पोखरा । पोखरासहित बुटवल, धरान, नारायणगढ लाहुरेले बसाएको सहर भनी चिनिन्छन् । विगतमा यहाँका जनजाति समुदायको पहिलो आकर्षण ब्रिटिस, सिंगापुर सेनामा थियो । भर्तीका लागि सुरुमा आफूलाई विभिन्न परीक्षामा दर्ज नगरी हत्तपत्त अरू पेसा रोज्दैनथे । भर्ती हुने दर बढ्यो । त्यसैले पोखरा आसपासका हरेक गुरुङ परिवारमा कम्तीमा एक सदस्य ब्रिटिस, सिंगापुर, भारतीय सेनामा भर्ती नभएको घरै हुन्थेनन् ।
पोखरामा लाहुरे संस्कृतिको प्रभावकै कारण यहाँका टोलको नाम समेत त्यस्तै राखिएको छ । जस्तो भिसी मार्ग, सिंगापुर टोल, गोर्खा चोक, शिरमुर लाइन आदि । तर, अहिले समय फेरिँदो छ । पहिले जस्तो छैन । पहिलो पुस्ता लाहुरे भयो । दोस्रो पुस्ताका छोरा पनि लाहुरे बने । तेस्रो पुस्ता भने पढ्न चाहन्छ । ज्यानको बाजी थापेर कैयौं लडाइँ लडेको कहानी सुनाउँदै बाजे पुस्ता नाति पुस्तालाई शिक्षाको महत्व बुझाउन थालेको पाइन्छ ।
पोखरा महानगरपालिका–३, नदीपुरका २० वर्षीय प्रसन्न गुरुङ यसै वर्ष अस्टे«लिया जाने तयारीमा छन् । अघिल्लो वर्ष प्लस टु सकेका उनी बाबुबाजेले रोज्दै आएको लाहुरे बन्ने मोह त्यागेर उच्च शिक्षासँगै सफल भविष्य खोज्न त्यता जान लागेका हुन् । पढाइमा पनि उनी अब्बल छन् । एसइईमा ‘ए’ प्लस ल्याएका उनले प्लस टु म्यानेज्मेन्टमा राम्रो अंक ल्याएर पूरा गरे । प्रसन्न भन्छन्, ‘हाम्रो गुरुङ समुदायमा पहिलेदेखि नै लाहुरे बन्ने चलन हो तर मलाई लाहुरे देखाउन मन लागेन । बरु पढेरै विभिन्न अवसर पाउन सकिन्छ भन्ने सानैदेखि लागेको हो ।’
उनी प्रतिनिधि पात्र हुन् । जो बाबुबाजेको पहिलो रोजाइ चटक्कै माया मारेर पढाइमा केन्द्रित भए । त्यसो त ब्रिटिस तथा सिंगापुरमा बर्सेनि लिने भर्नादर संख्या कम हुँदै गएको छ । प्रतिस्पर्धा झनै कडा छ । अवसर थोरैलाई मिल्छ । शिक्षाको महत्व बढ्दै जानु र लाहुरेमा बढी प्रतिस्पर्धाले विगतमा जस्तो लाहुरे बन्ने मोह घट्दै गएको छ । उनीहरू सुखी जीवनको परिकल्पनामा उच्च शिक्षा अध्ययनका लागि विभिन्न मुलुक जान चाहन्छन् ।
यो समयको माग हो । पहिला लाहुरे हुने प्रचलन नै थियो । अहिले पनि कोसिस त गर्छन् तर कमैको भाग्य चम्किन्छ । विभिन्न अवसर खोजीसँगै शिक्षाको महŒव बढ्दै जाँदा अधिकांश युवा अचेल कन्सल्टेन्सी धाउने गरेको भेटिन्छन् । प्लस टु सक्ने बित्तिकै उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहन्छन् ।
पोखरा चिप्लेढुंगास्थित एक्पर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजका म्यानेजर विष्णु गौतम भन्छन्, ‘नेपालमा दिने शैक्षिक ज्ञानभन्दा विदेशको पढाइले थप शैक्षिक ज्ञान हासिल पनि हुने र पछि त्यहीअनुसारको आयआर्जन हुने आशामा प्ल टु, ब्याचरसँगै मास्टर्ससमेत विद्यार्थीको चाप बढेको हो ।’
