सप्तरी, राजविराज । आफनो नगर क्षेत्रमा कोरोना भाईरसको संक्रमण रोक्न राजविराज नगरपालिकाले आईतबार देखि एन्टीभाईरस स्प्रे (किटनासक औषधी) छर्किने तथा सरसफाई कार्यलाई तिब्र बनाएको छ ।
आईतबार एकैदिन बारुणयन्त्र मार्फत नगरको सवै वडामा एन्टीभाईरस स्प्रे छर्ने तथा सरसफाई कर्मी मार्फत सार्वजनिक स्थलको सरसफाई सुरु गरिएको छ । लकडाउनको अवस्थामा सर्व साधारण घरमै सिमित भएकाले एन्टीभाईरस स्प्रे छर्किन र सार्वजनिक स्थलको सरसफाई गरी फोहोर मैला व्यवस्थापन गर्ने कार्य सहज भएको नगर प्रमुख शम्भु प्रसाद यादवले बताए ।
यसले कोरोनाको संक्रमणबाट जोगाउन मदत पुर्याउने उनको विश्वास छ । यस क्रममा खटिएका कर्मचारी र सफाईकर्मीलाई आवश्यक पर्ने सुरक्षा सामग्री समेत उपलब्ध गराईएको उनले बताए ।
कोरोना भाईरसको त्रास सँगै केही दिन यता नगरमा लामखुट्टेको आतंक समेत बढेकाले नियन्त्रणका लागि गरिएको प्रयास सराहानिय रहेको स्थानिय बासी अमर नाथ मण्डलको भनाई छ ।
यता राजविराज नगरपालिकाकै सबभन्दा बढी जनसंख्या रहेको वडा नं. ९ मलेठमा पनि विभिन्न सचेतना मुलक कार्यक्रम सँगसँगै लकडाउनको सर्वाधिक मारमा परेका मजदुर र विपन्न समुदायका लागि विशेष आर्थिक सहयोग गर्ने कार्यक्रम ल्याउने तयारी भईरहेको वडाध्यक्ष शम्भु यादव (लाली) ले बताए ।
उनले केही दिन यता विदेशबाट यहाँ आएकाहरुको पनि लगत संकलन कार्य सुरु गरिएको बताए । दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्दै आएकाहरुलाई अहिले हातमुख जोडन समस्या भईरहेको छ, उनले भने वडा कार्यालयबाट त्यस्ता गरिब असहाय र मजदुरहरुको लगत पनि संकलन गर्ने कार्य सुरु गरेको छ । १–२ दिनमै विशेष राहत प्याकेज उपलब्ध गराउने तयारी छ।
यता आईतबार सम्ममा सप्तरीका विभिन्न २३ वटा स्थानमा बनाइएका क्वारेन्टाईनमा १२ महिला सहित १ सय १५ जना आशंिकंतलाई राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनिया लाल यादवले जानकारी दिएका छन् ।
यहाँ कोरोना भाईरसका संकास्पद व्यक्तिहरुलाई राख्न विभिन्न अस्पताल र स्थानिय तहहरुमा गरी ४ सय शैययाको क्वारेन्टाईन केन्द्र निर्माण गरिएको छ । सो केन्द्रमा राखिएका मध्ये अधिकांश कतार मलेशिया र भारतको विभिन्न सहरबाट रोजगारीका लागि गई हालै फर्किएकाहरु छन् ।






