चुरे क्षेत्रमा गाडिएको अवस्थामा गाईगोरु भेटिएपछि स्थानीय आन्दोलनमा

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाको चुरे क्षेत्रमा गाडिएको अवस्थामा गाई गोरु भेटिएपछि बेदकोट नगरपालिकाका स्थानीय आन्दोलनमा उत्रिएका छन् । बुधबार बिहानैदेखि नगरपालिकाको कार्यालय घेराउ गरेका स्थानीयले नारा जुलुस गरेका थिए ।
छाडा चौपाया व्यवस्थापनका लागि स्थानीय आन्दोलनमा उत्रिएपछि बेदकोट नगरपालिकाका व्यापक प्रहरी परिचालन गरिएको थियो । वेदकोट नगरपालिकाका किसानले आइतबार सामुदायिक पशुचौपाया जम्मा गरेर नगर परिसरभित्र हुलेर गेट बन्द गरेका थिए । किसानको खेतीबारी नै नष्ट हुने गरी सामुदायिक पशुचौपायाले दुःख दिन थालेपछि स्थानीयले बाध्य भएर नगरपालिकाभित्र गाईगोरु थुन्न बाध्य भएका हुन् । वेदकोट नगरपालिका–६ मा रहेको गौशाला व्यवस्थापन गरेर नगरपालिकाले छाडा पशुचौपाया राख्ने काम नगरेको भन्दै विरोधस्वरूप स्थानीयले नगरपालिका घेराउ गरेका हुन् ।

केही दिनअघि छाडा चौपायालाई बेदकोटको चुनेपानी लैजान अवरोध खडा गरिएपछि स्थानीय गाईगोरु कार्यालयभित्र हुलेर आन्दोलनमा उत्रिएका हुन् । दुई दिन कार्यालयभित्र राखिएका गाईगोरु बाहिर खाल्डोमा गाडिएको अवस्थामा भेटिएपछि स्थानीय थप आक्रोसित हुन पुगेका छन् । मंगलबार चुरे क्षेत्रमा गाडिएको अवस्थामा गाईगोरु भेटिएका थिए ।

स्थानीय ती गाई गोरुभीरबाट खसालेर मारेको आरोप लगाएका छन् । केहीले भने चुरे क्षेत्रमा लैजाने क्रममा ट्रकमा कोचिएर ती गाई गोरु मरेपछि खाल्डोमा पुरिएको आशंका गरेका छन् ।

आन्दोलनरत स्थानीयले घटनाको सत्यतथ्य छानबिन गरी उक्त कार्यमा संलग्न रहेका व्यक्तिमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

बेदकोट नगरपालिकाले मंगलबार कार्यपालिका बैठकबाट सबै वडामा अस्थायी रूपमा व्यवस्थापन गर्ने निर्णय गरेको छ । बेदकोटका प्रवक्ता चित्रदेव भट्टले सबै वडामा कान्जी हाउस बनाएर अल्पकालीन व्यवस्थापन गर्ने निर्णय गरिएको बताए । ‘नगरपालिका कार्यालय नजिक पुल छेउसहित सबै वडामा अल्पकालीन व्यवस्थापनका लागि कान्जी हाउस बनाउने निर्णय गरिएको छ,’ उनले भने, ‘वेदकोट नगरपालिकाको बैतोडामा दिगो व्यवस्थापन गर्छौं ।’

नगरपालिकाका सर्वदलीय सर्वपक्षीय बैठक बस्ने तयारी गरिएपछि कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएका छन् । कार्यालयमा प्रहरीहरू माइकसहित सबै सुरक्षा सावधानीका साथ परिचालन भएका छन् । छाडा चौपाया व्यवस्थापनका लागि माग राखेर स्थानीय आउने आशंकामा उनीहरूलाई कार्यालयभित्र प्रवेश गर्न नदिने गरी प्रहरी परिचालन गरिएको छ ।

नगरपालिकाले सर्वपक्षीय छलफल गरी छाडा चौपाया व्यवस्थापनका लागि अघि बढ्नुपर्नेमा प्रहरीको सहारा लिएपछि आन्दोलन थप चर्किने सम्भावना बढेको छ । नगरपालिका कार्यालयमा भएका केही स्थानीयले प्रहरी परिचालनपछि तनावको अवस्था आएको बताएका छन् ।

उता वेदकोट नगरपालिकाले वडा नम्बर ४ बैतडामा १२ बिघा जमिन लिजमा लिएर गौशला निर्माणका लागि प्रक्रिया सुरु गरेको दाबी छ । आइतबार नगर परिसरभित्र हुलिएका छाडा पशु चौपायालाई नगरपालिकाले ट्रकमा राखेर वडा नम्बर ६ मा रहेको गौशालामा ओसार्ने काम गरेको थियो । करिब १५ ट्रक छाडा पशुचौपाया दुई महिनाका लागि भन्दै ओसार्ने काम भएको थियो । दुई महिनापछि भने वडा नम्बर–४ मा सार्नेगरी तत्काल समस्या समाधान गर्ने प्रयास भएको नगरपालिकाको दाबी छ ।

किसानको अन्नबालीमा छाडा पशुचौपायाले क्षति पु-याएको वेदकोट नगरपालिकाकी नगर उप–उपप्रमुख तुलसी जोशीले बताइन् । निर्वाचन आचासंहिताका कारण समयमा गौशला निर्माण गर्न नसकिएकाले यस्तो समस्या देखिएको हो । अबको दुई महिनाभित्रै समस्या समाधान गर्नेगरी १२ विघा जमिन वार्षिक १ लाख २० हजार तिर्नेगरी सम्झौता भइसकेकाले आगामी दिनमा यस्तो समस्या नदोहोरिने उनले भनिन् ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

epaper

ताजा समाचार

३० जेष्ठ २०८३