ग्रान्ड डिजाइन

स्वर्गीय गिरिजाप्रसाद कोइरालाले कुनै ताका ‘ग्रान्ड डिजाइन’ भन्ने वाक्यांशलाई जनजिब्रोमा फैलाइदिए । राजनीतिमा चासो राख्ने सामान्य व्यक्तिदेखि स्वनामधन्य विश्लेषकसम्म ‘ग्रान्ड डिजाइन’को चर्चामा व्यस्त रहे । अनौठोचाहिँ के भयो भने ‘ग्रान्ड डिजाइन’ सबैले नाम सुनेको तर कसैले नपढेको उपन्यासजस्तो भयो । अझ भनौं, यो आवरणसम्म देखिएको तर भित्री पृष्ठ नपल्टाइएको चर्चित साहित्यिक कृतिजस्तो बन्नपुग्यो । आखिर यस्तो किन भयो ? वास्तविकता के हो भने त्यो ‘प्रसिद्ध कृति’का भित्री पृष्ठ लेखिएकै थिएनन् । गिरिजाप्रसाद कोइरालाले सार्वजनिक गरेको आवरणकै भरमा ‘ग्रान्ड डिजाइन’ हिट साबित हुनपुगेको थियो । कोइरालाले आजीवन यस वाक्यांशको व्याख्या गरेनन् । सायद उनी यस वाक्यांशलाई फगत आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई तर्साउने हतियारका रूपमा मात्र प्रयोग गर्न चाहन्थे । यस्तो परिस्थितिमा ‘ग्रान्ड डिजाइन’ ६ जनाको अन्धाले छाम्दै गरेको हात्तीका अंगप्रत्यङ्ग बन्न पुग्नु स्वाभाविक थियो ।

गिरिजाप्रसाद कोइरालाले यो प्रसिद्ध कृतिका भित्री पृष्ठ प्रकाशित गरेका भए त्यहाँ केके हुन्थ्यो त ? के तत्कालीन परिवेशमा बहुचर्चित राजदरबार हत्याकाण्डको षड्यन्त्रकारी खलनायकहरूको अनुहार उदांगिन्थ्यो ? कि नेपालको समकालीन इतिहासका विभिन्न कालखण्डमा भएका कथित षड्यन्त्रहरूको पर्दाफास हुन्थ्यो ? वा नेपालको राजनीतिक वृत्तमा चर्चित कुनै विशेष पात्रको विशेष खलभूमिकाका ’boutमा उजागर हुन्थ्यो ? पुनः कुरो त्यहीँ गएर ठोक्किन्छ, ६ जना अन्धाले छाम्दै गरेको हातीका विभिन्न अंगप्रत्यङ्गको उनीहरूले देखेको ‘सत्य’ !

साँच्चिकै कुनै ग्रान्ड डिजाइन थियो वा अझै छ त ? पौराणिक वा ऐतिहासिक कालखण्डतर्फ फर्किनु त्यति सान्दर्भिक नहोला । आंशिक भए पनि प्रजातन्त्र स्थापना भएको २००७ देखि २०१७ साल, पञ्चायती शासन व्यवस्थाको कालखण्ड २०१७ देखि २०४७ साल, संवैधानिक राजतन्त्र २०४७ देखि २०६३ सालसम्मको र त्यसपछिको संक्रमणकालसमेतको गणतन्त्रका चार अवधिलाई सरसर्ती केलाउने प्रयास गरौं ।

