टप अफ दि वल्ड गल्फ क्लासिकको उपाधि लगातार दोस्रो पटक श्याम तामाङले जितेका छन । मुस्ताङ गल्फ कोर्समा स्टेवलफोर्ड फुल ह्यान्डीक्याप फरम्याटमा भएको नौ होलको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन श्याम तामाङले १९ अंक सहित उपाधि रक्षा गरे । उनले लिलाजङ्ग गुरूङलाई हराए । लिलाले १८ अंक बनाउदै दोस्रो स्थान प्राप्त गरे । ४ हजार ६ सय ५० मिटरको उचाइमा भएको प्रतियोगितामा ४ महिला सहित २८ गल्फरले प्रतिस्पर्धा गरेका थिए ।
विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको यो गल्फ कोर्स गीनीज बुक अफ वल्ड रेकर्डमा दर्ता गर्ने प्रक्रियामा रहेको मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा बिष्टले बताएका छन् । उनले भने, ‘गल्फबाट लोमान्थाङलाई चिनाउने र विश्वकै गल्फ पर्यटनलाई आकर्षित गरेर यो क्षेत्रको व्यापार व्यवसाय र रोजगारीलाई समेत टेवा पु¥याउने सोच छ ।’
ग्रसतर्फ रबिन रानाले काउन्ट ब्याकमा उपाधि जिते । उनी ११ अंकमा याम राणा र पीबी राईसंग बराबरी भएपछि विजेताको छिनोफानोकाउन्ट ब्याकमा गरिएको हो । महिलातर्फ जुनी गुरूङले उपाधि जितिन् । उपाधि जित्ने क्रममा जुनीले १५ अंक जोडिन । उनले सुष्मासिंहलाई पराजित गरिन । दोस्रो भएकी सुष्माले १३ अंक बनाइन। सिनितरतर्फ १६ अंक सहित बलराम थापा पहिलो भए ।
प्रतियोगिताको क्लोजेस्ट टु दी पिनको उपाधि मेजर विजोय मोक्तान, लङगेस्ट ड्राइभको उपाधि माधब सिम्खडाले जिते । मोस्ट बर्डिजकोउपाधि आत्मराम सिम्खडाले हात पारे ।
विजयी खेलाडी तथा सहभागीलाई लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नोर्बु गुरूङ, उपाध्यक्ष छिम्मी बिष्टले पुरस्कार प्रदान गरे । समापन समारोहमा प्रशासकीय अधिकृत बुद्धिराम उपाध्याय, नेपाल गल्फ संघका उपाध्यक्ष पवित्र कुमार कार्की, लो–घेकर दामोदरकुण्ड गाउँपालिकाकाका अध्यक्ष लोब्साङ छोम्पेल बिष्टको समेत उपस्थिति थियो ।






