बर्दिया । सीमावर्ती भारतको उत्तरप्रदेशमा कोरोनाको संक्रमण बढदै गएपछि जिल्लाको सीमा नाकामा उच्च सर्तकता बढाइएको छ । सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या बढाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरि सीमा पूर्णरुपले सिल गरिएको छ ।
सीमा क्षेत्रको ८७ वटा स्थानमा सशस्त्र प्रहरीको सुरक्षा चेक पोष्ट खडा गरिएको छ । यसका लागि करिव ८ सय सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी उपरीक्षक यादव विकले जानकारी दिए । भारत उत्तरप्रदेशसँग बर्दियाको ८३ किलोमिटर क्षेत्र पर्दछ । यो क्षेत्रमा करिव एक एक किलोमिटरको दुरीमा सुरक्षा चेक पोष्ट खडा गरिएको छ । सुरक्षा निकायले चौविसौँ घण्टा निगरानी बढाएको छ । जिल्लाको सुरक्षा टोलीले सीमावर्ती क्षेत्रमा मोवाइल गस्ती पनि बढाएको छ सशस्त्र प्रहरी उपरीक्षक विकले बताए ।
लुकिछिपी सीमा पार गर्न सक्ने भएकाले सीमामा निगरानी कडा गरिएको शसस्त्र प्रहरीले जनाएको छ । लकडाउन भएसँगै सरकारले सीमा सुरक्षाको जिम्मा शसस्त्र प्रहरीलाई दिएपछि सीमामा कडाई गरिएको हो । सीमामा सुरक्षा तैनाथ बढाइएपछि आवागमन ठप्प भएको छ । लुकीछिपी आवतजावत गर्ने स्थान पहिचान गरि त्यस्ता ठाउँमा सुरक्षा चेक पोष्ट खडा गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
जिल्लामा भएको सुरक्षा बल अपुग भएपछि बाहिर जिल्लाबाट थप बल मगाइ सुरक्षा चुस्त पारिएको छ । पूर्वी सीमा मानखोलादेखि पश्चिम राजापुरसम्म सीमा लक गरिएको छ । सीमावर्ती बलैगाउँ, मूर्तिहा, बिछिया, तिकुनियालगाएतका भारतिय बजारमा नेपालीको आवतजावत बढी हुने गर्छ । खुला सीमाका कारण जोखिम बढन सक्ने भएकाले यि क्षेत्रमा बढी निगरानी बढाइएको प्रशासनले जनाएको छ । सीमामा सुरक्षा कडाइ गरिएपछि कोरोना संक्रमणको जोखिममा न्यूनिकरण हुने अपेक्षा गरिएको छ ।
छिमेकी जिल्ला कैलाली र सीमावर्ती उत्तरप्रदेशमा कोरोना भाइरस संक्रमित व्यक्तिहरु भेटिएपछि भारतीय सीमा पूर्णरुपले लक गर्ने, छिमेकी जिल्ला कैलालीसँग आवागमन ठप्प पार्ने, स्थानिय तहबिचमा पनि आवागमन रोक्ने प्रशासनको रणनिती छ । छिमेकी जिल्ला कैलालीको सीमा राजापुर र कर्णाली चिसापानीमा पनि सुरक्षा सर्तकता बढाइएको छ । अत्यावश्यक सवारीसाधन बाहेक कसैलाई पनि आवतजावत गर्न दिइएको छैन ।