२००७ सालको राणाविरोधी संघर्षबाट नेपाली राजनीतिमा दुई संस्था स्थापित भए । पहिलो प्रजातन्त्रवादी राजाका रूपमा त्रिभुवन र समग्र संस्थाका रूपमा नेपाली कांग्रेस अनि त्यसका नेताका रूपमा बिपी कोइराला र मातृकाप्रसाद कोइराला । निश्चित रूपमा गणेशमान सिंह, सुवर्ण शमशेर जबरा र सूर्यप्रसाद उपाध्याय पनि आन्दोलनका चम्किला उत्पादन थिए । तर, केन्द्रबिन्दुका रूपमा कोइराला बन्धु नै थिए । छोटो समयमै कोइराला बन्धुबिच मनोमालिन्य देखाप¥यो र मातृकाप्रसाद कोइराला असान्दर्भिक एवं अप्रासंगिक बन्नपुगे । २०१५ सालको आमनिर्वाचनसम्ममा बिपी कोइराला नेपाली राजनीतिका शिखर व्यक्तित्व बने । पहिले त दुई तिहाइ बहुमत भएको पार्टीका नेता बिपीलाई प्रधानमन्त्री बन्न नै नदिने प्रपञ्च भयो भने पछि ‘तेरो घरमा कांग्रेस पसोस्’जस्ता प्रचारप्रसारका माध्यमबाट कोइराला र कांग्रेसको सुनियोजित तेजोबध गरियो । ध्यान दिएर हेर्ने हो भने २०१७ देखि २०४७ सालसम्मको ३० वर्षे कालखण्ड कांग्रेस वा प्रतिपक्षको तेजोबधमै बित्यो । ‘अराष्ट्रिय तत्व’ र ‘मुठीभरका’जस्ता विशेषणका कारण प्रतिपक्ष पूरै कलुषित बनेको थियो । रमाइलो कुरो त स्वयं प्रतिपक्ष पनि एकअर्कालाई ‘सिध्याउने’ काममा प्रयुक्त भए ।

२०४७ सालमा प्रजातन्त्रको पुनस्र्थापनापछि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला र मदन भण्डारीजस्ता व्यक्तित्व नेपाली राजनीतिको केन्द्रमा उदाए । गणेशमान सिंहको व्यक्तित्व वा कद अतुलनीय ढंगले उचाइमा पुगेको थियो । कृष्णप्रसाद भट्टराईको ‘सुराही र सन्त’ छविले शिखर चुमेको थियो । मनमोहन अधिकारीको स्वच्छ र बेदाग छवि जनताको मनमा स्थापित थियो । अप्रत्याशित एवं चामत्कारिक ढंगले मदन भण्डारी उदाएका थिए । गिरिजाप्रसाद कोइरालाको कांग्रेसभित्रको पकड र सांगठनिक क्षमताप्रति सबै कायल थिए । तर, अत्यन्तै छोटो समयमा गणेशमान सिंह आफ्नै आँगनमा ‘आमा छोरा हराऊ’ अभियानका सिकार भए । कृष्णप्रसाद भट्टराईले निर्वाचनमा स्वयं हार बेहोरे । मनमोहन ‘पिंध नभएको लोटा’ बने भने मदन भण्डारीको जीवन नै समाप्त भयो । जीवनको अन्त्यसम्म गिरिजाप्रसाद कोइराला सक्रिय रहे पनि उनको साख नराम्ररी गिरेको थियो । गणतन्त्रकालका महानायकहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईको आजको धरातलीय अवस्था कस्तो छ भनेर त धेरै व्याख्या गरिरहनु नपर्ला ।

वास्तविक ग्रान्ड डिजाइन चाहिँ यो पो हो कि ? जनताको आस्था र विश्वास कजाउन र कमाउनसक्ने कसैलाई पनि टिक्न नदिने † स्वयं राजा र पञ्चहरूसमेत यसको सिकार भएका छन् । कुनै पनि व्यक्ति जनताको थोरै पनि विश्वासिलो बन्नथाल्यो भने उसको नाटकीय स्खलन सुरु हुन्छ । यस्तो अधोगतिका लागि स्वयं ती ‘नायक’ पनि केही हदसम्म जिम्मेवार त होलान् नै । पछिल्लो कालखण्डमा चामत्कारिक ढंगले ‘नायक’ बनेका पात्रहरूको पनि खलनायकीकरणको ग्रान्ड डिजाइनका योजनाकारहरू सलबलाइसके कि ?

तपाइको प्रतिक्रिया
(Visited 281 times, 1 visits today)

epaper

ताजा समाचार

१ श्रावण २०८३