चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) अहिले आएर युरोप, अमेरिका हुँदै संसारभर महामारीका रूपमा फैलिएको छ । विश्वमा अहिले यो संक्रमणले २ लाख २० हजार ६ सय ९१ जना प्रभावित छन् । १ सय ५९ देशमा यो फैलिएको छ । ८४ हजार १ सय ६१ जना उपचारपश्चात् घर फर्केका छन् । १ लाखभन्दा बढी उपचाररत छन् । हालसम्म विभिन्न देशमा गरी ८ हजार ९ सय ५७ जनाले ज्यान गुमाइसकेका छन् । नेपालसँग आँठो जोडिएको सहयात्री भारतमा पनि कोरोना प्रकोप प्रवेश भएसँगै नेपाल पनि अब त्यसबाट अछुतो रहन सक्ने कुरो भएन । यही शाश्वत सत्यलाई आँकलन गरी नेपाल सकारले गत फागुन २० गते एक सार्वजनिक सूचना प्रवाह गरी विद्यालयस्तरका परीक्षा चैत्र ५ गतेभित्र सक्न निर्देशन जारी गरेर जनताप्रतिको उत्तरदायित्व निर्वाह गरेको थियो । तर, कक्षा १० को एसईई परीक्षाका हकमा भने हुन्छ, हुँदैन अन्योल थियो । आमअभिभावक चिन्तित थिए । विद्यार्थी पनि परीक्षा केन्द्रमा पुुगे पनि छिमेकी देशमा यसले पारेको प्रभावका कारण अन्यमनस्क अवस्थामा थिए । त्राहीत्राहीका बीच परीक्षा दिनुपर्ने बाध्यता थियो । यसैबीच चैत्र ५ गते उपप्रधानमन्त्री ईश्वर पोखेलको नेतृत्वमा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बसी कोरोनाबाट बच्न, बचाउन आमजनसमुदायलाई अन्य उपायसमेत सुुझाएको छ । एसईई पनि स्थगित गरेको छ । सरकार हुनु र देखिनुमा फरक छ । यसपटक सरकार जनतामा देखिएको छ । यो सकारात्म पक्ष हो ।
एसईई स्थगित हुँदैमा आकाश खस्दैन : नेपालीमा एउटा उखान छ–‘छ बेला लाउँछ घाम, बाँच्दै रहे नाँच्दै रहुँला ।’ अहिले महामारीको सम्भावना बढेको छ । कोरोना भित्रिएपछि उपचार गर्नु भनेको हाम्रोजस्तो देशमा सम्भावनाभन्दा परको विषय हो । तसर्थ, पूर्वसावधानी अपनाउन जरुरी छ । सरकारले यसै कुरालाई मध्यनजर गरी हुलमुल नगर्न, हातमुख धुन, साबुनपानीको प्रयोग गर्न, मास्क लगाउन, रुघाखोकी लागेमा सचेत भई उपचार गर्न अपिल गरेको छ । भिडभाडका कारण भाइरस संक्रमण हुनसक्ने सम्भावनालाई निस्तेज पार्न अर्को व्यवस्था नभएसम्मका लागि एसईई परीक्षा स्थगित गरेर जनउत्तरदायी सरकारका रूपमा प्रस्तुत भएको छ । तर, यस कुरालाई मनन नगरी परीक्षा सारिएकोमा सरकारको विरोध गर्ने गरिएको पनि पाइन्छ । व्यक्तिको स्वास्थ्यभन्दा परीक्षा ठूलो विषय हुनै सक्दैन । स्वास्थ बिग्रियो भने पुनसर््थापना हुन कठिन हुन्छ तर परीक्षा आगामी दिनमा पनि दिन सकिन्छ । तसर्थ, सरकारको यो निर्णयको अतिरञ्जित गरी विरोध गर्नुको खासै तुक देखिँदैन । न गतिला अस्पताल, न प्रयोगशाला । न अनुुभवी चिकित्सक न बिरामी राख्ने बेडको पर्याप्तता । सुत्केरी हुने महिलासमेत बेड नपाएर करिडोरमै बच्चा जन्माउनुपर्ने अवस्थाका हाम्रा अस्पतालले कोरोना लागिहालेछ भने उपचार दिन सक्लान् भनेर विश्वास गर्न सकिने अवस्था छैन । यसको विकल्पमा पूर्वसतर्कता नै उपयुक्त कडी हुन सक्छ । यसकारण एसइई सारिनु अहिलेको अवस्थामा अन्यथा होइन ।
विगतकै निरन्तरता : यसपटक ४ लाख ८२ हजार ७ सय ७ जना परीक्षार्थी एसईईमा सम्मिलित हुँदै थिए । यसका लागि सरकारले १ हजार ९ सय ९५ परीक्षा केन्द्र कायम गरेको थियो । करिब ५१ लाख प्रश्नपत्र परीक्षा केन्द्रका नजिकका प्रहरी चौकीमा सुरक्षित छन् । तर, महामारी फैलिने सम्भावनालाई रोक्नका लागि परीक्षा स्थगित भयो । ‘एसएलसीको इतिहास’ पुस्तकमा लेखक प्रकृति अधिकारीले भनेअनुसार एसईई यसपटक मात्र स्थगित भएको हैन । पहिलोपटक एसएलसी सुरु हुँदा १९९० सालमा पनि भूकम्पको कारण परीक्षा स्थगित भएको थियो । १९९० को माघमा हुने परीक्षा भूकम्पको कारण १९९१ को वैशाखमा सारिएको थियो । २००३ सालमा पुस १७ गते विराटनगरका