कोरोनाविरुद्ध साझा लडाइँ

सरकारले नेपालमा हुनसक्ने कोरोना भाइरसको सम्भावित संक्रमणविरुद्ध लड्नका लागि सबैलाई गरेको हार्दिक अपिलको सर्वत्र स्वागत गरिएको छ । कोरोनाको संक्रमणलाई कुनै पनि गाउँ, स्थानीय निकाय वा जिल्ला र क्षेत्रादिका सीमारेखाले छेक्न र रोक्न नसक्ने भएकाले देशका सबै नागरिकले सरकारको अपिलप्रति विश्वास र ऐक्यताबद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेपछि त कोरोनाविरुद्ध लड्न सबै सचेत र प्रतिबद्ध देखिएका छन् ।

देशकै कार्यकारी प्रधानमन्त्रीले कोरोना संक्रमणबाट जोगिन सचेत भएर बस्न देशवासीलाई आग्रह गर्दै आतंकित नहुन अपिल गरेपछि जनता सरकारबीचको भावनात्मक सम्बन्ध गाढा बनेको छ । यसले कोरोनाको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सहज र सरल बनाउँदै लगेको छ । सम्भावित संक्रमणलाई मध्यनजर गरी सार्वजनिक सेवादेखि अन्तर्राष्ट्रिय उडानसम्म बन्द गरी सरकारले विपद्का बेलामा जनताको अभिभावकत्व लिन सफल भएको छ । विश्वमा कोरोना संक्रमण गहिरिँदै जाँदा अन्तर्राष्ट्रिय मात्र होइन, घरेलु आवागमनलाई समेत निगरानी र नियन्त्रणमा राखिनु आफंैमा एक सराहनीय कदम हो । समयावधिका हिसावले चैत्र ९ गतेदेखि चैत्र २१ सम्मको लगभग दुई साताको समयलाई निकै संवेदनशील रूपमा लिइएको छ ।


सरकारले सार्वजनिक, सामुदायिक तथा निजी तह÷संस्थाबाट दिइने अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द घोषणा गरी जनतालाई स्वेच्छिक तबरले ‘सेल्फ क्वारेन्टाइन’ वा ‘सेल्फ आइसोलेसन’ मा जान निर्माण गरिदिएको वातावरण अन्य देशभन्दा विशेष प्रकृतिको छ । यसका साथै कुनै त्रास वा अफवाहको भ्रममा नपर्न पनि जनतालाई बारम्बार सूचित गरिएको छ । कोरोना आफंैमा सरुवा रोग भएकाले यो मानिसमार्फत नयाँ ठाउँ र देशमा सर्ने वा भित्रिने प्रक्रियालाई मध्यनजर गरी सीमा नाकामा आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षाको चेकजाँचलाई प्राथमिकतामा राखिएको छ । साथै यसलाई राज्यको नीति र निर्णयअन्तर्गत राखी अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ ।

यो काम छिमेकी मित्रराष्ट्रसँग आपसी सहकार्यमा सञ्चालन गरिएको छ । सार्क देशबीच कोरोनाविरुद्ध साझा सहकार्यको प्रतिबद्धता जाहेर गरिएकाले अन्तरदेशीय समन्वयमा निकै सहजता पैदा हुन गएको छ । विश्वमा यसरी क्षेत्रीयस्तरमा सहकार्यको हात बढाइएको यो एक उदाहरणीय कदम हो । यसले विश्वका अन्य देशले पनि केवल आफ्नै देशमा मात्र फर्किएर कोरोनाजस्तो महामारीसँग जुध्न सकिँदैन कि भनी पुनर्विचार गर्ने अवस्थामा पु¥याएको छ । यसका साथै नेपालका लागि कोरोनाको विपद् झेलेर सामान्य अवस्थामा आइसकेको उत्तरी छिमेकी देश चीनले आवश्यक परे जेजस्तो पनि सहयोग गर्न तयार रहेको जानकारी गराएको छ । आफंैले सम्भावित विपद् झेलिरहेको दक्षिणी छिमेकी देश भारतले पनि सहयोगका लागि आफूहरू तयार रहेको जानकारी दिइसकेको छ ।


हाल कोरोनाको संक्रमण नदेखिएको नेपालमा यसको सम्भावित संक्रमणबाट बच्न अपनाइएका अनुशासन तथा उपायहरू गम्भीरताका साथ आत्मसात् गरिएमा त्यो नै सबैभन्दा उत्तम उपाय हुने देखिन्छ । यसका लागि सरकारले मानिसको भिडभाड हुने स्थान जस्तै सिनेमा घर, विद्यालय, विश्वविद्यालय, डान्स बार, तारे होटल तथा क्लब हाललाई बन्द गर्न निर्देशन जारी गरेको छ । देशमा संक्रमण भित्रिन नदिन सचेतना जगाउने, निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउने र संक्रमितको उपचारको व्यवस्था मिलाउने रणनीति लिई सरकारले गम्भीरताका साथ लिएको छ ।

यसका साथै सरसफाइमा उचित ध्यान दिन, साबुन पानीले पटकपटक हात धुन, स्यानिटाइजर प्रयोग गर्न, भिडभाडबाट टाढै रहन, सकेसम्म घरमै बस्न, अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्न, हल्ला र अफवाहबाट भ्रमित र प्रभावित नहुन, चिकित्सक, विज्ञ तथा प्राविधिकको सल्लाहलाई पालना गर्न, धैर्यधारण गर्न र संयमता अपनाउन दिएको निर्देशन पालना गरी कोरोनाविरुद्धको साझा लडाइँमा एकजुट हुनु जरुरी हुन गएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 253 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : जीवित भेटिने आशा टरेपछि कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि