का लिएको छ । दुई किलोमिटर सडक र बेलासी पुलदेखि पारि करिब दुई सय मिटर सडक आगामी कात्तिकसम्म कालोपत्रे गर्ने गरी काम अघि बढेको सडक डिभिजनले जनाएको छ ।

तर चिसापानी क्षेत्रमा दुई किलोमिटर कालोपत्रेको काम अझै पूरा भएको छैन । आले निर्माण सेवाले गत वर्ष दुई महिनामा सक्ने भन्दै सुरु गरेको कामसमेत अलपत्र छ । एउटै फास्ट फास्ट ट्रयाकमा कतै कालोपत्रे थपिँदैछ, कतै नयाँ ठेक्का लगाउने तयारी छ र कतै पुरानै ठेकेदारलाई अन्तिम मौका दिइँदैछ । तर यही सडक वर्षौँदेखि निर्माणाधीन छ । इलामका ईश्वर चिपालु भन्छन्, “सडक निर्माण समयमा नहुँदा हाम्रो भविष्य नै अनिश्चित बनेको छ ।”

मन्त्रीको निर्देशनपछि पनि ठेक्का टुटेन
ठेकेदारले प्रतिबद्धता गरे पनि काम देखिएन । अर्का ठेकेदार आउने भनिए पनि सडकमा उपकरण पुगेन । यसबीचमा ठेकेदारको ठेक्का जोगिएको छ, सरकारी निर्णय रोकिएको छ, तर तीन जिल्लाका नागरिकको यात्रा भने बन्धक छ । यता मेची राजमार्गको माई खोलास्थित राज दुवाली सडक डेढ महिना देखि अवरुद्ध छ । पानी परिसक्दा जमिन नै बग्ने र सडक भासिने समस्याले अहिले यातायात पूर्ण रूपमा बन्द गरेर मर्मतको काम भइरहेको छ ।

माई खोलामा काम भइरहेपनि सडक सञ्चालन हुन सकेको छैन । सडक डिभिजन इलामले जति सक्दो चाँडो सडक खुलाउने गरी काम भइरहेको जनाएको छ । अर्को वैकल्पिक मार्गका रूपमा हेरिएको सिमल गोलाई–तिल्केनी सडकको स्तरोन्नतिका लागि पर्याप्त बजेट छैन ।

सङ्घ र प्रदेश सरकारमार्फत केही बजेट विनियोजन गरी सडक स्तरोन्नति गरिए पनि जोगमाई खोलामा पुल नहुँदा यो मार्ग भरपर्दो बन्न सकेको छैन । खोलामा बाढी आउनेबित्तिकै डाइभर्सन बगाउने र यातायात अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ । मेची राजमार्गको राजदुवाली अवरोधमा अहिले सम्म आठ करोड भन्दा बढी खर्च भइसकेको छ । अहिले पनिनिर्माण रोकिएको छैन ।

सडक भासिँने क्रममापनि रोकिएको छैन । यसैले मेची राजमार्गमा राजदुवालीको पहिरो क्षेत्रमा हिँडेर वारी पारी सवारी साधनमार्फत मात्र यात्रा गर्न सकिन्छ । गत सालको असोजमा १२ दिन अवरुद्ध भएको मेची राजमार्ग यस पटक अवरुद्ध भएको डेढ महिनाभन्दा बढी भइसक्यो । अझै खुल्ने टुङ्गो छैन ।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेस महाधिवेशन रोक्ने देउवा र खड्काको छुट्टाछुट्टै रिट अध्ययनकै क्रममा