एक्सपर्टले हाल अस्टे«लिया, क्यानडा, अमेरिका, बेलायत र न्युजिल्यान्ड जान चाहनेहरूका लागि सहजीकरण गर्दै आएको छ । सिड्नीमा मुख्य कार्यालय रहेको एक्पर्टका नेपालमा १९ शाखा छन् । पोखरा शाखाबाट मात्रै बर्सेनि ३/४ सय जना विद्यार्थी विदेश जाने गरेको गौतमले सुनाए । यसरी जाने विद्यार्थीमा जनजाति समुदायका बढी छन् ।
चिप्लेढुंगामा पुष्परत्न नामक एउटा भवन छ । यो भवनमा मात्रै विदेश पठाउने एक दर्जन कन्सल्टेन्सी सञ्चालित छन् । सबैजसो कन्सल्टेन्सीमा युवापुस्ताको भीडभीड पाइन्छ । नेपालमा पढेर पनि भनेजस्तो कामकाज नपाइने, पाए पनि मनग्ये पैसा नहुने हुँदा युवाको मोह विकसित मुलुकमा बढीजस्तो हुने गरेको सञ्चालक बताउँछन् ।
पोखरामा शैक्षिक परामर्श केन्द्र (इक्यान)सँग ४५ कन्सल्टेन्सी आबद्ध रहेको केन्द्रले जनाएको छ । कम्पनी रजिस्ट्रर्ड कार्यालयमा समेत दर्ता गरी सञ्चालितसहित करिब २ सय ५० कन्सल्टेन्सी सञ्चालित रहेको अनुमान छ ।
वातावरणविद् समेत रहेका तमु एजुकेसनल एन्ड करियर एड्भान्समेन्ट नेटवर्क अध्यक्ष डा. हुम गुरुङ भन्छन्, ‘ब्रिटिस लाहुरेका लागि वर्षमा करिब ९ हजार नेपालीले आवेदन दिन्छन् तर ४ प्रतिशत मात्र सफल हुन्छन् ।’ उनका अनुसार पहिला जनजाति गुरुङ, मगर, राई, लिम्बुलाई अवसर दिइन्थ्यो अहिले सबै समुदायलाई लिन थालेको र कोटा पनि सरदर ३ सय हाराहारी हुँदा प्रतिस्पर्धा कडा बन्दै गएको हो ।
ब्रिटिसमा सन् १९९७ सालयता भर्ती भएका गोर्खालीलाई गेसोको आन्दोलनको दबाबका कारण बेलायत सरकारले स्थायी बसोबासकै सुविधा दिएको छ । त्यसैले पोखराका धेरै लाहुरेहरू उतैतिर बसाइँ सारे । त्यसबाहेक सिंगापुर लाहुरेहरू केही पोखरामै बसोबास गर्छन् भने केही आफ्ना छोराछोरीलाई अस्ट्रेलिया, अमेरिका, क्यानाडालगायत विभिन्न मुलुक पठाएर उतै गएर बस्नेहरू पनि छन् ।
लाहुरे बन्नुभन्दा पढेर आफैं सक्षम बन्नुपर्छ भन्ने ज्ञान जनजाति समुदायमा विस्तारै बढ्दै गएको डा. गुरुङको भनाइ छ । ‘यो समयको माग हो । पहिला लाहुरे हुने प्रचलित धेरै नै थियो । अहिले पनि कोसिस त गर्छन् तर कम छन्,’ उनी भन्छन्, ‘शिक्षाको महŒव बुझ्दै आएपछि दीर्घकालीन रूपमा यसले अपार सम्भावनाको ढोका खुल्ने गर्छ भन्ने बुझ्न थाले ।’ अस्ट्रेलियामा तेस्रो उद्योग भनेकै शिक्षा हो । डा. गुरुङ भन्छन्, ‘त्यहाँका नागरिकले नर्सिङका लागि वार्षिक शुल्क ७ हजार डलर तिरे पुग्छ जबकि विदेशीले ४० हजार डलर दिनुपर्छ ।’ नेपालीहरूमा सन् २००० पछि विदेशमा पढ्न जाने प्रचलन सुरु भयो । गुरुङ समुदायमा अझ केटाको तुलनामा बढी केटी पढ्न जान्छन् ।
‘भर्तीको फन्दा’का लेखक मनोज घर्तीमगर भन्छन्, ‘वैदेशिक रोजगारी हुनु र शिक्षाको महŒव बढ्न थालेपछि लाहुरे हुनैपर्छ भन्ने भएन । अनेक विकल्प आए ।’ औपचारिक रूपमा सन् १८१५ देखि नेपाली ब्रिटिस गोर्खामा भर्ती हुन थालेका थिए । २०३५ सालमा पोखरामा ब्रिटिस क्याम्पले कार्यालय नै खोलेपछि भर्तीका लागि अझ सहज भएको थियो ।






