दोस्रो विश्वयुद्धबाट विश्वले बिदा लिइसकेको थियो । विश्व केही तंग्रिदै थियो । यो सन् १९५४ तिरको कुरा हो । दक्षिण अमेरिकास्थित मेक्सिकोको एउटा दूरदराजमा पुग्न एक क्युवाली क्रान्तिकारी पुरानो रेलमा यात्रा गरिरहेका थिए । उनी निर्वासित थिए तथापि रेलको डिब्बामा उनी सोचमग्न देखिन्थे ।
प्रेरक प्रसंग
समयले पर्खने कुरै भएन । रेल निरन्तर कुदिरह्यो । तर, ती २८ वर्षीय युवाको ध्यान भंग भएन । रेलमा मानिस यति खचाखच थिए कि एक डिब्बाबाट अर्को डिब्बामा जानका लागि हिँड्ने ठाउँसम्म पनि थिएन । थोत्रो रेलमा गरिबको दुर्दशा हेरिसाध्य नै थिएन ।
यसले झन् उनलाई एकाग्र बनाइरहेको थियो । क्युवाली भए पनि उनले मेक्सिकोमा बोलिने भाषाको केही ज्ञान राख्थे । उनले ती गरिब यात्रीका सुखदुःखका कुरा सुनिरहेका थिए । घाइते तथा रोगग्रस्त बिरामी रोइरहेका थिए । कतिपयले आफ्नो खोटो कर्म त अरू कतिपयले भगवान्लाई दोष दिइरहेका थिए । कतिले त आफ्ना पुर्खालाई श्राप दिइरहेका थिए ।
त्यतिकै बेला एक जना मेडिकल डाक्टर आए । उनको पिठ्युँमा औषधिको ठूलो झोला थियो । हातमा औषधिका पोका थिए । आफूलाई धिक्कारिरहेका र रोइरहेका सबै ती डाक्टरको गोडामा घुप्लुक्क घोप्टो परे । रेल कुदिरह्यो । ती क्युवाली युवाका आँखामा अर्को पात्र र दृश्य थपियो, गरिबको निःशुल्क उपचार गर्ने डाक्टर ! ती डाक्टरले रोगीको स्थिति हेरेर जाँच सुरु गरे ।
नाम, ठेगाना, उमेर र कामको विवरण बताउँदै रोगका लक्षणहरू भन्नथाले । रोगको पहिचानअनुसार डाक्टरले औषधि हातमा दिए । औषधि हातमा लिएर फेरि ती मानिस ‘हे भगवान् ! तिमी साक्षात रूपमा डाक्टर बनेर आयौ’ भन्दै उनको गोडामा पुनः घोप्टिए । डिब्बाको कुनामा बसेका क्युवाली युवालाई ती डाक्टर अर्जेन्टिनी हुन् भन्ने लाग्यो । उनले चे ग्वेभेरा नाम गरेका मानवतावादी डाक्टर छन् रे भन्ने सुनेका थिए ।
यी क्रियाकलाप देखेर क्युवाली युवा सन्तुष्ट भने थिएनन् । तर, यो कामको विरोध पनि गर्न सक्दैन थिए । उनलाई लागेको थियो, यस्ता जीर्ण शरीर ! त्यति ‘हाई डोज’का औषधि कसरी पचाउलान् ! बिरामीका हातमा औषधि छ, यो औषधि पचाउन सहयोग गर्ने दूध, फलफूल र भिटामिन छैन ।
बिरामी निको होऊन् भन्ने मनशायका साथ डा. ग्वेभाराले महँगा र राम्रा खालका औषधि दिइरहेका थिए । त्यो पनि निःशुल्क ! डा. ग्वेभेराको आँखा एक्कासि कुनामा बसेको अग्लो शरीर भएको युवामाथि पर्नगयो । डा. ग्वेभेराले कानमा खुसुक्क सोधे, ‘यदि म भ्रममा छैन भने तपाईं फिडेल हो ?’ फिडेल क्यास्ट्रोले स्वीकृतिको भावमा टाउको हल्लाए ।
फिडेलले पनि ‘यी मानिस त्यसै पनि मर्ने नै हुन्, किन यति महँगो औषधि बाँडिरहनुभएको ?’ भनी प्रश्न गरे । ‘क्युवाका क्रान्तिकारी भन्छन्, किन यस्तो कुरा गरेको होला’ भनेर चे आश्चर्यचकित भए । ‘किन र ?’ चेले आश्चर्यको मुद्रामै प्रश्न गरे । फिडेल बोले, ‘यति हाई डोज औषधि पचाउन उनीहरूलाई सन्तुलित भोजन छैन, कसरी पचाउलान् ? सन्तुलित आहाराबिनाको यो औषधिले थप जोखिम निम्त्याउँछ ।’
चे नाजवाफ भए । केही बेरपछि डाक्टरले प्रस्ताव गरे, ‘यी औषधि फालिदिऊँ !’ फिडेलले भने, ‘के काम छ र, सबै फालिदिनूस् !’ चेलाई रिङ्गटा लाग्यो । उनले घोप्टिएर सोचे, औषधि पचाउन गिलासभरि दूध, कचौराभरि मासु, थालभरि भात, दाल र हरियो तरकारी अनि टोकरीभरि फलफूलको परिकल्पना गरे ! औषधि र सन्तुलित अहाराको संयोजनमा हराभरा जीवन देखे । केही बेरपछि उठेर ‘खुइय’ गरे !
अघि भर्खरसम्म संसारमा रहेका मानिसमध्ये सबैभन्दा परोपकारी, सबैभन्दा सन्तुष्ट र पुज्य मानिस चे अब दुविधामा फसे ! ‘मेरो काम अपुरो रहेछ,’ डाक्टरले क्युवाली युवासमक्ष आफ्नो ज्ञानको सीमा खोले । फिडेलले तत्काल उनको दुविधा चिर्दै भने, ‘डाक्टर ! तपाईंले गरेको काम परोपकारी छ । चर्च जानुपर्दैन, यति गरिसकेपछि ! तर पनि डाक्टर घायलजस्तै बनिरहे ।
फिडेलको आशय बुझेपछि डाक्टर ग्वेभारा निशुल्क औषधि वितरण गरिरहेको औषधिको झोला भिर्न छाडेर क्युवाको मुक्ति र क्युवाली जनताको स्वतन्त्रताका लागि जीवनमरण संघर्षको यात्रामा सदा समर्पित भए । क्युवामा छापामार लडाइँ लडे । क्युवा मुक्त भयो, त्यहाँका गरिब जनताले थालमा दाल, भात, तरकारी, कचौरामा मासु, टोकरीमा फलफूल राखेर स्वस्थ, उन्नत र शिक्षित जीवन जिउने हैसियत राखे । आज क्युवा २१औं शताव्दीको सबैभन्दा राम्रो र स्वस्थ जीवन जिउने मुलुक बन्न पुगेको छ ।






