यस धर्तीमा विभिन्न प्राकृतिक सम्पदा छन् । जसमध्ये भूमिलाई विशेष महŒवपूर्ण मानिन्छ । तर, यो सीमित प्रकृति प्रदत्त उपहार हो । भूमि सम्पूर्ण मानव जातिको सम्पत्ति हो । जसमा सम्बन्धित देशका जनताको भविष्य निर्भर रहन्छ । यसमा सम्पूर्ण मानव जातिको बसोबासदेखि विभिन्न व्यवसायसम्म सञ्चालन गरिन्छ । जसमध्ये खेतीपातीले धेरै वर्ष अघिदेखि महŒवपूर्ण भूमिका खेल्दै आएको छ ।
पृथ्वीको कुल १३ लाख हेक्टर भूमिमध्ये ११ प्रतिशत मात्र खेतीयोग्य छ । जसमध्ये झन्डै १७ प्रतिशत मात्र सिञ्चित हुनाले भविष्यमा विश्वका धेरै देशमा भोकमरीको समस्याले विकराल रूप लिन सक्ने छ । वस्तुतः विश्वको धरातलअनुसार खेतीयोग्य भूभाग, केही वनजंगल तथा झाडी, केही मरुभूमि आदि पाइन्छ । यहाँको भौगोलिक वास्तविकतालाई आधार मानेर भूमिको अधिकतम सदुपयोग गर्न कृषि उत्पादन बढाएर भोकमरीको समस्या न्यूनीकरण गर्न सकिन्छ ।
नेपाल एक कृषिप्रधान देश हो । जहाँ कुल ३० लाख ९१ हजार हेक्टर जमिन खेतीयोग्य छ । यहाँको कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान झन्डै २७ प्रतिशत छ । तर, दुःखको कुरा त के छ भने केही वर्षयता यहाँ खाद्यान्न आयात निरन्तर रूपले बढिरहेको छ । यथार्थतः ७५ देखि ८ हजार ८ सय ४८ मिटर उचाइमा रहेकाले यहाँ विद्यमान हावापानीमा सबै किसिमका खाद्यान्न, फलफूल र सागपातको खेती गर्न सकिन्छ । यहाँको हावापानीले विश्वकै हावापानीको प्रतिनिधित्व गर्छ । त्यसैले, यहाँ विभिन्न किसिमका कृषि उपज उत्पादन गर्न सकिन्छ । तर, त्यसका लागि सरकार तथा कृषकको कटिबद्धताको खाँचो छ ।
सुहाउँदो हावापानी भएकाले यहाँका केही कृषि उपज विश्वमै प्रसिद्ध छन् । उदाहरणका लागि यहाँ उत्पादित अलैंची विश्वमा प्रथम स्थानमा अंकित गरिएको छ भने अदुवा तेस्रो स्थानमा र मुसुरो छैठौं स्थानमा छ । वस्तुतः यहाँका विभिन्न स्थान विभिन्न बालीका लागि प्रख्यात छन् । उदाहरणका लागि सिन्धुलीको जुनार, पाल्पाको अमृसा तथा तेजपत्ता, इलामको चिया, गुल्मीको कफी, सल्यानको अदुवा, हुम्ला÷जुम्लाको स्याउ, संखुवासभा तथा तेह्रथुमका अलैंची र खुर्सानी विश्व प्रसिद्ध छन् । कुनै पनि कृषि उत्पादन अभिवृद्धि गर्न प्रशस्त पानीको आवश्यकता पर्छ जुन नेपालमा भएर पनि आवश्यकताअनुसार प्रयोग गर्न सकिएको छैन ।
नेपालमा झन्डै ६ हजार नदीनाला र दर्जनौं तालतलैया छन् । जसको सही परिचालन गर्न सके यहाँको सबै खेतीयोग्य जग्गामा सिँचाइ गर्न सकिन्छ । तर, हालसम्म पनि यहाँका अधिकांश खेतीयोग्य जग्गामा सिँचाइ सुविधा पुग्न नसकेकाले आकासे पानीमा भर पर्नुपर्ने अवस्था छ । आगामी दिनमा यहाँको कृषि उत्पादन वृद्धि गर्ने हो भने सिँचाइ सुविधा विस्तार गर्न आवश्यक छ । यसका लागि आवश्यकताअनुसार साना, मभ्mयौला र ठुला सिँचाइ आयोजनाको निर्माण गर्नु जरुरी छ ।
जुनसुकै देशमा पनि कृषि उत्पादन वृद्धि गर्ने प्रांगारिक मलले महŒवपूर्ण भूमिका खेल्छ । अरू देशमा जस्तै नेपालमा पनि प्रांगारिक मल सहजै उत्पादन गर्न सकिन्छ । यस्तो मल आवश्यकताअनुसार स्वदेशमै उत्पादन गर्न सके उपयुक्त समयमा आफ्ना खेतबारीमा हालेर बढी कृषि उपज प्राप्त गर्न सकिन्छ । सो मलले यहाँको माटोको उर्वराशक्ति बढाई कृषि उत्पादन बढ्ने छ ।
आज विश्वका धेरै देशमा विभिन्न बालीमा कीटनाशक औषधी प्रयोग गर्ने चलन बढेको छ । जुन प्रत्येक व्यक्तिको स्वास्थ्यका लागि हानिकारक मानिन्छ । तर, प्रांगारिक मल यस्तो हानिकारक हुँदैन । यसले माटोको उर्वराशक्ति बढाउने हुनाले कृषि उत्पादन बढाउन मद्दत गरी रासायनिक मलको प्रयोगमा कटौती गर्ने छ ।
