राम मन्दिर, भारत र चुच्चे नक्सा

आगामी २२ जनवरी अर्थात् ८ माघ सोमबारका दिन भारतको अयोध्यामा भगवान् रामको मूर्तिको प्राण प्रतिष्ठा हुँदै छ । ५ सय वर्षको संघर्ष र प्रतीक्षापछि भगवान् रामले आफ्नो निवास फिर्ता पाउँदै छन् । भनिन्छ, भगवान् रामको जन्मस्थानलाई गर्भगृह बनाएर रामपुत्र कुशले विशाल मन्दिर बनाएका थिए । कालान्तरमा जीर्ण बनेको सो मन्दिरलाई राजा विक्रमादित्यले पुनर्निर्माण गराए । लगभग ५ सय वर्षअघि मुसलमान आक्रान्ता बाबरले त्यो मन्दिर ध्वस्त बनाएर त्यसकै जगमाथि बाबरी मस्जिद बनाए । राम जन्मभूमिलाई पुनस्र्थापित गराउन सनातनी रामभक्तहरू निरन्तर संघर्षरत रहे । यी ५ सय वर्षको अन्तरालमा प्रत्येक ७÷८ वर्षमा ठूलाठूला संघर्ष र आन्दोलन भएको र लाखौं रामभक्तहरूले जीवनको बलिदानसमेत दिएको इतिहासकारहरू बताउँछन् ।

पछिल्लो कालखण्डमा सन् १९९० मा राम जन्मभूमि पुनस्र्थापना आन्दोलनमा होमिएका सयौं रामभक्तहरूमाथि गोली हानियो । ६ डिसेम्बर १९९२ मा भने लाखौंको संख्यामा उर्लेका आन्दोलनकारीले बाबरी मस्जिदको सम्पूर्ण बनावट नै भत्काइदिए । अन्ततः सन् २०१९ मा भारतको सर्वोच्च न्यायालयको फैसलाबाट राम मन्दिर पुनर्निर्माण सम्भव भएको हो ।

२२ जनवरीको प्राण प्रतिष्ठा समारोहलाई निकै महŒवपूर्ण घटना मानिएको छ । असत्यमाथि सनातनको विजयको प्रतीकका रूपमा लिइएको छ । यस घटनाको राजनीतिक पाटोसमेत रहेको छ । सत्तारूढ भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस घटनाले निकै फाइदा पुग्ने विश्लेषण पनि गरिँदै छ । त्यतातिर नजाऊँ † विश्वको यो भूभागमा विदेशी आक्रान्ताहरूले पटकपटक आक्रमण गरेर यहाँको धर्म संस्कृति र परम्परालाई तहसनहस गरेको तथ्य इतिहासले प्रमाणित गर्छ । तुलनात्मक रूपमा यस भूभागको नेपालचाहिँ यस्ता आक्रमणबाट बचेको देखिन्छ । हाम्रा पुर्खाको पराक्रम र सर्वशक्तिमान ईश्वरको कृपाले नै नेपालमाथि आक्रान्ताहरूको गिद्धेदृष्टि पर्न नसकेको हो भन्दा अत्युक्ति नहोला ।

तमाम विश्लेषण र तर्क वितर्कलाई एकातिर राख्दा पनि राम मन्दिर पुनर्निर्माण र प्राणप्रतिष्ठाको यस घटनालाई यो भूभागमा सनातन हिन्दू जागरणको पुनरुत्थानको एक महŒवपूर्ण कोसेढुंगाचाहिँ मान्नैपर्ने हुन्छ । सनातनीहरूले गुमेको स्वाभिमानलाई फर्काएका छन् । सनातन मत सशक्त भएको छ । त्यस हिसाबले भारतीयहरू मात्र नभई विश्वभरी छरिएर रहेका सनातनीहरू हर्षित हुनु नितान्त स्वाभाविक हो । सनातन बहुल नेपालका अत्यधिक जनता पनि पुलकित छन् भन्दा फरक नपर्ला । सनातनको पुनरुत्थान र आधिपत्य पुनस्र्थापना हुँदा सनातनीहरूले राजनीतिक घेरा, सीमा र बन्धन नाघेर खुसी मनाउनुलाई अन्यथा मान्नुहुँदैन । त्यसै पनि राम, कृष्ण र बुद्धजस्ता महापुरुषहरू कुनै राजनीतिक सीमारेखाभित्र बाँधिन्नन् । आस्था र विश्वासको त कुनै घेरा नै हुँदैन ।

