काठमाडौं । चलचित्र द रेड सुटकेसलाई यो फिल्मका निर्माताले अब ‘क्यएफएक्स चेन हल’मा प्रदर्शन नगर्ने भएका छन् । विश्वभरी लोकप्रियता हाँसिल गरेको आफ्नो चलचित्रलाई यो समुहले रिलिजमा चासो नदेखाएपछि आफुहरुले सो हलहरुमा रिलिज नगर्ने घोषणा गरेको उनीहरुले आईतबार एक विज्ञप्ति मार्फत बताएका छन् ।
नेपालमा करिब एक दर्जन सिनेमा हल रहेको ‘क्यएफएक्स चेन हल’लाई नेपाली चलचित्रलाई महत्व नदिने हल समुहको आरोप लाग्दै आएको छ । गत महिना चलचित्र उपहार, रँगेली, काँडेतारलाई यो समुहले पर्याप्त हल दिएन । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले क्युएफएक्स ग्रुपलाई नेपाली चलचित्रलाई असफल पार्ने हलको रुपमा समेत आरोप लगाए । उनले यो समुहलाई बिदेशी सिनेमालाई महत्व दिने सिनेमा हलको आरोप पनि लगाए । यो कुरा यतिबेला चलचित्र द रेड सुटकेसलाई स्थान नदिएर पनि क्युएफएस्क समुहले आफुहरुलाई नेपाली सिनेमा विरोधी भन्ने सावित गरेको देखिन्छ ।
चलचित्र ‘द रेड सुटकेस यहि ३० चैतबाट रिलिज हुँदैछ । विश्व प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर भई विश्वका अन्य प्रतिष्ठित फेस्टिभलमा पुरस्कृत समेत भएको यो चलचित्रलाई किन प्रदर्शन गर्न नचाहेको भन्ने जवाफ क्युएफएक्सले दिनु पर्ने माग यतिबेला आम चलचित्रकर्मीको रहेको छ ।
चलचित्र द रेड सुटकेस नयाँ वर्षको अवसर पारेर नेपाली दर्शकबीच पनि प्रस्तुत गर्ने कुरामा निर्माण पक्ष जती उत्साहित छन् । यसलाई क्युएफएस्कले वेवस्ता गर्दा उनी त्यत्तिकै दुःखी पनि छन् । निर्माता रामकृष्ण पोखरेलले यो विषयमा राजधानीसँग भने,‘उहाँहरुले हामीले नयाँ वर्षमा रिलिज नगर्नु अर्को हप्ता सार्नु अनिमात्र हल दिन्छौं भनेपछि हामी दुःखी भएका हौं । उहाँहरु यो नयाँ वर्षमा एउटा भारतीय ब्यबसायिक सिनेमालाई महत्वका साथ प्रदर्शन गर्ने पक्षमा हुनुहुन्छ ।’ सोही कारण आफुहरुले क्युएफएक्स समुहका हलमा द रेड सुटकेस रिलिज नगर्ने निर्णय लिएको उनले बताएका छन् ।
आईसफल प्रोडक्सनले एक विज्ञप्ति जारी गर्दै भनेको छ,‘ विदेशमा दर्शक तथा समीक्षकबाट चलचित्रले राम्रै तारिफ पाए पनि हाम्रो लागि घरेलु दर्शकको प्रतिक्रियाको बेग्लै अर्थ रहन्छ । यही कारण पनि विदेशी वितरकको क्यालेन्डरसँग सामन्जस्यता मिलाउँदै हामीले चैत्र ३० गतेलाई प्रदर्शन मिति घोषणा गरेका हौँ ।’ तर प्रदर्शनको संघारमा देशको सबैभन्दा ठूलो सिनेमा चेन क्युएफएक्सले द रेड सुटकेस लाई अन्य देशी–विदेशी फिल्मको चापका कारण उचित सो दिन नसकिने र अर्को हप्ता रिलिज गरे पुर्नविचार गर्न सकिने इमेल लेखेर पठाएको विज्ञप्तिमा उल्लेख छ ।
‘हामीले यसलाई आपत्तिजनक मान्दै क्युएफएक्स चेनमा चलचित्र प्रदर्शन नगर्ने घोषणा गरेका छौँ । यो निर्णयले दर्शकमा पर्न जाने असुविधाप्रति हामी हृदयदेखि नै क्षमा चाहान्छौँ ।’ भन्दै यो बाहेकका सिनेमा घरमा चलचित्र निर्धारित मितिमा नै प्रदर्शन हुने पनि उनीहरुले जनाएका छन् ।
