‘नेपाल’ संसारका देशहरूमा धेरै पुरानो सार्वभौम हिन्दुस्थल हो । यसलाई तहसनहस गराउन २०६३ सालदेखि विदेशी गुप्तचर संस्थाको पारामा लागेर यही देशका पार्टीका देशद्रोही नेताहरूले घेराबन्दीमा पारेर यसको अस्तित्व नै समाप्त गर्ने खेलमा लागेका छन् । २०६३ सालपछिका पार्टीका माथिल्लो तहका नेताहरू नेपालको हितमा हिँडेनन् । अझ पनि हिँड्ने छाँट छैन । राष्ट्रिय राजनीतिको वैचारिक धरातलमा टेकेर राजनीतिक व्यवस्थालाई आफ्नो मुलुकको हितमा सञ्चालन गर्ने गरिन्छ । तर, २०६३ सालदेखि नेपालका आधारभूत स्तम्भ तथा पहिचान नष्ट गरेर धर्मनिरपेक्ष, गणतन्त्र र संघीयतालाई आफ्नो सिद्धान्त बनाएर देशको अस्तित्व नै समाप्त पार्नमा पार्टीका नेता लागेका छन् ।
नेपाली कांग्रेस बिपी कोइरालाको सिद्धान्तबाट अभिप्रेरित प्रजातान्त्रिक रूपमा संगठित पार्टी थियो । आज कांग्रेस विदेशी भरौटेको पार्टी बनेको छ । एमाले मनमोहन अधिकारी र मदन भण्डारीको वैचारिक धरालतमा उभिएर आएको पार्टी थियो । यी दुई पार्टीले २०४६ सालको जनआन्दोलनपछि संसदीय प्रजातन्त्र, मानवअधिकार, संवैधानिक राजसंस्था र हिन्दू अधिराज्यलाई अपरिवर्तनीय बुँदा अंगीकार गरेर सबै पक्षको सहमतिमा २०४७ सालको संविधानलाई राजाबाट घोषणा गराएर नेपाल विश्वमा ठुलो प्रतिष्ठा लिएर उभिएको थियो ।
तर, कांग्रेस र एमालेले प्रजातान्त्रिक मूल्य र मान्यताको उपहास गरेर भ्रष्टाचार र कुशासनबाट नेपाली समाजलाई ग्रसित बनाए । माओवादी त जन्मदैको आतंककारी देशद्रोहीहरूको पार्टी थियो । माओवादी त खाओवादी भइगयो । तर, नेपाललाई बिगार्नमा नेपाली कांग्रेसको पहिलो हात छ भने अनि एमाले हो । हामी र हाम्रो राजनीति व्यवस्था के हो ? कसरी मुलुकलाई सञ्चालन गर्ने भन्ने कुराको आधारमा कांग्रेस, एमाले हिँडेनन् । वास्तवमा बहुदलीय व्यवस्थाभित्रका राम्रा र नराम्रा कुराको विश्लेषण गरेर सही बाटो पहिल्याउनुपर्नेमा प्रजातन्त्रको नाममा जसरी भए पनि सत्तामा जाऔं–कमाऔं भन्ने कुरामा मात्र लागेर कांग्रेस र एमाले लिप्त रहे ।
प्रजातान्त्रिक मूल्य र मान्यताको उपहास गरेर भ्रष्टाचार र कुशासनबाट नेपाली समाजलाई ग्रस्त बनाउने छुट कसैलाई पनि छैन