विद्यार्थीलाई वीरगन्ज केन्द्र कायम गरेकाले त्यो बेला पुस १७ गते हुने भनिएको परीक्षा पुस २४ मा लिइएको थियो । अधिकारीले २००५ सालमा प्रधानमन्त्री मोहनशमशेरको जन्मदिन परेकाले इतिहास विषयको परीक्षा स्थगित भएको उल्लेख गरेका छन् । एसएलसी २००८ सालमा पनि सरेको थियो । २०२५ सालमा प्रश्नपत्र बाहिरिएकाले पनिकामा आगजनीसमेत भई परीक्षा स्थगन भएको थियो । शैक्षिक सत्र परिवर्तन भएकाले २०५४ र २०५५ सालको परीक्षा २०५५ सालमा भएको थियो । गत वर्षको प्रदेश नम्बर २ मा प्रश्नपत्र बाहिरिएकोले अनिवार्य विषयको परीक्षा पुनः गरिएको थियो ।
कोरोना भित्रिएपछि मात्र उपचार गर्नु भनेको हाम्रोजस्तो देशमा सम्भावनाभन्दा परको विषय हो
सरकारी प्रयास : सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन निषेध गरेको छ । सार्वजनिक यातायतामा सिट संख्याभन्दा बढी यात्रु नओसार्न तथा सवारी साधन, होटल, रेस्टुरामा विशेष सरसफाइ गर्न सुुझाएको छ । आवतजावत कम गर्न आम नागरिकमा अपिल गरेको छ । युरोप, पश्चिम एसियासहित खाडी मुलुकबाट आउन प्रतिबन्ध लगाएर राम्रो काम गरेको छ । बाल विकास केन्द्रदेखि विश्वविद्यालय तहसम्मको पठनपाठन आगामी चैत्र मसान्तसम्म बन्द गर्न भनेको छ । एसईई स्थगित भई नै सक्यो । सर्वसाधारणलाई भ्रम पार्ने गरी समाचार दिए
कारबाही गरिनेजस्ता उपाय अवलम्बन गर्ने निर्णय गरेको छ । यसले गर्दा सरकारसँग जे क्षमता छ, त्यसको उपयोग गर्न ऊ चुकेको छैन भन्ने देखिन्छ । सरकारको आग्रहलाई अतिरञ्जित वा व्यंग्य नगरी कार्यान्वयन गर्नु अहिले हरेक नागरिकको कर्तव्य हो । यसका अलावा क्वारेन्टाइन स्थलको निर्माणमा पनि कतिपय अस्पताल जुटेका छन् । यसलाई पनि पूर्वतयारीका रूपमा लिन सकिन्छ । नेपाल टेलिकमले मोबाइल रिङटोनमा कोरोनाविरुद्ध सचेतनामूलक सन्देश राखेर आमजनतालाई सुसूचित गराएको छ । विपद्को पूर्वसन्ध्यामा सबै तह र तप्का मिलेर सतर्कता अपनाउनु सबैका लागि श्रेयष्कर नै हुन्छ ।
आगामी नीति : सरकार छ भनेर मात्र हुँदैन । भएको जस्तो देखिनुपर्छ । विपद्का तीन चरण हुन्छन् ः विपद्पूर्व, विपद्को बेला र विपद्पश्चात् । यी तीनवटै चरणका लागि सरकार तयार हुनुपर्छ । आफूलाई सकेसम्म सबै तरहबाट सक्षम र सबल बनाउन जरुरी छ । यसका लागि सम्भावनाका सबै ढोका खुला गर्नुपर्छ । अहिले लगभग सरकार आफूलाई तयारी अवस्थामा राखेको देखिएको छ । अहिलेको छिमेकी देशमा फैलिएको कोरोना महामारी र हामीकहाँ देखिएको मनोवैज्ञानिक त्रासका बीच सरकारले आफ्नो सम्पूर्ण क्षमता यसको रोकथामका लागि प्रदर्शन गर्नुपर्दछ । छिद्रान्वेसी कुरामा अत्तो नथापिकन आमराजनीतिक दल र जनताले पनि सरकारी प्रयासलाई सार्थक पार्न जोड दिनुपर्छ । अझै पनि संस्थागत विद्यालयको संगठन प्याब्सन र एन प्याब्सनले सरकारको नीति अवज्ञा गरेर परीक्षा लिइरहेका छन् । त्रिविले पनि परीक्षा रोकेको छैन । ठूलै जमघट हुने प्रतिनिधिसभा एक साताका लागि मात्र स्थगित गरिएको छ । राष्ट्रियसभा चलिरहेकै छ । यसबाट सरकारको नीति र निर्देशन पालना भएको देखिँदैन । आमजनताको सवालमा यसप्रकारको मनपरी गर्ने छुट कसैलाई पनि हुनुहुँदैन ।
यही मौकामा कालोबजारिया सल्बलाएका छन् । मास्कमा भएको कालोबजारी सरकारले देखिसकेको छ । बजारमा ग्याँसको कृत्रिम अभाव छ । कैयांै ट्रक मास्क जफत गरिएको छ । आपतका बेला कालो बजार गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेउपर सरकार निर्दयी बन्नैपर्छ । यसका लागि बजार अनुुगमन बढाउनुपर्छ । विगतमा चुनावी बेला टिसर्ट र क्याप बाँड्ने राजनीतिक दलले गरिब गुरुबालाई मास्क वितरण गर्दा जनता लाभान्वित हुन्थे । उनीहरूको ध्यान यतातर्फ पनि जान जरुरी छ ।