देशलाई चलचित्रको माध्यमबाट संसारभर प्रतिनिधित्व गर्ने द रेड सुटकेस जस्ता चलचित्रमाथि नेपालमा व्यापारको नाममा हुने विभेद नयाँ नभएको पनि पनि विज्ञप्तिमा उल्लेख छ, ‘यसअघि पनि हाम्रो निर्माण रहेको ऐना झ्यालको पुतली माथि पनि विदेशी फिल्म सेन्सर नभएको झोकमा निर्धारित समयमा बुकिंग खोलिएको थिएन । कलात्मक चेतमा निर्माण भएका यस्ता फिल्मलाई व्यापार नगर्ने फिल्मको लेबल लगाएर बारम्बार निरुत्साहित गर्दै आइरहेको सूची लामो छ ।’ चाडपर्व र विदाका समयमा यस्ता फिल्मलाई प्रदर्शनको मौका नदिएर नजानिँदो गरी सिनेमा घरले फरक धारका फिल्म दर्शकको रुचिमा पर्दैनन् भन्ने भाष्य निर्माण गरिरहेका पनि विज्ञप्तिमा उल्लेख छ । यस्ता असहिष्णु व्यवहारको विज्ञप्ति मार्फत उनीहरुले भद्र अवज्ञा गरेका छन् ।
सो विज्ञप्तिमा अगाडि लेखिएको छ,‘हामी चलचित्र घरहरुको व्यापारिक सिद्धान्तको विरुद्धमा कदापि छैनौँ । हामीले चलचित्र घरका सम्पूर्ण सो हामीले पाउनुपर्छ भन्ने आग्रह राखेर यस्तो निर्णय गरेका पनि हैनौँ ।’ आफ्नो चलचित्रको दर्शक सीमाको ’boutमा पनि अवगत आफुहरु अबगत भएको तर कम्तिमा शुक्रबार हलमा चलचित्र नलागुञ्जेल, कुनै पनि चलचित्रको व्यापारको भविष्यवाणी नगरौँ भन्ने आफुहरुको आग्रह रहेको निर्माण पक्षको कथन छ, । निर्माण पक्षले अन्तमा आउँदो नयाँ वर्षको सबैलाई शुभकामना दिँदै यो चलचित्रलाई रिलिज हुने बाँकी हलमा हेर्न पनि आग्रह गरेको छ ।
यो चलचित्रमा सौगात मल्ल, विपीन कार्की, प्रविण खतिवडा र सृष्टि श्रेष्ठलगायतको मुख्य भूमिका छ । श्रीलँका र भातरमा प्राविधिक कार्य गरिएको यो चलचित्रलाई फिडेल देवकोटाले निर्देशक गरेका हुन् । आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको यो चलचित्रको बाँकी निर्मातामा फिडेल देवकोटा, शोभा थापा र सह निर्मातामा श्रीलंकाका विमुक्ति जयसुन्दरा रहेका छन् ।
यो चलचित्रलाई युएफओ च्यानलले युरोपको लागि यसै साता खरिद गरेको छ भने अन्य देशमा पनि यसको विक्री वितरण भईरहेको छ । यो चलचित्रको सम्पादन श्रीलँकामा समन अलभितिगाले गरेका हुन् । चलचित्रको छायाँकार सुसन प्रजापति हुन् । गत वर्षको सेप्टेम्बरमा भेनिसमा वल्र्ड प्रिमियर भएको यो चलचित्रले त्यही फेस्टिभलमा महत्वपूर्ण दुई अवार्ड जितेको थियो । चलचित्रले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो भने स्वतन्त्र समीक्षकहरुको संस्था बिसाटो डिओरोले डेब्यु फिल्म निर्देशकको रुपमा निर्देशक फिडेल देवकोटालाई बेस्ट फस्ट फिचर फिल्मको अवार्ड प्रदान गरेको थियो । त्यसयता चलचित्र संसारकै पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि फेस्टिभलमा प्रदर्शन गरिएको थियो । फिल्मले श्रीलंकामा सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा फेस्टिभलमा पनि बेस्ट डेब्यु फिचर फिल्मको अवार्ड जितेको हो ।






