निजामती सेवामा वृत्तिविकास

वृत्तिविकास : आधुनिक सार्वजनिक प्रशासनमा नागरिकलाई प्रभावकारी एवं प्रतिस्पर्धात्मक सार्वजनिक सेवाप्रवाह गर्न प्रतिभावान् कर्मचारीलाई आर्कषण गर्ने र अड्याउने कर्मचारी नीतिले प्राथमिकता पाएको देखिन्छ । सार्वजनिक सेवामा प्रवेश गरेका कर्मचारीलाई कामप्रति उत्प्रेरित गर्न र सेवामा टिकाई राख्न वृत्तिविकासको महत्वपूर्ण भूमिका रहन्छ ।

वृत्तिविकास वृत्ति चयनबाट सुरु हुन्छ । वृत्ति छनोट व्यक्तिको चाहना हो । वृत्ति छनोट गर्दा व्यक्तिलाई सदैव वृत्तिबाट प्राप्त हुने पारिश्रमिक, वृत्तिसेवाको स्थायीत्व र सेवाप्रवेश गरेपछि हुने पदोन्नति वा उन्नति तीन सूचकले निर्देश गरेका हुन्छन् । सार्वजनिक सेवामा काम गर्छु भनेर कुनै व्यक्तिले रोज्दछ भने त्यो उसको इच्छा हो । सार्वजनिक सेवामा प्रवेश गर्न उसले स्थापित विधि र प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

सार्वजनिक सेवा अर्थात् निजामती सेवा वृत्ति सेवा हो । सार्वजनिक सेवामा प्रवेश गर्न लोक सेवा आयोगका मेरिट प्रणालीमा सञ्चालन भएका छनोट परीक्षाहरू उत्तीर्ण हुनुपर्छ । सार्वजनिक सेवा प्रवेशबाट वृत्ति सुरु हुन्छ । हरेक कर्मचारी सेवाको सम्पति मानिन्छ । कर्मचारीले सेवा प्रवेश गरेको दिनबाट नै वृत्तिविकास आरम्भ हुन्छ । पारिश्रमिक, अनुभव र पदोन्नति वृत्तिविकासका मूलभूत पक्षहरू हुन् । कर्मचारीले संगठनमा हाजिर गरेको दिनदेखि जिम्मेवारी, अधिकार र पारिश्रमिक पाउँछ । त्यो नै वृत्तिविकासको आरम्भ बिन्दु हो ।

सेवामा प्रवेश गरेपछि कर्मचारीलाई काम र अधिकार’bout जानकारी दिइएको हुन्छ । जिम्मेवारी पाएसँगै उसले काम गर्ने अधिकार पाउँछ । संगठनमा बसेर काम गर्दै जाँदा विभिन्न स्थानमा सरुवा हुँदै नयाँ नयाँ काम गर्ने अवसर पाउँछ । थरिथरीका सेवाग्राहीहरू भेट्छ । विभिन्न समस्या र चुनौतीको सामना र समाधान गर्दछ । कामको सिलसिलामा तालिम लिन्छ । जसबाट कर्मचारीको पेसागत (प्रोफेसनल) क्षमता र ज्ञान विस्तार हुँदै र खारिँदै पनि जान्छ ।

प्रवेश गरेको तहबाट पदोन्नति हुनु ठाडो उन्नति हो भने प्रोफेसनल क्षमता, विशेषज्ञता बढ्नु समतल उन्नति हो । पदोन्नतिले कर्मचारीको मान, जिम्मेवारी, अधिकार, पारिश्रमिक र सुविधा वृिद्ध हुन्छ भने विशेषज्ञताले कर्मचारीकोे अलग्गै पहिचान बन्दछ । सेवामा रहँदा कर्मचारीको क्षमता, अनुभव, ज्ञान विस्तार हुनु वृत्तिविकासको समतल (होरिजन्टल) उन्नति हो भने पदोन्नति हुनु ठाडो (भर्टिकल) उन्नति हो ।

निजामती सेवामा वृत्तिविकासका साथै तालिमलाई विशेषज्ञता विकासको मेरुदण्डका रूपमा स्थापित गर्नुपर्छ

