वीरगन्ज । सशस्त्र प्रहरीले धनुषाबाट ठूलो परिणामको अवैध नेपाली नोटसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । सीमापारीबाट मोटरसाइकलमा लुकाइछिपाइ ठूलो परिणामको नेपाली नोट लिएर नेपाल प्रवेश गरिरहेका भारतीय नागरिकसहित रकम बरामद गरिएको हो ।
प्रदेश नम्बर २–०२ ००५प५७९८ को निलो रङको अपाची मोटरसाइकलमा लुकाइछिपाइ ल्याएको २४ लाख १७ हजार नेपाली नोटसहित भारत मधुवनी भंगापट्टी–१ मदिर विशौल बस्ने २३ वर्षीय उमेशकुमार सशस्त्रको नियन्त्रणमा परेका हुन् ।
अभियुक्तलाई धनुषा विदेह नगरपालिका–९ इटहर्वास्थित सीमा इलाकाबाट नियन्त्रणमा लिएको छिन्नमस्ता बाहिनी बर्दिवासका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले जानकारी दिए ।
विशेष सूचनाका आधारमा बाहिनीबाट गएको टोली र स्थानीय सशस्त्र प्रहरी युनिटका सशस्त्र प्रहरीले मोटरसाइकल चेकजाँच गर्दा ट्यांकीभित्र लुकाएको अवस्थामा रकमसहित पक्राउ गरिएको हो ।
अवैध रकम बरामद भएपछि मोटरसाइकल नियन्त्रणमा लिई कुल २६ लाख १७ हजार मूल्य कायम गरी थप अनुसन्धान र कारबाही प्रक्रियाका लागि प्रहरीलाई बुझाइएको छ ।