भारत र चीनबाहेक अन्य देशसँग पनि नेपालको निर्यात व्यापार बढाउन सकिन्छ
कुनै पनि देशमा उन्नत बीजबिजन प्रयोग गरेमा कृषि उत्पादन पहिलेभन्दा झन्डै तेब्बर बढ्ने कुरा एक अनुसन्धानले पुष्टि गरेको छ । तर, हालसम्म पनि यहाँका धेरैजसो कृषकले रैथाने बिउबिजन प्रयोग गर्दै आएकाले सोचेअनुरूपको उत्पादन प्राप्त गर्न सकेका छैनन् । यदि, भविष्यमा यहाँको कृषि उपज बढाउने हो भने उनीहरूलाई उन्नत बिउबिजन प्रयोग गर्न उत्प्रेरित गर्नुपर्छ । तर, कुनै पनि बिउबिजन निश्चित समय अवधिसम्म मात्र प्रयोग गर्नुपर्छ । अन्यथा यसबाट कृषि उत्पादनमा ह्रास आउँछ ।
नेपाल विश्वका कम भूमि भएका देशमध्ये एक हो । जसको भौगोलिक कारणले गर्दा खेतीयोग्य भूमि कम छ । जहाँ वर्षायाममा पहाडबाट बगेर आएको बलौटे माटो तराईको मलिला खेतीयोग्य जग्गामा जम्मा भई खाद्यान्न तथा अन्य बालीको उत्पादनमा नकारात्मक प्रभाव परेको छ । रासायनिक मलको अधिकतम प्रयोग, पीएच भ्यालुमा देखिएको कमी, पोटासमा विद्यमान कमी आदि कारणले नेपालको धेरै ठाउँको माटोको उर्वराशक्ति घट्दै गएको तथ्य यहाँको कृषि विभागले सार्वजनिक गरेको तथ्यांकले इंगित गरेको छ । जसबाट यहाँका कृषि उपजको परिमाण भविष्यमा न्यून हुने सम्भावना देखिन्छ ।
वस्तुलाई यहाँको खेतीयोग्य जग्गाको माटोको डिजिटल नक्सांकनमा खेतीयोग्य जमिनको ५०–५५ प्रतिशत माटो अम्लीय, ४–५ प्रतिशत क्षारीय र ४० प्रतिशत तटस्थ देखिन्छ । माटोको उर्वराशक्ति बर्सेनि क्षय हुँदै जाँदा भविष्यमा यहाँको कृषि प्रणालीमा गम्भीर संकट नआउला भन्न सकिँदैन । केही दशक अघिसम्म नेपालबाट अन्य देशमा खाद्यान्न आयात गरिन्थ्यो । परन्तु, केही वर्षयता यहाँ खाद्यान्नलगायत धेरैजसो कृषिजन्य वस्तु निरन्तर रूपले आयात गर्न थालिएको छ । जुन कृषि उत्पादनको कमीले गर्दा हो ।
नेपाल व्यापार एकीकृत रणनीतिमा यहाँका निर्यातयोग्य वस्तु अधिकांश कृषिजन्य छन् । तर, नेपाल सरकारले सो वस्तुको स्वदेशमै उत्पादन गर्न उपयुक्त ध्यान नदिएकाले यहाँ खाद्यान्न तथा अन्य कृषि उपजको उत्पादन अपेक्षित रूपमा बढ्न सकेन ।
आगामी दिनमा यहाँ खाद्यान्न तथा अन्य कृषि उपजको उत्पादन अभिवृद्धि गर्न रणनीति बनाई कार्यान्वयन गन आवश्यक छ । यसका लागि सोर्फ यहाँका कृषकलाई आवश्यक कर्जा प्रदान गर्न आवश्यक छ भने अर्कोतर्फ उनीहरूको विभिन्न बालीको बिमा गर्न उत्तिकै जरुरी छ । साथै, एकातिर यहाँको कृषिको आधुनिकीकरण गर्न आवश्यक छ भने अर्कोतिर उपयुक्त ठाउँको पहिचान गरी व्यवसायीकरण गर्न उत्तिकै जरुरी छ ।
कृषि उपजबाट फाइदा लिन बजारको सुव्यवस्था गर्न आवश्यक छ । वास्तवमा यहाँ राम्ररी बजार व्यवस्थापन गर्न सके थप कृषि उपजको आन्तरिक व्यापार अभिवृद्धि गर्न सकिन्छ । यसबाहेक भारत–चीन तथा अन्य देशसँग पनि निर्यात व्यापार बढाउन सकिन्छ ।
यथार्थतः नेपालमा कृषि विकासको थालनी गरिएको झन्डै नौ दशक भयो । सर्वप्रथम यस्तो सुरुवात १९९२ सालमा चारखाल अड्डाबाट गरिएको हो । सोही वर्ष कृषि विकासका लागि कृषि प्रदर्शनी पनि आयोजना गरिएको थियो । २०२१ सालमा कृषि क्षेत्रको सुधारका लागि भूमि सुधार ऐन लागू गरिए पनि खासै प्रभावकारी हुन सकेन ।
यसैगरी, २०५२ दीर्घकालीन कृषि नीति ल्याइए पनि व्यवहारमा उतार्न सकिएन । पछिल्लो वर्ष २० वर्षे (२०७२–९२) कृषि रणनीति प्रकाशमा ल्याई कृषि विकास गर्ने प्रयास गरिएको छ । परन्तु, यसलाई व्यवहारमा उतार्न सम्बन्धित पक्ष कटिबद्ध हुनुपरेको छ ।






