सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले खुम्बु क्षेत्रमा जलवायु न्यायका लागि रणनीतिक कार्यक्रम अघि सार्नु निकै सकारात्मक र स्वागत योग्य छ । सो गाउँपालिकाको सिको अन्य गाउँपालिकाले पनि गर्नु जरुरी छ । जलवायु परिवर्तनका कारण विश्व अहिले संकटको मुखमा धकेलिइरहेको छ । नेपाल आफैंमा हिमाली देश भएका कारण यसको सिंगो क्षेत्र जलवायु परिवर्तनबाट निकै प्रभावित रहँदै आएको छ ।
जलवायु परिवर्तनको असर कम गर्न चालिनुपर्ने कदम कार्यान्वयन गर्न विकसित देशमा देखिएको बेवास्ताका कारण हिमाली पानीका टावरका रूपमा रहेका हिमचुचुरा पग्लने र सिद्धिने अवस्थामा पुगेका छन् । नेपालको हिमाली जिल्ल्ला सोलुखुम्बु यसको नकारात्मक प्रभावमा परिसकेको छ । हिमालमुनि रहेर पनि खुम्बुपासाङ ल्हामु गाउँपालिकामा खानेपानी संकट देखिन थालिसकेको छ । जलवायु परिवर्तनको अर्को प्रत्यक्ष असर भनेको हिउँ परिरहने क्षेत्रमा हिउँ पर्न छाडेको छ । परिणामतः बालीनालीमा समस्या उत्पन्न हुन गएको छ ।
हिमालमुनिका बारीमा लगाएको खेती सुकेको देख्दा जोसुकैलाई पनि निकै चिन्तित तुल्याउँछ । यो समस्याको बोधसँगै गाउँपालिकाले जलवायु न्यायका लागि जनजागरण ल्याउने, अनुकुलन कार्यक्रमअघि सार्ने, यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ÷संस्थाको ध्यानाकर्षण गराउने, सहकार्य गर्ने र कानुनी पूर्वाधार तय गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाउनु आफंैमा सह्रानीय कुरा हो । अहिले गाउँपालिकाले प्रचारात्मक होइन, यसलाई परिणाममूलक कार्यका रूपमा अघि बढाउनेगरी सोच्नु आफंैमा अग्रगामी कदम हो । यो साँच्चै नै गाउँपालिकाले अघि सारेको जलवायु न्यायको काम नै हो ।
गाउँगाउँमा स्थानीय सरकारका रूपमा गाउँपालिका र नगरपालिका पुगिसकेपछि यस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका काम गाउँपालिकाको काँधमा आइपुगेको छ । वास्तवमा जलवायु परिवर्तनका कारण प्रभावित हुने भनेको स्थानीय जनता नै हो । जलवायुको मुद्दा आफंैमा स्थानीय मुद्दाका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा पनि हो । यसले स्थानीयलाई वैश्विक र वैश्विकलाई स्थानीय बनाएर सिंगो सांसारिक मुद्दामा विश्व मानवजगतको सहकार्यको माग गरिरहेको छ । यसका लागि सम्बन्धित निकाय र संस्थाको विश्वसोच एक मात्र साध्य र आपसी साझेदारीको एक मात्र साधन बनेर देखापरिसकेको छ । हाल स्थानीय क्षेत्रबाट सुरु गरिएको यो साझेदारीले क्रमशः राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय फोरमको माग गर्नेछ । खुम्बु पासाङल्हामु गाउँपालिकाको सोच पनि त्यतातिरै उन्मुख भएको देखिन्छ । सुरुमा जलवायु परिवर्तनले स्थानीय क्षेत्रमा असर पु¥याएको विषयमा अध्ययन, अनुसन्धान र त्यसको निराकरणका लागि भनी कदम चालिए पनि यो आफंैमा एक रणनीतिक सुरुवातका रुपमा देखापरेको छ ।
हिमाली जिल्ला सोलुखुम्बुको उच्च हिमाली भेगमा समेत खडेरी, पानीको हाहाकार, हिउँ नपर्नु र अधिक तापक्रमको अनुभूति जलवायु परिवर्तनको प्रत्यक्ष असर हुन् । यसले देशकै पर्यटन तथा कृषि क्षेत्रमा नकारात्मक असर पु¥याएपछि खुम्बुवासीको यो गम्भीर पहल स्थानीय क्षेत्रबाटै सुरु भएकामा यसले देशभरका जनतामा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ । यसका लागि संघीय तथा प्रादेशिक सरकारले पनि वातावरण संरक्षण र संवद्र्धनका लागि खुम्बु क्षेत्रसँग बिनाढिलाइ सहकार्यको हात अघि बढाउनुपर्छ । स्थानीय जनजीविकाका साथै रोजगारीमा समेत यसले ठूलो विपत्ति निम्त्याइरहेको छ । यसको निराकरणका लागि सम्बन्धित स्थानीय सरकारसँग हातेमालो गरौं !






