मेलम्चीबाहेकका विकल्प खोजियोस्

सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट काठमाडौं उपत्यकामा ल्याएर वितरण गरिएको खाने पानी बन्द भएपछि उपत्यकाबासी फेरि मारमा परेका छन् । उपत्यकामा जनघनत्वको चाप बढे पनि जनसंख्याको अनुपातमा प्रर्याप्त पानी उपलब्ध नहुँदा कष्टकर जीवन निर्वाह गर्न विवस थिए सहरबासी । सहरबासीको तिर्खा मेट्नकै लागि भनेर सुरु गरिएको खानेपानी आयोजना समयमा सम्पन्न नहुँदा उपत्यकाबासीले निकै तनाब भोगे । अस्थायी रूपमै भए पनि आयोजना सुरु भएको २३ वर्षपछि धारामा पानी आउँदा सर्वसाधारणले एक खालको राहत महसुुस गरेका थिए । लगभग छ महिना उपत्यकाबासीले मेलम्ची पानी उपभोग गरे पनि । अहिले फेरि मर्मतसम्भारका लागि केही साताका पानी बन्द हुने भएपछि पानीकै लागि महँगो शुल्क तिर्नुपर्ने भएको छ ।

जलस्रोतमा नेपाल विश्वकै दोस्रो धनी मुलुक मानिए पनि प्रायः सहरमा खानेपानी संकट छ । काठमाडौं मात्रै हैन । नारायणघाट, बुटवल, पोखरा, धरानलगायतका सहरमा खाने संकट जारी नै छ । जनसंख्याको हिसाबले सबैभन्दा धेरै जनसंख्या भएको काठमाडौं सहरमा सबैभन्दा ठूलो संकट छ । कुनै बेला उपत्यकामै रहेका रैथाने स्रोत कुवा, इनार, ढुंगे धाराका पानीले उपत्यकाबासीले प्यास मेट्दै आएका थिए । अव्यवस्थित सहर निर्माणका क्रममा धेरै ढुंगे धारा र रैथाने कुवा, इनार लोप भइसकेका छन् । सहरका घर निर्माणका क्रममा अध्याधिक कंक्रिट र फलामे रडको प्रयोगकै कारण मौलिक र परम्परागत इनार, पोखरीहरू लोप भइसकेकाले तत्कालका लागि खानेपानीको विकल्प धाराको पानीबाहेक अरू छैन । यदि समयमा आयोजना सम्पन्न भएको भए मेलम्चीको पानी एउटा भरपर्दो विकल्प हुन सक्ने थियो । सरकार फेरबदलसँगै निर्माणमा भएको ढिलासुस्तीका कारण तीन दशक पार हुन लाग्दा पनि आयोजना सम्पन्न हुन सकेको छैन ।

मेलम्ची खानेपानी आयोजनाको धेरैजसो काम सम्पन्न भएकाले उपत्यकाबासीका लागि खानेपानीको गतिलो विकल्प हुने निश्चित छ । तर, मेलम्चीको पानीमा मात्रै भर परेर हुन्न भन्नेमा सरोकारवाला निकायका अधिकारी सचेत हुनैपर्छ । आकासे पानी संकलन’bout लामो समयदेखि बहस भए पनि आकासेपानी संकलनका लागि ठोस कार्यक्रम लागू भएको छैन । यदि आकासेपानीलाई मात्रै व्यवस्थित गरेर त्यसको प्रयोग गर्ने हो भने वर्षमा कम्तीमा पाँच महिना आकासेपानीबाट पनि जीवन सहज बनाउन सकिन्छ । मेलम्चीको पानीको व्यवस्थित वितरणपछि सरकारले आकासेपानी संकलनलाई अभियानका रूपमा अघि बढाउनुपर्छ । यदि त्यसो भयो भने उपत्यकाबासीले फेरि खानेपानीको संकट बेहोर्नुपर्ने छैन ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

epaper

ताजा समाचार

अन्तर्राष्ट्रिय फुटबल खेल्न सिसिएसका खेलाडी लखनउ प्रस्थान