काठमाडौं । घोराही सिमेन्टको आईपीओ निष्कासन स्थगित भएको छ । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ प्रक्रिया रोक्ने निर्णय गरेको हो । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई आईपीओमा फर्जी आवेदन परेको देखिएको भन्दै जानकारी गराएपछि धितोपत्र बोर्डले आईपिओ निस्कान प्रकृया स्थगित गरेको हो।
कम्पनीको सेयरमा १४ जनाभन्दा धेरैले आफ्नो बैंक खातामा रकम नभए पनि प्रति व्यक्ति १० लाखको दरमा आवेदन दिएको भेटिएको थियो। यही कारण बिहानसम्म ८७ लाखभन्दा बढी कित्ता सेयरको लागि गरिएको आवेदन अस्वीकृत भएको थियो। तर, अहिलेसम्ममा करिब १ करोडभन्दा धेरै कित्ताको सेयरको आवेदन अस्वीकृत भएको सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का प्रवक्ता सुरेश न्यौपानेले बताएका छन् ।
आइपिओमा बढी आवेदन परेको देखाउन कम्पनीकै तर्फबाट समेत यस्तो भएको हुनसक्ने भन्दै तत्काललाई सेयर जारी प्रक्रिया नै रोक्न धितोपत्र बोर्डले निर्देशन दिएको हो। कम्पनीले सामूहिक लगानी कोष, स्थानीय र वैदेशिक कामदारलाई खुला गरेको सेयर समेत बिक्री भएको थिएन। तर, सर्वसाधारणको लागि जारी गरेको सेयरमा मागभन्दा बढी आवेदन परे पनि आवेदन दिने मिति आजै थपेको थियो।
यसअघि बोर्डले केयर रेटिङ नेपाल लिमिटेडलाइ तीन दिन भित्र स्पष्टिकरण दिन भनेकोमा अटेर गरेको र कुनै आधार बिना आईपीओको म्याद थप गरेको जनाउँदै आईपीओ निष्काशनको सम्पूर्ण प्रकृया स्थगन गरेको हो ।
आइपिओ भरेकाको रकम अब के हुन्छ ?
घोराही सिमेन्टले जारी गरेको प्राथमिक सेयर (आइपिओ) रद्द भएसँगै आवेदन दिएकाहरूको रकम केही दिन रोक्का हुन सक्ने देखिएको छ ।’ अहिले जसको रकम बैंक खातामा रोक्का भइसकेको छ, तिनको रकम केही दिन रोक्का नै हुनेछ,’ धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले भने, ‘तर, यो प्राथमिक सेयर निष्कासनको तथ्य जाँचमा अध्ययन गर्न लामो समय लाग्ने देखिएमा भने यसरी लगानीकर्ताको रोक्का रहेको रकम खुला गर्न भन्ने छौं।’