२०४८ सालमा गिरिजाप्रसाद प्रधानमन्त्री बनेपछि मुलुकभित्र ब्रह्मलुट मच्चाएर देश, प्रजातन्त्र र आफैलाई धोका दिए । नेपाली कांग्रेसको प्रजातान्त्रिक छवि ध्वस्त बनाउँदै नेपाललाई अधोगतिको पराकाष्ठामा पु¥याउने कांग्रेसकै नेता गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाहरू नै हुन् । गिरिजा मरेर गए पनि कांग्रेसले अझै उही गिरिजाको राष्ट्रघाति धरातलमा टेकेर हिँडेको छ । त्यस्तै, मदन भण्डारीको हत्यापछि एमालेले पनि राष्ट्रघातकै बाटो लियो । एमालेलाई भारतीय षड्यन्त्रमा फसाउनमा माधव नेपालको पहिलो हात छ । माधवलाई परराष्ट्रमन्त्री बनाउन पनि प्रधानमन्त्री मनमोहन अधिकारीलाई भारतको ठुलो दबाब थियो, भनिन्छ । परराष्ट्रमन्त्रीपछि भारत भ्रमणको सिलसिलामा उनले ‘महाकाली सन्धि एक प्याकेज हो’ भनेर त्यहीँ नेपालका नेताहरूमा घुसाए ।
पछि एमाले प्रतिपक्षमा रहेका बेला महाकाली सन्धि गर्नमा उनी अति नै सक्रिय थिए । यद्यपि, प्रधानमन्त्री शेरबहादुर देउवा, जलस्रोतमन्त्री पशुपतिशमशेर जबरा पनि सशक्त थिए । अत्यन्तै विवादास्पद तरिकाले महाकाली सन्धिलाई संसदबाट अनुमोदन गरियो । राजासमक्ष लालमोहर लगाउन पठाइएन । यही बेलादेखि नेपालको राष्ट्रियता संकटमा फस्न पुग्यो ।
कांगे्रस र एमालेले मुलुकका लागि केही गर्छन् भन्ने जुन विश्वास नेपाली जनताले लिएका थिए, त्यो सबै व्यर्थ भएको छ । मुलुकको उन्नतिका लागि एउटा माखो मारेनन् । मुलुकका नाफामा भएका दर्जनौं उद्योग निजीकरणका नाममा बेचे, महाकाली सन्धि गरे । कांग्रेस र एमालेको कुशासन र अत्याचारबाट मुलुकभित्र माओवादी विद्रोह जन्मियो । कांग्रेस र एमालेले आफै आतंककारी घोषित गरे । पछि यिनै कांग्रेस र एमाले मिलेर भारतीय गुप्तचर संस्थाको इशारामा माओवादीसँग मिलेर नेपालको सार्वभौमसत्ता, स्थायित्व र एकता खल्बल्याएर भारतको दाहिने हात बनेर देशको सार्वभौमसत्ता नै भारतमा बुझाउन २०६२ मंसिरमा १२ बुँदे सहमति गर्न पुगे ।
यहीँबाट प्रारम्भ हुन्छ, नेपाली राष्ट्रियतामाथि खतरा । नेपाली कांग्रेसका संस्थागत नेता बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको राष्ट्रवादी र प्रजातान्त्रिक बाटो नभत्काएर अर्थात् २०६३ सालपछि गिरिजाप्रसादले नेतृत्व गरेको नेपाली कांग्रेस अगाडि बढेको भए नेपाली कांग्रेस नेपालको एक शक्तिशाली लोकप्रिय पार्टी बन्नसक्थ्यो । तर, पद र पैसाको लोभमा परेर गिरिजाप्रसाद कोइरालाले पार्टीलाई मात्र होइन मुलुकलाई नै धोका दिए । एमाले पार्टी मनमोहन अधिकारी र मदन भण्डारीको संयुक्त प्रयासबाट २०४७ सालमा बनेको थियो । यी दुई नेताको विचारलाई मध्यनजर राखेर एमाले अगाडि बढ्न खोजेको भए एमाले पनि यसरी नाङ्गिएर गन्हाउने अवस्थामा आउँदैन थियो ।
माओवादी विद्रोह राजा र राजसंस्थाको विरोधकेन्द्रित थिएन । माओवादी विद्रोह कांग्रेस र एमालेको अत्याचारका विरूद्ध उठेको थियो । उनीहरू राजासँग सहकार्य गरेर आफ्नो मापदण्ड बनाउने सोचाइमा थिए । त्यसरी उनीहरूले पनि राष्ट्रवादी धार नछोडी भारतीय दलाल नबनेर अगाडि बढेको भए माओवादी नेपालको एक लोकप्रिय कम्युनिस्ट पार्टी ठहरिन्थ्यो । तर माओवादी, कांग्रेस, एमाले सबै पार्टीका नेता भारतीय गुप्तचर संस्थाको भरिया बनेर नेपालको अस्तित्व समाप्त गर्न लागेकाले यिनीहरू नेपालको राजनीतिक इतिहासका कलंक बन्नपुगे । माओवादीको जरा खन्ने गिरिजाप्रसाद तिनै माओवादीसँग विश्वस्त बनेर भारतीय सहयोग र निर्देशनमा जनआन्दोलनमा होमिए ।
जनयुद्धको समयमा माओवादीले आफ्ना सेना बनाएको थियो । माओवादीका सेनाबाट आफू सुरक्षित भएर पुनः सत्तामा पुग्न गिरिजाले मुलुकलाई नै विपत्तिमा पु¥याउने काम गरे । गिरिजाकी छोरी सुजाताले बाबुको सत्ताका बेला अर्बौं लुटिन्् । अझै पनि उनको हालिमुहाली चलेको छ । मुलुकको स्वाभिमान र प्रजातन्त्रको मर्म नबुझ्ने यस्तालाई भारत, युरोपका इसाई राष्ट्र र अमेरिकी गुप्तचर संस्था सिआइएले संरक्षण दिएकाले नेपालको स्वाभिमान गिर्दो अवस्था छ ।
विदेशीहरूको इशारामा नलागी नेपाललाई स्थायित्व दिलाउन मुलुक बचाउने बाटोमा हामी सबै लागौं
विद्रोहको समयमा राजा वीरेन्द्र र पछि राजा ज्ञानेन्द्रलाई भेट्न बाबुराम भट्टराईहरू लालाइत थिए । तर, दरबार हत्याकाण्ड राजा ज्ञानेन्द्रले गराएको हो भनी २४ जेठ २०५८ मा एक राष्ट्रिय दैनिकमा झुठा र काल्पनिक तर्कहरू उठाएर बाबुराम भट्टराईले लेख लेखे । त्यसबेला उनी कांग्रेसका गिरिजाहरूको खुलेर विरोध पनि गर्ने गर्थे । बाबुराम भट्टराई कहाँबाट निर्देशित रहेछन् भन्ने कुरा उनी प्रधानमन्त्री बन्न भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख आलोक जोशीको दबाबमा प्रधानमन्त्री भएको व्यवहारबाट पुष्टि भयो । राजा र पार्टीहरूबिच विवाद खडा गराउनेमा बाबुराम भट्टराईकै हात छ । माओवादी नेता बाबुराम भट्टराई र प्रचण्डहरू नेपालको पहिचान सिध्याएर नेपाललाई उठ्न नसक्नेगरी धरापमा पार्ने कुचेष्ठामा छन् ।
२०४६ सालपछि बहुदलीय व्यवस्थाको अभ्यूदय भएपछि संसदीय व्यवस्थाको मूल्य र मान्यतानुसार चल्नसक्नुपथ्र्याे । मुलुक र प्रजातन्त्रलाई सबै मिलेर शिखरमा पु¥याउँछन् भन्ने जुन विश्वास थियो तर कुठराघात हुनगयो । नेताहरू आफ्नो मुलुकको परिपाटीनुसार पनि चल्न नसक्ने र विश्वमा प्रचलित सिद्धान्तलाई पनि नअपनाउने भएपछि मुलुकले नयाँ बाटो कसरी निर्धारण गर्नसक्छ ? सम्पूर्ण