वृत्ति लक्ष्य, वृत्ति योजना र वृत्तिपथ : कर्मचारीको वृत्तिविकासमा वृत्तिविकासप्रतिको स्वज्ञान, उपयुक्त वृत्तिको खोजी, वृत्ति प्रवेशको निर्णय र कर्म गर्नु चार चरण हुन्छन् । वृत्तिविकासमा वृत्ति लक्ष्य, वृत्ति योजना, वृत्ति पथ, वृत्ति शिक्षा र वृत्ति काउन्सेलिङको महत्वपूर्ण भूमिका रहन्छ । संगठनमा प्रवेश गरेपछि आप्mनो योग्यता र क्षमताले भ्याएसम्म पदोन्नति र प्रोफेसनालिज्मको विकास गर्ने विषय वृत्ति लक्ष्य हो । वृत्ति योजना वृत्ति लक्ष्य प्राप्त गर्ने कार्यक्रम र प्रयास हो । वृत्ति पथ व्यक्तिगत क्षमता विस्तार र पदोन्नतिको लागि यात्रा गर्ने क्रमबद्ध प्रक्रिया हो ।

कतिपय अवस्थामा वृत्तिविकास सोझो पथबाट भइरहेको हुँदैन । वृत्तिपथमा आउने बाधा व्यवधानबाट कर्मचारी विचलित नहोस् र वृत्तिविकास प्राप्त गरोस् भन्ने उद्देश्यले वृत्ति शिक्षा र काउन्सेलिङ दिने गरिन्छ । वृत्ति शिक्षा, वृत्ति सूचना र वृत्ति काउन्सेलिङ अर्थपूर्ण भूमिका रहन्छ । कर्मचारीको वृत्तिविकासमा पदस्थापन, सरुवा, पदोन्नति, कार्य विस्तार (जब इनलाज्मेन्ट), कार्य जिम्मेवारीको अदला बदली (जब रोटेसन), कार्य संवद्र्धन (जब इनरिचमेन्ट), कार्य निर्देशन (मेन्टोरिङ), तालिम, कार्य वातावरण, मानव संसाधन विकास केन्द्र तथा उत्तराधिकारी योजना जस्ता तत्वको वृत्तिविकास कार्यक्रममा महत्वपूर्ण भूमिका रहन्छ ।

वृत्तिविकासको महत्व : संगठनमा वृत्तिविकासको अलग्गै महत्व रहेको हुन्छ । वृत्तिविकासको मुख्य उद्देश्य सेवामा प्रतिभावान् व्यक्तिलाई प्रवेश गराउनु र अड्याइराख्नु हो । मुख्यरूपमा वृत्तिविकासले कर्मचारीको कार्यसम्पादन क्षमता बढाइ मनोबल उच्च राख्दछ । कर्मचारीको क्षमता वर्तमान र भविष्यको आवश्यकता पूरा गर्न पर्याप्त हुन्छ । वृत्तिविकास सुनिश्चित देखेमा कर्मचारी संगठन छोडेर अन्त जान चाहँदैन । उत्प्रेरित र संगठनप्रति समर्पित हुन्छ । संगठनले कर्मचारीको क्षमताको भरपुर सदुपयोग गरेर उत्पादकत्व र उत्पादन दुवै वृद्धि गर्न सक्छ । आधुनिक संगठनमा प्रतिभावान् व्यक्तिलाई सेवामा आकर्षित गर्ने र टिकाइरहने तत्व नै वृत्तिविकास हो । पारिश्रमिक कर्मचारीलाई काम गर्न उत्प्रेरित गर्ने प्रमुख तत्वमा पर्दछ भने समतल वा ठाडो उन्नति पनि काम गर्ने जिम्मेवारी लिने प्रेणाका स्रोत हुन् ।

कर्मचारीको वृत्तिविकासमा वृत्तिविकासप्रतिको स्वज्ञान, उपयुक्त वृत्तिको खोजी, वृत्ति प्रवेशको निर्णय र कर्म आदि चार चरण हुन्छन्

