सल्लेरीमा बत्ती बलेको १२ वर्षपछि बिजुली पुग्दै

तस्विर: फाकफोकथुम गाउँपालिका ३ को सल्लेरी गाउँ । जहाँ अहिलेसम्म केन्द्रीय प्रसारणको बिजुली बलेको छैन ।

इलाम । इलामलाई उज्यालो बनाउने योजना अनुरूप जिल्लाका सबै क्षेत्रमा विद्युत् पु-याउने लक्ष्य राखेर विद्युतीकरणको काम तीव्र भइरहेको छ । विद्युत् नपुगेका जिल्लाको विकट भूगोल बाझो, साकफारा, लुम्दे फुएतप्पा, आमचोक क्षेत्रमा धमा धम काम भइरहेको हो ।

दसै अघि नै सबै क्षेत्रमा बिजुली बाल्ने उद्देश्यका साथ तीव्र रूपमा काम गरिए पनि फाकफोकथुम गाउँपालिकाको वडा नं. तीनमा पर्ने सल्लेरी र रातमाटेमा बिजुली पुग्न सकेन । उक्त क्षेत्रका लागि विद्युतका पोल भने पुगेका छन् भने अब पोल गाड्ने र तार तान्ने काम पनि धमाधम हुने तयारी रहेको छ ।

तार तान्ने ठाउँमा धान पाक्न लागेको कारण किसानले धान उठाउने साथ तार तान्ने काम हुने फाकफोकथुम गाउँपालिका अध्यक्ष दीपेन्द्र खनाल बताउँछन् । उनका अनुसार त पु¥याउने उद्देश्यका साथ लागि रहे पनि असारमा किसानले दुख गरेर रोपेका धान उठाएपछि तत्काल काम अघि बढाउने उनको भनाई छ ।

नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख बिजुलीप्रसाद यादवले यस वर्ष जिल्लाका सबै ठाउँमा केन्द्रीय प्रसारणको विद्युत् पुग्ने जानकारी दिए । ‘अधिकांश क्षेत्रमा विद्युत् पुगेको छ, केही वडा बाँकी रहेका छन्,’ उनले भने, ‘बाँकी रहेका वडामा समेत यसै वर्ष विद्युतीकरणको काम सकिन्छ, अहिले सबै स्थानमा आवश्यक सामग्री पठाइसकिएको छ, केही महिनाभित्रमा केन्द्रीय प्रसारणको बिजुली जिल्लाका सबै ठाउँमा प्रयोग गर्न पाउनुहुनेछ ।’

हाल जिल्लामा इलामको फिक्कल र सदरमुकामको तिलकेनीमा मात्र सब स्टेसन रहेको र दुई स्थानबाट जिल्लाभर विद्युत् सञ्चालन भइरहेकाले बेला–बेला बिजुली बन्द हुने समस्या आइरहेको भन्दै यादवले, जिल्लाभर पाँच स्थानमा सब स्टेसन निर्माण भएपछि यी सबै समस्याको हल हुने पनि बताए ।

निजी लगानीबाट उज्यालोमा गाउँ
जिल्लाको विकट मानिने फाकफोकथुमका उक्त क्षेत्रमा विद्युत् प्रधीकरणको बिजुली नपुगे पनि गाउँ भने उज्यालो नै छ । त्यस क्षेत्रका जनताले स्थानीय खोलाबाट लघु जलविद्युत निर्माण गरेर गाउँमा बत्ती बालिरहेका छन् ।

पाँच वटा साबिकका गाविस रहेको फाकफोकथुममा पाँचै वटा लघु जलविद्युत सञ्चालन भएका छन् । जसका लागि दुईसय घर परिवारले चार वर्ष सम्म श्रमदान मात्रै गरेनन् प्रतिघर ४० हजार रुपैयाँ भन्दा बढी लगानीमा गाउँ उज्यालो बनाए । जसले गर्दा फुएतप्पा, आमचोक, कोल्वोटे र एकतप्पा साबिकका चार गाविस उज्याले देखिन्छन् भने अन्य ठाउँ ठाउँमा पेल्टिसेटबाट उज्यालो हुँदै आएको थियो ।

त्यहाँ सञ्चालन भएका जलविद्युतको व्यवस्थापन गर्ने कर्मचारीलाई मासिक प्रतिघर दुई सय रुपैयाँ भन्दा बढी रकम उठाएर तलब खुवाई रहेका छन् । त्यति मात्र होइन सञ्चालन भई रहेका लघु जलविद्युतका सामान बिग्रिँदा प्रत्येक घरबाट रकम उठाएर मात्र सामान खरिद गर्नुपर्ने हुन्छ ।

कतिपय सामान विदेशबाट मगाउनु पर्ने हुँदा महिना दिन सम्म पनि अन्धकार हुने गर्दछ । बर्खाको समयमा भेल र बाढीको कारण कुलोमा समस्या आउँदा पनि खेती पाती नभनी श्रम गर्न जानुपर्छ नत्र बेलुका बिजुली आउँर्दैन । यहाँ निर्माण गरिएका लघु जलविद्युत सञ्चालन भएको १२ वर्ष बितिसकेको छ ।

काठका पोल हट्दै
नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रले जिल्लामा प्रयोग भएका सबै काठका बिजुली पोल विस्थापित गर्ने भएको छ । जिल्लाभर विद्युत् लाइन विस्तारका लागि प्रयोग भएका सबै काठे पोल आगामी दुई वर्षसम्ममा विस्थापित गरी फलामका पोल राखिने भएको हो । इलाम वितरण केन्द्रका केन्द्र प्रमुख बिजुलीप्रसाद यादवका अनुसार हाल इलाम जिल्लामा प्रयोग भएका काठे पोल विस्थापन गर्न कार्यालयबाट काम भइरहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोसी-त्रिशूली बाढीमा ज्यान गुमाउनेकाे संख्या ६६९ पुग्याे