काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा गरेको अनुगमनमा एक वर्षको अवधिमा समयको पालना नगर्ने र पोसाक नलगाउने २ हजार ५ सय ६५ जना कर्मचारीलाई पहिलोपटक चेतावनी दिएको छ । काठमाडौंबाहेक ९ सय ८० कार्यालयमा गरिएको अनुगमनका क्रममा अझै पनि सरकारी कार्यालयमा हाजिर गर्ने र टाप कस्ने प्रवृत्ति यथावत् रहेको पाइएको सतर्कता केन्द्रले जनाएको छ ।
केन्द्रका उपसचिव तथा सहायक प्रवक्ता डालनाथ अर्यालले अघिल्लो वर्षको तुलनामा चालू आवमा अनुशासनमा नरहने र समय पालना नगर्ने कर्मचारीको संख्या बढेको बताए । उनले कर्मचारीलाई पहिलोपटक चेतावनी र दोस्रोपटक विभागीय कारबाही गर्न विभागीय प्रमुखलाई पत्राचार गरिएको जानकारी दिए ।
कर्मचारी वृत्तमा यस्तो प्रवृत्तिलाई ‘हाटा’ प्रवृत्ति भनेर व्यंग्य गर्ने गरिएको छ । हाटा भन्नाले हाजिर गर्ने र अन्यत्र आफ्नै व्यक्तिगत कामका लागि टाप कस्ने प्रवृत्ति हो । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले संघीय मन्त्रालय, विभाग, अस्पताल, विभिन्न कार्यालयदेखि वडा कार्यालयसम्म गरेको अनुगमनबाट अझै पनि धेरै कर्मचारी कामचोर प्रवृत्तिकै रहेको देखाएको हो । केन्द्रले अनुगमनका क्रममा कारबाही सिफारिस गरेकामध्ये धेरैजना कर्मचारीले कार्यालय समयको पालना नगरेको पाइएको छ । केन्द्रलाई १ हजार ७ सय ३७ जनालाई कारबाही गरेको पत्र प्राप्त भएको सहायक प्रवक्ता अर्यालले बताए ।
राष्ट्रिय सतर्कता केन्द्रको १७औं वार्षिक प्रतिवेदनअनुसार आव २०७५÷७६ मा काठमाडौंमा १ सय १२, ललितपुर ३० कार्यालय, भक्तपुरमा ३० र काठमाडौं उपत्यकासहित कुल ४९ जिल्लामा ९ सय ८० कार्यालयमा अनुगमन गरेको थियो । जसमध्ये पोसाक र समय पालन नगरेका २ हजार ५ सय ६५ जनालाई पहिलोपटक सचेत गराइएको थियो । त्यसमध्ये १ हजार ७ सय ३७ जनालाई विभागीय कारबाही गरिऐको भनी विभागले केन्द्रमा पत्र पठाएको छ ।
केन्द्रले गरेको अनुगमनमा कार्यालयमा समय पालना भए÷नभएको, तोकिएको पोसाक लगाए÷नलगाएको र नागरिक वडापत्रको अवस्था’bout अनुगमन गरिएको थियो ।
सोही क्रममा ५२ जिल्लाका ९ सय ४१ वटा कार्यालयमा गरेको अनुगमनमा धेरै कार्यालयले नागरिक वडापत्र व्यवस्थित नगरेको र वडापत्र नराखेको पाइएको थियो ।
‘कर्मचारीले नियम पालना नगर्नुलाई सामान्य रूपमा लिन सकिँदैन । कारबाही सिफारिस भएका कर्मचारीलाई कार्यालय प्रमुखले कारबाही नगरेमा कार्यालय प्रमुखलाई नै कारबाही सिफारिस गरिनेछ,’ सहायक प्रवक्ता अर्याल भने ।
धेरै कर्मचारीलाई विभागीय कारबाही भएको र अन्यको हकमा पनि कारबाही भए नभएको छानबिन भइरहेको जानकारी दिए । केन्द्रका सहायक प्रवक्ता अर्यालले बाँकी कारबाहीको सम्बन्धमा विवरण संकलन भइरहेको बताए । कर्मचारीले कार्यालय समयको पालना नगर्दा सेवाप्रवाहमा गम्भीर समस्या पर्ने गरेको अर्यालयले बताए ।
केन्द्रले अनुगमनपश्चात् सम्बन्धित कार्यालयलाई कारबाहीे सिफारिस गर्ने र सम्बन्धित कार्यालयले कारबाही भएको जानकारी केन्द्रलाई गराउनुपर्ने कानुनी प्रावधान छ । काम नगर्ने र समयको पालना नगर्ने कर्मचारीलाई निजामती सेवा ऐनको दफा ५५(क) बमोजिम कारबाही गरिन्छ । प्रावधानअनुसार पहिलोपटक सचेत गराइने र दुईपटकसम्म यस्तो गतिविधि गरेको पाइएमा नसियत दिइने गरिन्छ । जुन कर्मचारीको वृत्ति विकास र सरुवा बढुवासँग प्रत्यक्ष सम्बन्धित रहनेगर्छ ।