वृत्तिविकासको जिम्मेवारी : वृत्तिविकासमा कर्मचारी तथा संगठनको समान जिम्मेवारी रहेको हुन्छ । संगठनको पक्षबाट हेर्दा मानव संसाधन व्यवस्थान प्रणाली तथा कर्मचारी नीति वृत्तिविकासको मेरुदण्ड हो । कर्मचारी नीतिअनुसार कर्मचारीको पदस्थापन, सरुवा, बढुवा, कार्यसम्पादन मूल्यांकन, काम र जिम्मेवारीमा अदला बदली, तालिम, चुनौतीपूर्ण काममा संलग्नता तथा उत्तरधिकारी योजना सञ्चालन हुने गर्दछन् । कर्मचारीले आप्mनो रुचिअनुसार वृत्ति विकासका लागि सक्रिय र सहभागी बन्ने गर्दछ । संगठनले वृत्तिविकास, पुरस्कार वितरण तथा कार्य जिम्मेवारीको बाँडफाँडमा अस्वाभाविक व्यवहार वा भेदभाव गरेको अवस्थामा कर्मचारी निराश बन्न पुग्दछ । निष्पक्ष एवं पारदर्शीरूपमा वृत्तिविकास अवसर वितरण गर्नुपर्छ । संगठनले उपलब्ध गराएको वृत्ति अवसरबाट लाभ लिन नसक्ने कर्मचारीप्रति संगठन सहयोगी नहुन सक्छ । संगठनले वृत्तिविकासका लागि भर्टिकल तथा होरिजेन्टल अवसर सिर्जना गर्ने, कर्मचारीको वृत्ति लक्ष्य र संगठनको लक्ष्यबीच सम्बन्ध स्थापित गर्ने, कार्य वातावरण राम्रो बनाउने तथा पारिश्रमिक अन्य संगठन वा सेवासँग प्रतिस्पर्धी बनाउनुपर्दछ भने कर्मचारी आप्mनो वृत्तिविकासका लागि इमानदार र प्रतिबद्ध हुनुपर्दछ ।

निजामती सेवामा वृत्तिविकास : निजामती सेवा एक वृत्तिसेवा हो । देशको प्रशासन सञ्चालन गर्न निजामती सेवा गठन, सञ्चालन र सेवाका सर्तहरू तथा निजामती कर्मचारीको व्यवस्थापन र सञ्चालन गर्न निजामती सेवा ऐन रहेको छ । ऐनले कर्मचारी प्रशासनसम्बन्धी कार्य गर्न एक केन्द्रीय निकायको व्यवस्था गरेको छ । कर्मचारीको नियुक्तिका लागि योग्य उम्मेदवारको सिफारिस गर्न नेपालको संविधानमा नै लोक सेवा आयोगको व्यवस्था गरिएको छ । आयोगले मेरिट सिद्धानअनुसार योग्य उम्मेदवार छनोट गरी नियुक्तिका लागि नेपाल सरकारसमक्ष पठाउँछ । आयोगबाट सिफारिस व्यक्तिलाई सरकारले नियुक्ति दिई काममा लगाउने गर्दछ । निजामती सेवा ऐनले सेवाको सुरक्षा, कर्मचारीको बचाउ तथा सेवा, सर्त र सुविधा कर्मचारीलाई मर्का पर्नेगरी परिवर्तन नगर्ने सुनिश्चितता प्रदान गरी वृत्तिविकासलाई महत्व दिएको छ ।

पदस्थापन, सरुवा, कार्यसम्पादन मूल्यांकन र पदोन्नति : नियुक्तपछि निज कर्मचारीको शैक्षिक योग्यता, तालिम र अनुभवका आधारमा पदस्थापन गरिन्छ । पदस्थापन भएपछि कर्मचारीलाई पदअनुसारको जिम्मेवारीसहितको कार्यविवरण र अधिकार प्राप्त हुन्छ । समय समयमा विभिन्न निकाय तथा भौगोलिक क्षेत्रको अनुभव दिलाउने गरी कर्मचारीको सरुवा गर्ने गरिन्छ । कर्मचारीले तोकिएको जिम्मेवारी पूरा गर्न अधिकारको प्रयोग गर्दछ । कर्मचारीले सम्पादन गरेको कामको वार्षिकरूपमा मूल्यांकन गरिन्छ । कार्यसम्पादन मूल्यांकन नै कर्मचारीको पदोन्नतिको आधार हो । निजामती सेवा ऐनमा प्रतिस्पर्धात्मक परीक्षा पास गरेर, कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा बढी अंक ल्याएको आधारमा बढुवा हुने व्यवस्था रहेको छ । बढुवा भएपछि कर्मचारीको मानसम्मान, जिम्मेवारी, अधिकार, पारिश्रमिक र सुविधा वृद्धि हुन्छ ।