नाफामा भएका उद्योगहरू गुन्द्रुकको भाउमा बेचिए । बेकारी समस्याले विकराल रूप लियो । कुशासन र शासकीय अत्याचारको बिरोधमा माओवादी विद्रोह जन्मियो । तर, माआोवादी विद्रोहले पनि राष्ट्रलाई स्थापित गर्ने शैली अपनाएन । राष्ट्रको अस्मीता, पहिचान र मान्यताको कदर गर्न नसक्नु २०६३ सालपछिको परिवर्तनको सबैभन्दा ठुलो कमजोरी भएको छ । त्यसैले आजको चिन्ता नेपालको सार्वभौमसत्ता र प्रजातन्त्रलाई कसरी एक अर्कासँग समझदारी कायम राखेर अगाडि बढाउने भन्ने हो ।
हिमालयको काखमा रहेको पूण्यभूमि नेपाललाई हामी सुन्दर र शान्त विशाल भन्छौं । जस्तोसुकै आन्दोलनमा पनि राष्ट्रका सांस्कृतिक मूल्य र मान्यताको संरक्षण हुनुपर्छ । मुस्लिमहरूका लागि मक्का मदीना, यहुदी र इशाईहरूका लागि जेरूसलम्लाई पवित्रस्थलका रूपमा मानिन्छ भने विश्वका हिन्दू र बौद्धहरूका लागि नेपाललाई पवित्रस्थलका रूपमा किन सम्मान नदिने ? पूर्वमा ब्रह्मपुत्र पश्चिममा हिन्दुकुश, उत्तरमा कैलाश मानसरोवर र दक्षिणमा गंगासम्मको भूभागलाई ‘हिमवत्खण्ड’ भनिन्छ ।
तर, समयकाल परिस्थितिले हिमवत्खण्ड विभिन्न टुक्रामा विभाजित हुनगएको र दक्षिणतर्फबाट अंगे्रजले यस क्षेत्रमा हिन्दू र बुद्धको अस्मीतालाई चकनाचुर पार्न बाटो हेरेर बसिरहेको अवस्थाका यस क्षेत्रका जनताको सहयोगमा पृथ्वीनारायण शाहको नेतृत्वबाट सम्पूर्ण सारा जातीय राज्यका जनतालाई संरक्षण दिएर विशाल नेपालको सिर्जना गर्ने काम त्यसबेलाको स्थिति हेर्दा सानोतिनो प्रयासबाट सम्भव हुनसक्ने कुरा थिएन भन्ने कुरा पृथ्वीनारायण शाहको दिव्योपदेश पनि एक ऐतिहासिक दस्तावेजका रूपमा हाम्रा सामु छ । समय परिस्थितिले नेपालमा दुखद घटना घट्यो । वीरेन्द्रको वंशनास भएपछि कांग्रेस, एमालेहरूले नै ज्ञानेन्द्रलाई सिंहासनमा आरोहण गराए ।
कांग्रेसका गिरिजा र एमालेका माधव नेपाललाई तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्री नबनाएपछि ज्ञानेन्द्रविरूद्ध भारतीय गुप्तचर संस्था ‘रअ’को आडमा संगठित भए । संविधानसभाको अर्घेलोबाट २०६२ साल मंसिरमा दिल्लीमा गरिएको १२ बुँदे सहमतिमा हस्ताक्षर गरेर २०४७ सालको संविधानले राम्ररी काम गरिरहेको अवस्थामा संविधानसभाबाट अर्को संविधान बनाउने अनर्गल बाटो समाते । वास्तवमा संविधानसभा संविधान बनाउन ल्याइएको नै थिएन । त्यसैले, अब यसरी मुलुकलाई अस्तव्यस्त बनाएर राख्नुहुन्न । अब विदेशीहरूको इशारामा नलागी नेपाललाई स्थायित्व दिलाउन मुलुक बचाउने बाटोमा हामी सबै लागौं ।