भगवान् रामलाई मर्यादा पुरुषोत्तम पनि भनिन्छ । रामको जीवनको प्रत्येक पल अनुसरणीय छ । कुनै एक व्यक्तिको लाञ्छनाका कारण माता सीताको परित्याग एक घटनाचाहिँ पाच्य देखिन्न । तर, त्यसलाई पनि प्रजारञ्जन नै राजाको प्रथम कर्तव्य भन्दै पतिका रूपमा नचाहँदानचाहँदै पनि एक राजाले दाह्रा किटेर लोकमतलाई स्विकारेको हो भनेर व्याख्या गर्नेहरू पनि छन् । मुलुकको सीमा, आक्रमण र प्रभुत्वको कुरा गरौं । रामले किसकिन्धाका राजा बालीको बध गरे । उनको त्यस कर्मले किसकिन्धा स्वतः उनको अधीनमा आएको थियो । तर, उनले बालीका भाइ सुग्रीवलाई त्यहाँको राजा र बालीपुत्र अंगदलाई युवराज बनाए । किसकिन्धालाई आफ्नो अधीनस्थ ल्याएनन् । लंकाधिपति रावणको बधपश्चात् लंका स्वतः रामको अधीनमा आएको थियो ।

तर, रामले त्यहाँ पनि रावणका भाइ विभीषणलाई राजा बनाए । स्वर्णलंकालाई आफ्नो अधीनस्थ राज्य बनाएनन् । रामले निषादराज गुहजस्ता सानो राज्यलाई समेत स्वायत्तता दिइराखे । हतियारका बलमा रामले कुनै राज्यको सानो टुक्रासमेत हडपेनन् । आफूलाई रामका अनुयायी मान्ने भारतीयहरू यस कुराको पटकपटक उदाहरण दिन्छन् र भन्छन्, ‘भारतले एक इन्च पनि विदेशी भूमि जबर्जस्ती आफ्नो बनाएको छैन र बनाउँदैन ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले यसखाले उद्गार कयौंपटक दिएका छन् । उत्तरप्रदेशका मुख्यमन्त्रीले हिजोआजै रामको र भारतको यस चरित्रको गर्वसाथ व्याख्या गरेका छन् ।

अब आउँ चुच्चेनक्सामा समेटिएको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रतर्फ । सुगौली सन्धिअनुसार महाकालीपूर्वको भूभाग नेपालको हो । उल्लिखित क्षेत्र महाकालीपूर्वको भूभाग हो । एउटा जाली वकिलको शैलीमा कालापानी क्षेत्रको सुदूर उत्तरपूर्व कुनामा एउटा काली मन्दिर खडा गरेर त्यहाँबाट निस्केको खोल्सोलाई कालीनदी नामकरण गर्दैमा महाकालीको मूल रूप फेरिने होइन । स्वयं नरेन्द्र मोदी, राजनाथ सिंह, अमित शाह वा अजित दोभालले प्रकट रूपमा जे भने पनि उनको अन्तरमनले पक्कै भन्नेछ, ‘महाकालीको मूल स्रोत चुच्चे नक्साको उत्तर पश्चिम कुना हो ।’ कुनै दस्तावेज भेट्टिए पनि नभेट्टिए पनि सन् १९६२ को भारत–चीन युद्धताका भारतीय सेना त्यहाँ आएर बसेको हो र अहिलेसम्म कब्जा गरेर बसेको हो ।

हतियारका भरमा बलपूर्वक कसैको भूभाग नहडप्ने प्रभु श्रीरामका अनुयायी नरेन्द्र मोदीका लागि यो आचरण सुहाउँछ ? मर्यादा पुरुषोत्तम रामका भक्त उत्तराखण्ड निवासी बिष्ट अर्थात् योगी आदित्यनाथका लागि नेपालप्रतिको यो अन्याय पाच्य छ ? के भारतीय नेताहरूले मर्यादा पुरुषोत्तम रामको बाटो पछ्याउलान् र सच्चा रामपथ अपनाउलान् ? प्रभु रामको मूर्तिको प्राण प्रतिष्ठाका यजमान नरेन्द्र मोदीले मूर्तिको आँखाको पट्टी खोलेर मूर्तिलाई ऐना देखाउँदैछन् । एकपटक रामका अनुयायी भारतलाई पनि ऐना देखाउने कि ?

तपाइको प्रतिक्रिया
(Visited 348 times, 1 visits today)

epaper

ताजा समाचार

सुर्खेत प्रहरीको हिरासतमा थुनुवाको मृत्यु