भिडियो निर्माणदेखि विज्ञापन व्यवस्थापन र उपभोक्ता प्रतिक्रिया विश्लेषणसम्म एउटै प्लेटफर्ममा

काठमाडौं । नेपाली प्रविधि उद्यमीहरूले विकास गरेको कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मार्केटिङ प्लेटफर्म विदेशी बजारमा विस्तार गर्ने तयारी गरेका छन् । फिक्रा भेन्चर्सले भिडियो निर्माणदेखि सामाजिक सञ्जाल व्यवस्थापन, डिजिटल विज्ञापन र उपभोक्ताको प्रतिक्रिया विश्लेषणसम्मका काम एउटै प्रणालीबाट गर्न सकिने प्लेटफर्म विकास गरिरहेको जनाएको छ ।

कम्पनीका अनुसार प्लेटफर्मले व्यवसायलाई मार्केटिङ सामग्री निर्माण, सामाजिक सञ्जालमा प्रकाशन, विज्ञापन सञ्चालन, त्यसको प्रभाव मापन तथा उपभोक्ताबाट प्राप्त प्रतिक्रियाका आधारमा अर्को सामग्री तयार गर्न सहयोग गर्नेछ । विशेषगरी साना तथा मझौला व्यवसायलाई लक्षित गरी प्लेटफर्म विकास गरिएको कम्पनीले जनाएको छ ।

फिक्रा भेन्चर्सको एआई भिडियो निर्माण उपकरण ‘फिक्राजेन’ ले सामान्य विचार वा स्क्रिप्टबाट व्यावसायिक भिडियो तयार गर्न सहयोग गर्ने कम्पनीको दाबी छ । प्रयोगकर्ताले स्क्रिप्ट र भ्वाइसओभर स्वीकृत गरेपछि भिडियो तयार गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यसको एआई इन्जिनले भिडियोका लागि आवश्यक डिजाइन र एनिमेसन स्वचालित रूपमा तयार गर्छ । ब्रान्ड किट, बहुभाषिक भ्वाइसओभर, व्यक्तिगत आवाजको क्लोनिङ, वेबसाइट क्याप्चर, क्याप्सन, विभिन्न स्क्रिन आकारअनुसार भिडियो तथा दृश्यस्तरको सम्पादन सुविधा यसमा समावेश गरिएको छ ।

फिक्रा भेन्चर्सले सामाजिक सञ्जाल व्यवस्थापनका लागि ‘फिक्रासोसल’ विकास गरेको जनाएको छ । यसबाट सामाजिक सञ्जालका अकाउन्ट जोड्ने, सामग्री प्रकाशन तथा समय निर्धारण गर्ने र कमेन्ट, सन्देश तथा प्रतिक्रियाको विश्लेषण गर्न सकिनेछ ।

एआईमार्फत उपभोक्ताको भावना, उद्देश्य र दोहोरिने विषय पहिचान गर्न सकिने कम्पनीको दाबी छ । डिजिटल विज्ञापनतर्फ लक्षित ग्राहकसम्म विज्ञापन पुर्‍याउने, त्यसबाट आएका ग्राहक तथा बिक्रीको मापन गर्ने, लगानीअनुसारको प्रतिफल विश्लेषण गर्ने र विभिन्न विज्ञापन सामग्रीको तुलनात्मक परीक्षण गर्ने सुविधा विकास गरिँदै छ ।

कम्पनीले विज्ञापन वा सामाजिक सञ्जालमा प्राप्त प्रतिक्रियालाई अर्को सामग्री निर्माणको आधार बनाउने प्रणाली विकास गरिरहेको जनाएको छ । यसलाई कम्पनीले निरन्तर सुधारमा आधारित ‘क्लोज्ड लुप’ कार्यप्रणाली भनेको छ ।
नेपालमा विकास भएको एआई प्रविधिलाई नेपाली व्यवसायमा मात्र सीमित नराखी विदेशी बजारमा समेत पुर्‍याउने लक्ष्य फिक्रा भेन्चर्सले लिएको जनाएको छ । कम्पनीले अंग्रेजीबाहेक अरबीसहित अन्य प्रमुख अन्तर्राष्ट्रिय भाषामा सामग्री निर्माण र भ्वाइसओभर सुविधा विस्तार गर्ने योजना बनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

epaper

ताजा समाचार

चित्रगुप्त र चित्रांश समाजद्वारा बाढीपीडितलाई सहयोग