पारिश्रमिक, पेन्सन, विदा, पुरस्कार र अन्य सुविधाहरू : निजामती सेवा ऐनले कर्मचारीको आर्थिक स्वतन्त्रता अभिवृद्धि गर्न तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न पर्याप्त आर्थिक व्यवस्था गरेको छ । कर्मचारीले हाजिर गरेका दिनदेखि तलब पाउनेछ । कर्मचारीले सञ्चय कोष, बिमा, पेन्सन, उपदान, उपचार खर्च, काज भ्रमण, शैक्षिक वृत्ति जस्ता सुविधा पनि पाउँछ । यसैगरी कर्मचारीले वर्षको एक महिनाको तलब चाडबाड मनाउन पाउने गर्दछ । कार्य सम्पादनका आधारमा पुरस्कार पाउने व्यवस्था पनि छ । साथै, निजामती कर्मचारीले कामबाट अलग रही चंगा हुन तथा परिवारसँग रमाइलो गर्न विभिन्न खालका विदा पाउने व्यवस्था पनि ऐनमा रहेको छ ।

सेवा तथा पदको सुरक्षा : निजामती सेवा ऐनले कर्मचारीको सेवा र पदको सुरक्षा गरेको छ । विदामा बसेको अवधि, निलम्बन भएको अवधि, काजमा बसेको अवधि, सरुवा भएर जाँदाको अवधिभर निजामती कर्मचारीको पदमाथिको अधिकार सुरक्षित भइरहन्छ । सेवा सुरक्षित हुने र सेवाका सर्त तथा सविधाहरू कर्मचारीलाई प्रतिकूल पर्नेगरी परिवर्तन नगर्ने व्यवस्था समेत ऐनमा छ । नैतिक पतन हुने कार्य तथा आचरणको उलंघन नगरेसम्म कर्मचारीलाई सेवाबाट नहटाउने व्यवस्था पनि ऐनमा छ । त्यस्तै, कर्मचारीले आप्mनो ओहोदाको कर्तव्य पालना सम्झी गरेको कामका आधारमा मुद्दा नचलाउने प्रतिबद्धता ऐनले गरेका कारण निजामती कर्मचारी निर्धक्क र उच्च मनोबलका साथ काममा जुटेको हुन्छ ।

प्रोफेसनल क्षमता विकासका लागि सेवा, समूह, तालिम तथा अध्ययन भ्रमण : प्रोफेसनल दक्षता र क्षमता अभिवृद्धि वृत्तिविकासको महत्वपूर्ण पाटो हो । निजामती सेवामा विशेषज्ञता अभिवृद्धि गर्नु होरिजेन्टल वृत्तिविकास हो । निजामती सेवामा १० वटा सेवा तथा सेवाभित्र विभिन्न समूह, उपसमूह रहेका छन् । सेवाका पदमा मात्र पदस्थापन हुने, सरुवा गर्ने तथा पदोन्नति हुने व्यवस्था विशेषज्ञता विकासको आधार हो । यसले कर्मचारीको अनुभवका साथै कार्यसम्पादन सीप विकास गर्दछ । सरकारले कर्मचारीको क्षमता अभिवृद्धि गर्न स्टाफ कलेजको व्यवस्था गरेको छ । स्टाफ कलेजले सेवाप्रवेश गरेदेखि मध्यकालीन सेवा अवधि तथा उच्च सेवा तहका लागि तहगतरूपमा तालिम दिने गर्दछ । सेवा समूहको आवश्यकताअनुसार कर्मचारीको ज्ञान अभिवृद्धि गर्न स्वदेश तथा विदेशमा अध्ययन गर्न पाउने सुविधा पनि ऐनमा छ । तालिम तथा अध्ययनका लागि विदेशी छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था र अवसरसमेत पाउनाले निजामती कर्मचारीले आप्mनो प्रोफेसनल पहिचान बनाउन सकेको देखिन्छ ।

