चापागाउँ (ललितपुर) । अग्रज संगीतकर्मी एवं समाजसेवी जगमोहन मेहेर कायस्थको इच्छाबमोजिम ललितपुर चापागाउस्थित श्रीचन्द्र भैरव नित्य भजनमण्डल छेवैमा पुनर्निर्माणाधीन सत्यसिंह महाविहार (वा बहिः)मा स्थानान्तरण गरिने भएको छ ।
ललितपुर बाग्मती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनका अनुसार कला, संस्कृति तथा सामाजिक क्षेत्रमा ‘जगमोहन वामी’का रूपमा परिचित कायस्थको इच्छाअनुसार भजनमण्डल सुरक्षितस्थल स्थानान्तरण गरिने भएको हो ।
‘उहामा बाटो विस्तार भएपछि भजनमण्डल रहदैन कि भन्ने ठलो चिन्ता थियो,’ चापागाउमा आइतबार आयोजित श्रद्धाञ्जलीसभामा प्रदेश सांसद महर्जनले भने, ‘उहाकै इच्छाबमोजिम हामीले डीपीआरमै भजनमण्डलका लागि स्थान तय गरेका हौं । महाविहार सम्पन्न हुनेबित्तिकै भजनमण्डल त्यहा सारिनेछ ।’ अर्को प्रसंगमा महर्जनले ललितपुरको मात्रै नभएर वामी देशकै ‘सम्पत्ति’ भएको उल्लेख गर्दै उनीजस्ता व्यक्तित्व विरलै जन्मिने जिकिर पनि गरे ।
गोदावरी नगरप्रमुख गजेन्द्र महर्जनले वामीजस्ता अभिभावक गुमाउनु पीडादायी क्षण भएको सुनाए । दुई वर्षअघि ‘जगमोहन वामी एकल साझ’को स्मरण गर्दै उनले कायस्थ’bout पुस्तक प्रकाशन गर्ने योजना रहेकोसमेत उल्लेख गरे ।
कति तिमी रमाइबस्छौ
पासो लगाइतान्छ
कालले एकदिन
च्याप्प समाइलान्छ…
श्रीचन्द्र भैरव नित्य भजनमण्डलद्वारा आयोजित श्रद्धाञ्जली सभामा गायिका निशा देशारले वामीद्वारा रचित तथा संगीतबद्ध ‘कालले एकदिन च्याप्प समाइलान्छ’ भजन प्रस्तुत गरिरहदा माहोल भावविह्वल बन्न पुग्यो । जीवनकाल जगमोहन वामी यो जीवनपरक गीत भजनमण्डली वा स्टेज कार्यक्रममा सुनाउन भुल्दैनथे ।
त्यस्तै, वामीसग सानैदेखि हातेमालो गर्दै संगीत सिकेका श्रीचन्द्र भैरव नित्य भजनमण्डलका भीम नकर्मीले गुरुप्रतिको समर्पणस्वरूप नेपाल भाषाको गीत सुनाए । श्रद्धाञ्जली सभाअघि मण्डलमा बिहान साढे ६ बजेबाट वामीको स्मृतिमा कैलाश कायस्थलगायतले भजन प्रस्तुत गरेका थिए । मण्डलमा प्रत्येक बिहान भजनकीर्तन तथा नित्य कार्यक्रम हुनेगर्छ ।
गत ३० फागुनमा ललितपुर चापागाउस्थित निवासमा ८६ वर्षको उमेरमा दिवंगत वामी संगीतका तीनै विधाअन्तर्गत रचना, गायन र संगीतका सिद्धहस्त थिए । जुनसुकै क्षेत्रबाट भए पनि आफ्नो ‘गाउठाउको पहिचान राख्नुपर्छ’ भन्ने मान्यता पाल्ने जगमोहन मेहेर कायस्थ ‘जगमोहन वामी’मात्रै लेख्ने गर्थे । कालान्तरमा उनी यही नामबाट जनमानसमा बस्न सफल भए । नेपाल भाषामा ‘वामी’ भन्नाले ‘चापागाउले’ भन्ने बुझिन्छ ।
वामी श्री चन्द्रभैरव नित्य भजनमण्डल र एकमहिने माधवनारायण मेलाका संरक्षकसमेत थिए । बाल्यकालमा शिक्षा आर्जन गर्ने क्रममा भोगेको कठिनाइ मध्यनजर गर्दै उनले गरिब तथा विपन्न परिवारबाट आएका बालबालिकालाई पढाउने व्यवस्था मिलाइदिएका थिए ।
चापागाउस्थित बज्रबाराही उच्च माध्यमिक विद्यालयमा विज्ञान संकाय स्थापना गर्न होस् वा दक्षिण ललितपुरको शैक्षिक क्षेत्र उकास्न उनको विशेष योगदान रहेको छ ।






