पुरानो सञ्चार प्रणालीमा समस्या आएपछि अमेरिकाभर हवाई उडान ठप्प, हजारौँ उडान रद्द

वासिङ्टन । दशकौँ पुरानो सञ्चार प्रविधिमा समस्या आएपछि शुक्रबार अमेरिकाभर केही घण्टाका लागि हवाई उडान रोकिएको छ । यसबाट देशभरका लाखौँ यात्रु प्रभावित भएका छन् भने हजारौँ उडान रद्द भएका छन् ।

सरकारी अधिकारीका अनुसार हवाई यातायात नियन्त्रण प्रणालीमा आएको व्यापक सञ्चार अवरोधका कारण देशभरका विमानस्थलमा उडान रोक्नुपरेको हो । उडानका लागि तयारी अवस्थामा रहेका केही विमानबाट यात्रुलाई अन्तिम समयमा ओरालिएको थियो ।

अमेरिकाको सङ्घीय उड्डयन प्रशासनले करिब चार घण्टापछि उडान रोकसम्बन्धी आदेश हटाएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भने उक्त समस्या कुनै नियोजित आक्रमणका कारण भएको प्रमाण नरहेको जनाएको छ ।

यातायातमन्त्री सन डफीले दशकौँ पुरानो प्रणाली, पुराना स्विच, राउटर तथा सन् १९८० को दशकका तामाका तार प्रयोग भइरहेकाले समस्या उत्पन्न भएको बताए । उनले पुरानो प्रणालीमा अत्यधिक भार परेपछि देशभर सञ्चार सेवा अवरुद्ध भएको जानकारी दिए ।
डफीले हवाई यातायात नियन्त्रण प्रणाली आधुनिकीकरण गर्न अमेरिकी संसद्सँग ३० अर्ब १० करोड अमेरिकी डलर बजेट माग गरेका छन् ।

उडानसम्बन्धी तथ्यांक राख्ने संस्था फ्लाइटअवेयरका अनुसार यस घटनाका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय गरी करिब छ हजार उडान रद्द भएका थिए । विमानस्थलहरूमा यात्रुको भीड बढेको थियो भने धावनमार्ग र विमानस्थल परिसरमा विमानहरू रोकिएका थिए ।

न्युयोर्कको लागार्डिया विमानस्थलमा यात्रु टियारा जोन्सनले ओर्लान्डो जाने आफ्नो उडान पटक–पटक सारिएको बताए । सुरुमा बिहान ७ः५५ बजे भनिएको उडानको समय पटक–पटक परिवर्तन हुँदै १०ः३० बजे पु¥याइएको थियो ।

अमेरिकी अधिकारीहरूले उक्त घटना साइबर आक्रमण वा कृत्रिम बौद्धिकतासँग सम्बन्धित नभएको स्पष्ट पारेका छन् । यसअघि सन् २०२३ मा पनि सूचना प्रणालीमा समस्या आएपछि अमेरिकाभर उडान प्रभावित भएको थियो । सन् २००१ को सेप्टेम्बर ११ को आतंकवादी आक्रमणपछि भने पहिलो पटक यति व्यापक रूपमा हवाई सेवा रोकिएको थियो ।

उडान अवरुद्ध भएपछि यात्रुहरू वैकल्पिक यातायात खोज्न बाध्य भएका थिए । कतिपयले गाडी भाडामा लिन लामो समय लाइन बस्नुपरेको थियो भने कतिपयले थप एक रात विमानस्थल नजिकै बिताउनुपरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

पुरानो सञ्चार प्रणालीमा समस्या आएपछि अमेरिकाभर हवाई उडान ठप्प, हजारौँ उडान रद्द