वृत्तिविकासमा अनुभूत समस्याहरू : निजामतीमा ऐनको कार्यान्वयन हु–बहु हुन नसक्नु नै वृत्तिविकासको सबैभन्दा ठूलो बाधक हो । ऐनमा व्यक्त भएबमोजिम शैक्षिक योग्यता, तालिम र अनुभवको आधारमा पदस्थापन, भौगोलिक क्षेत्रको अनुभव दिलाउने गरी सरुवा कहिल्यै हुन सकेन । पदोन्नतिका लागि महत्वपूर्ण मानिने कार्यसम्पादन मूल्यांकनमा सुपरीवेक्षकले सबै कर्मचारीलाई बराबर अंक दिने प्रवृत्तिले कार्य सम्पादन मूल्यांकनको मूल्य जिरो बनाएको छ । जसले गर्दा काम गर्ने काम नगर्ने दुवै बढुवामा समान प्रतिस्पर्धी हुने स्थिति छ । एकातर्फ सरुवा र पदोन्नति अनुमान योग्य बनाउन सकिएको छैन भने अर्कोतर्फ पदोन्नतिलाई मात्र वृत्तिविकास मान्ने प्रवृत्ति निजामती सेवामा रहेको छ । निजामती सेवामा कसैको बारम्बार सरुवा भइरहेको हुन्छ भने कसैको प्रायः हुँदै हँुदैन । कसैलाई सचिव बन्न प्रदेश सरकारको सेवामा काम गर्न जानुपर्दछ भने कसैलाई नगए पनि हुन्छ । त्यस्तै, सेवामा कसैको छिट्टै बढुवा हुन्छ कसैको वर्षांैसम्म पनि हँुदैन । यस प्रकारको भेदभावपूर्ण व्यवहारले कर्मचारीको उत्प्रेरणामा नकारात्मक असर पर्ने गरेको पाइन्छ ।

निजामती सेवामा भर्टिकलबाहेक होरिजेन्टल वृत्तिविकासलाई खासै महत्व नदिँदा तालिमको महत्व संगठन तथा कर्मचारी दुवैलाई छैन । बढुवा प्रयोजनका लागि तालिम लिनेबाहेक तालिमको प्रयोजन देखिँदैन । तालिम तालिमका लागि मात्र सीमित छ । पेसागत दक्षता अभिवृद्धि गर्न बनाइएका सेवा समूह सक्नेवालाले परिवर्तन गर्ने हिड्ने गरेको पाइन्छ । कुनै सेवामा छिटो बढुवा कुनैमा ढिलो बढुवा हुने कारण पनि सेवासमूहको निर्माणले अपेक्षा गरे जस्तो प्रोत्साहन दिन सकेको देखिँदैन । निजामती सेवाको तलब पनि आर्कषक छैन । तलब सार्क देशका सरकारी कर्मचारी तथा स्वदेशभित्रै पनि निजी क्षेत्रको भन्दा पनि कम छ । पुरस्कार वितरण प्रोक्सिमिटी सिद्धान्तमा वितरण हुने कारण यसले वृत्तिविकासमा खासै अर्थ राख्दैन ।

वृत्तिविकास निरन्तर चल्ने प्रक्रिया हो । सार्वजनिक सेवामा प्रतिभावान् व्यक्तिको खोजी, संगठनमा ज्ञान व्यवस्थापनको चासो तथा सूचना प्रविधिको प्रयोग बढ्दो छ । निजामती सेवामा बजारका प्रतिभावान् व्यक्तिलाई आकर्षित गर्न पारिश्रमिक आर्कषक हुनुपर्छ भने पदोन्नतिलाई पनि अनुमान योग्य बनाउनुपर्छ । सरुवा कर्मचारीको ज्ञान र अनुभव आर्जन गर्ने स्रोतका रूपमा हुनुपर्दछ भने वृत्तिविकासमा संगठनको असमान व्यवहार ग्राह्य हँुदैन । निजामती सेवामा समतल वृत्तिविकासको महत्व पनि बढाउँदै जानुपर्छ र तालिमलाई विशेषज्ञता विकासको मेरुदण्डका रूपमा स्थापित गर्नुपर्छ । अन्तमा वृत्तिविकासमा संगठनको र कर्मचारी आआफ्नै भूमिका रहने भएकाले वृत्तिविकासमा दुवै समानरूपमा जिम्मेवार पनि बन्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 1,450 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी प्रभावित बालबालिकाको संरक्षणका लागि परिषद् र एमआईटी ग्रुप फाउन्डेसनबीच समझदारी