राजविराज, सप्तरी । लकडाउनका बेलामा बेरोजगार भई हातमुख जोड्ने समस्यामा परेका मजदुर तथा विपन्नहरुलाई सप्तरीमा एक किसान परिवारले शुक्रबार राहत बितरण गरेका छन् ।
राजविराज ९ मलेठ निवासी जवाहर यादव, उनका भाई हिरालाल यादव, निमत्री यादव र ननु यादव मिलि ४ सय मजदुर तथा विपन्न परिवारलाई ३ लाख ५० हजार मुल्य बराबरको खाद्यान्न तथा अन्य सामाग्रि बितरण गरेका हुन् ।
कृषि पेशामा संलग्न ती चारै दाजुभाई सगोलमै बसोवास गर्दै आएका छन् । कोरोनाको जोखीमलाई ध्यानमा राख्दै गरिएको लकडाउनका कारण घरमै सीमित भई बेरोजगार भएका मजदुर तथा आर्थिक अवस्था निकै कमजोर भएकालाई हातमुख जोर्ने समस्या नहोस् भन्ने उद्देश्यले अपाङ्ग, दलित, असाहय, बृद्धबृद्धा, एकल महिलालगायत विपन्न समुदायका ४ सय परिवारलाई प्रति परिवार १० केजी चामल, १ लि. खानेतेल, १ केजी दाल, १ केजि नुन, १ थान साबुन, एक प्याकेट भुजा लगायतका समाग्रि बितरण गरिएको छ ।
त्यस्तै अनाथ र टुहुरा बालबालिकालाई लत्ताकपडा समेत बितरण गरिएको छ । यादव दाजुभाईले आफ्नै घरआङ्गनमा गोला घेरा बनाई सामाजिक दुरी कायम गर्दै गरेको कार्यक्रममा समाजसेवी भिमराज यादव, मो. फिरोज, प्रदिप यादव, सन्तोष यादव लगायतले पनि राहत सामाग्रि बितरण गरेका थिए ।
काठमाडौंमा अध्ययनरत जवाहरका छोरा प्रभात र छोरी प्रतिभा समेतले लकडाउनका बेलामा आफूहरु घर नआउने र आवतजावतमा हुने खर्चको रकम समेत त्यस्तालाई विपन्नहरुलाई खाद्यान्न किनेर बितरण गर्न दिएको सल्लाहलाई मध्य नजर राख्दै चारै दाजुभाई बसी छलफल पश्चात् आफुहरुले यसरी मजदुर र विपन्नको पहिचान गरि राहत बितरण गरेको जवाहरले सुनाए ।
किसान दाजुभाईद्वारा बितरित खाद्यान्न पाएपछि मजदुर र विपन्न परिवार पनि खुशी भएका छन् । उनीहरुले लकडाउनका कारण बाहिर निस्किन नपाई बेरोजगार भई बस्दा हातमुख जोड्न समस्या भएको बेला खाद्यान्न उपलब्ध गराउने दाजुभाईलाई आर्शिवादसहित धन्यवाद दिए । स्थानीय कोशीलादेवीले भनिन्, “लकडाउन भएदेखी राम्ररी खान र सुत्न पाएका छैनौं, घरमा केही बचाएर राखेको खाद्यन्न पनि सकिएको तीन दिन भयो अहिले पाएको खाद्यान्नले केही राहत मिलेको छ । यस्तै भनाई राखिन अर्की मजदुर पत्नि शिलिया देवीले पनि ।
दैनिक ज्याला गरेर परिवार चलाउने मजदुर विपन्न समुदायलाई लकडाउनका कारण घरमै सीमित हुनुपर्दा हातमुख जोर्ने समस्या र भोकभोकै बस्ने बाध्यता रहेका बेला किसान परिवारका दाजुभाईले बाडेको राहतले त्यस्ता परिवारलाई धेरै राहत मिलेको छ । यस संकटको घडीमा यस्ता मजदुर तथा विपन्न वर्गलाई सहयोग गर्न अन्य सहयोगि हातहरु अघि बढ्नु जरुरी छ ।






