संविधानको अन्त्येष्टि यात्रा निकाल्ने विद्यार्थीको घोषणा

काठमाडौं । सरकारले संविधान दिसव भव्यरूपमा मनाउने तयारी गर्दै गर्दा आमजनता पार्टी (आजपा) निकटको आमविद्यार्थी मोर्चाले संविधान दिवसकै दिन संविधानको अन्त्येष्टि यात्रा निकाल्ने घोषणा गरेको छन् ।

आमविद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले असोज ३ गते संविधान दिवसकै दिन अन्त्येष्टि यात्रा निकाले घोषणा गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष साहले असोज १ गते संविधान’bout सार्वजनिक अपिल गर्ने, २ गते संविधानसभा सदस्यलाई तक्मा फिर्ता गर्न अनुरोध गर्ने, ३ गते देशका प्रमुख सहरमा संविधानको अन्त्येष्टि यात्रा निकाल्ने र ४ गते संविधानको अवसानमा शोक मनाउने कार्यक्रम घोषणा गरेका छन् ।

‘भगौडा दलालवर्गको नेतृत्वमा रहेको गुन्डा व्यवस्थाको भण्डाफोर गर्दै यो खिचडी संविधानको विकल्प दिन संविधान दिवसलाई जनस्तरबाटै अस्वीकार गर्न जरुरी छ । यसर्थ, हाम्रो विद्यार्थी मोर्चाले असोज ३ गते वर्तमान संविधानको विरोधमा अन्त्येष्टि यात्रा निकाल्ने निर्णय गरेको छ’ विद्यार्थी मोर्चाका अध्यक्ष साहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

देशमा बढ्दो संकटलाई रोक्न नयाँ संविधानको आवश्यकता रहेको जिकिर उनको छ । सरकारले घोषणा गरेको संविधान दिवसको औचित्य कहीकतैबाट पुष्टि नहुने बताउँदै उनले देश बचाउन वर्तमान संविधानको रक्षा हैन, यसको अन्त्येष्टि गर्नुपर्ने र देशलाई निकास दिने नयाँ संविधान निर्माण गर्नुपर्ने जनाएका छन् ।

‘आउनुस् देश बचाउन वर्तमान संविधान र व्यवस्थाको समाप्तिको घोषणा गरौं, नयाँ संविधान र व्यवस्थाका लागि बाटो फराकिलो गरौं । नेपाली इतिहासले भन्छ, नेपालीले चाहेको जे पनि गर्न सक्छ । नेपाली जनताको भविष्य बनाउन हामी सक्षम छौं । यो ऐतिहासिक कार्यभार पूरा गर्न आमसमुदायलाई एकताबद्ध भई संघर्षमा सहभागी हुन हार्दिक अपिल गर्दछु । हाम्रो विश्वास छ, सत्यको जित हुनेछ’ साहले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

नेपालको संविधान २०७२ घोषणासँगै जनताले सशस्त्र द्वन्द्वको समाप्ति, संक्रमण कालको अन्त्य र देशमा स्थिरता एवं तीव्र विकासको अपेक्षा गरेका थिए । तर बिडम्बना देश प्रगतिको सट्टा अधोगतितिर धकेलिएको जनाउँदै उनले अहिले देश एकदमै संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको र देशको अर्थतन्त्र धराशाही हुँदै गइरहेको जनाएका छन् ।

‘व्यापार व्यवसाय चौपट छ, बेरोजगारी चरम सीमामा छ, दिनदिनै हजारौं युवाहरू देश छोडेर विदेश गइरहेका छन्, शिक्षा र स्वास्थ्यको स्तर झन्झन् खस्किँदै गइरहेको छ, देश बढ्दो अस्थिरता, राजनीतिक द्वन्द्व र दलीय भागबन्डाका कारण अस्तव्यस्त छ, वैदेशिक हस्तक्षेप पनि दिनदिनै बढ्दै गएको छ, सरकार भ्रष्टाचारमा लिप्त छ, घुस र कमिसनबिना कुनै पनि काम सम्भव छैन, संघीय लोकतान्त्रिक गणतन्त्र हात्तीको देखाउने दाँतमा सीमित भएको छ, लोकतन्त्रको ठाउँमा दलतन्त्र छ, संघीय अधिकार र पहिचानविहीन उही शासक जातिकै पक्षमा छ, समानुपातिक अधिकार पनि शासक जातिकै लागि भएको छ, गणतन्त्र पनि जनताको हैन दलीय राजाकै छ, भगौडावर्गले देशको नेतृत्व गरिरहेको छ’ विद्यार्थी मोर्चाका अध्यक्ष साहले भनेका छन् ।

देश एकपछि अर्को असफलतातर्फ अग्रसर रहेको यसको एउटै कारण नै नेपालको वर्तमान संविधान रहेको जनाउँदै उनले गलत संविधानकै कारण देश असफलतातर्फ अग्रसर भइरहेको सन्दर्भमा संविधान दिवसको औचित्य छ कि छैन भने विषय विचारणीय रहेको जनाएका छन् । नेपाल सरकारले संविधान दिवसलाई उत्सवका रूपमा मनाउन भनेको छ जबकी देशको संकटग्रस्त अवस्थाले यसको विकल्प देऊ भनिरहेको जनाउँदै यस संविधानको विकल्प नेपाली जनताले खोजेको उनले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 382 times, 1 visits today)

epaper

ताजा समाचार

घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन