काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । यससँगै देउवालाई पुनः कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार बन्ने अवसर प्राप्त भएको छ ।
कांग्रेस विधानमा ‘दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्न सक्ने’ व्यवस्था छ । दलको नेता चयन प्रक्रियाका लागि बुधबार भएको निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा ६४ मत ल्याउँदै निर्वाचित भएका हुन् ।
संस्थापनइतर समूहबाट उम्मेदवार बनेका कांग्रेस महामन्त्री गगनकुमार थापा भने २५ मत प्राप्त गर्दै पराजित भए । कांग्रेसबाट प्रतिनिधिसभामा ८९ सांसद निर्वाचित भएका थिए । उनीहरू नै संसदीय दलको निर्वाचनमा मतदाता थिए ।
देउवा यसअघि २०७४ मा समेत कांग्रेस संसदीय दलको नेतामा निर्वाचित बनेका थिए । त्यसबखत उनका प्रतिस्पर्धी नेता प्रकाशमान सिंह थिए ।
यसपटक भने सिंहसहित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललेसमेत देउवालाई नै दलको नेतामा सहयोग गरेका हुन् । पौडेल यसपटक देउवालाई दलको नेता बनाउन प्रस्तावक आफैं बनेका थिए ।
यसैगरी, देउवालाई पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री डा. शशांक कोइरालाले समेत साथ दिएका थिए ।
महामन्त्री थापालाई भने दलको नेताका लागि भएको निर्वाचनमा उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा, १४औं महाधिवेशनमा देउवासँग सभापतिको प्रतिस्पर्धामा रहेका डा. शेखर कोइराला र त्यसबखत देउवा समूहबाटै महामन्त्री उम्मेदवार प्रदीप पौडेलले थापालाई साथ दिएका थिए ।
सरकारमा जान्नँ : गगन
संसदीय दलको नेताका लागि भएको निर्वाचनमा पराजित भएपछि महामन्त्री गगन थापाले ‘आफू सरकारमा नजाने’ बताएका छन् ।
दलको नेताका लागि बुधबार भएको निर्वाचन परिणाम सार्वजनिक भएसँगै सञ्चारकर्मीस“ग थापाले ‘मन्त्री बनेर सरकारमा नजाने’ प्रतिक्रिया दिएका हुन् । त्यस क्रममा उनले ‘कांग्रेस संसदीय दलको नेताको नेतृत्वमै सरकार गठन गर्न प्रयास हुनुपर्ने’मा जोड दिए ।
‘सरकारमा अरू साथी जानुहुन्छ, म सरकारमा सहभागी हुन्न“, संसदीय दलको नेताकै नेतृत्वमा सरकार गठन गर्न प्रयास हुनुपर्छ,’ थापाले भने, ‘अर्कोपटक फेरि संसदीय दलको नेता हुन कोसिस गर्नेछु ।’
थापाले ‘आलोपालो सरकार र राष्ट्रपतिको कुरा गर्दा भएका निर्णयमा पनि पार्टीभित्र छलफल हुनुपर्ने’ बताए । बन्दकोठामा भएका छलफल र निर्णय ‘व्यक्तिगत हुने’ भन्दै उनले ती निर्णय मान्न नसकिने स्पष्ट पारे ।
‘चाहे आलोपालो सरकार होस् वा राष्ट्रपतिको कुरा गर्दा, यदि समझदारी हुन्छ र त्यो संस्थागत रूपमा भएको छ भने त्यसलाई कांग्रेसले बोक्छ तर यसअघि जस्तै आलोपालो गर्ने भन्दै बन्दकोठामा केही नेता बसेर गरियो भने त्यस्तो निर्णय कांग्रेसले बोक्दैन,’ उनले भने, ‘त्यसैले पछि गएर कसैले पनि धोका भयो भन्न पाइँदैन ।’
संसद्को ठूलो दल भएकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड दि“दै थापाले ‘अब सरकार बनाउने काम पनि अघि बढ्ने’ बताए ।
पार्टीलाई व्यवधानमुक्त बनाउँछु ः देउवा
संसदीय दलको नेतामा निर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई व्यवधानमुक्त बनाउने प्रतिबद्धता जनाएका छन् । दल नेता निर्वाचित भएपछि उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दि“दै ‘आफू अब पार्टीलाई व्यवधानमुक्त राख्ने काममा लाग्ने’ बताए ।
‘सबैले मलाई विजयी गराउन मद्दत गर्नुभयो, हार्दिक धन्यवाद छ, यो पार्टीलाई राम्रो रूपमा अघि बढाएर आगामी दिन व्यवधानमुक्त राख्नेछु,’ निर्वाचित भएपछि देउवाले प्रतिक्रिया दि“दै भने ।






