वर्षाको विपदमै १४५ जना स्वास्थ्य कर्मचारी कटौंती

मकवानपुर । मुलुकभर वर्षाको कारण जनजीवन प्रभावित भइरहेको बेला बागमती प्रदेश सरकारको काम चलाउ मुख्यमन्त्री र स्वास्थ्य सचिबले प्रादेशिक अस्पतालमा कार्यरत १४५ जना स्वास्थ्यकर्मी तथा कर्मचारी कटौती गरेको छ ।

नागरिकको स्वास्थ्यसम्बन्धी हक सुरक्षित गर्न एमालेको माग

यसले नेपालको संविधानमै व्यवस्था भएको स्वास्थ्य सम्बन्धी मौलिक हकको बर्खिलाप गरेको भन्दै आलोचना भएको छ । साथै प्रदेशको राजधानी हेटौडा स्थित मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा आकस्मिक, ओपीडी, ल्याबलगायतका क्षेत्रमा सेवा प्रभावित हुने भएको छ ।

पर्याप्त जनसक्ति अभावमा सेवा दिइरहेका अस्पतालमा कर्मचारी कटौती गर्दा थप समस्या हुने भएको छ । अहिले प्रदेशको स्वास्थ्य मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारीमा छ । स्वास्थ्य मन्त्रालयले अस्पतालमा गत २०८० असोजमा नियुक्ति लिएर काम गर्दै आएका उनीहरूको करार अवधि नवीकरण नगर्ने निर्णय गरेसँगै उनीहरू स्वतः कटौतीमा परेका हुन् ।

मन्त्रालयले हेटौँडा अस्पतालका लागि चालु आर्थिक वर्षमा नियुक्त गरिएको १४५ जना प्रशासनिक र प्राविधिक जनशक्तिको करार अवधि थप नगर्ने निर्णय गरेको हो । मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सम्हाल्दै आएका बखत असार २७ मा निर्णय गर्दै मन्त्रालय र मातहत कार्यालयमा चालू आर्थिक वर्ष २०८०–०८१ को स्वीकृत दरबन्दीमा कार्यरत कर्मचारीको असार मसान्त पश्चात् करार अवधि थप नगर्ने भएको हो ।

बिरामीलाई प्रत्यक्ष रुपमा सेवा दिनुपर्ने विभिन्न तहका कर्मचारी कटौतीले निकै समस्या हुने मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार तथा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईले बताए ।

सो निर्णयअनुसार हेटौँडा अस्पतालले पनि सूचना जारी गर्दै म्याद थप नहुने जनाएको छ । अस्पतालको सेवा विस्तार र गुणस्तर वृद्धिका लागि चालू आर्थिक वर्षमा मन्त्रालय र लोकसेवा आयोगसँगको समन्वयमा विज्ञापन गरी ती कर्मचारीहरू नियुक्त गरेको हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईँले जानकारी दिए ।

उनका अनुसार अस्पतालको सेवा प्रवाह प्रभावित हुनेगरी मन्त्रालयले उक्त निर्णय गरेको हो । कर्मचारी कटौती हुँदा साउन १ गतेबाट अस्पतालको सबै तहको सेवा प्रवाह प्रभावित हुने प्रसाइले बताए । कटौतीमा परेका मध्ये ८० प्रतिशत कर्मचारी प्राविधिकतर्फका छन् ।

गत वर्ष पनि अस्पतालको १४४ कर्मचारी कटौती गरिएको थियो । प्रदेश सरकारले बजेट कटौती गरेको र कर्मचारीलाई तलब भत्ता उपलब्ध गराउन नसकिने भन्दै प्राविधिक र प्रशासनिक १४४ कर्मचारी हटाउने निर्णय भएको थियो ।

प्रदेश सरकारले सो कर्मचारीको तलब भत्ताको बजेट सोझै अस्पतालमा पठाएसँगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आर्थिक वर्ष २०७९।०८० मा भर्ना गरेको सो कर्मचारीहरू हटाइएको थियो । सो कर्मचारी हटाएर चालु आर्थिक वर्षको २ महिना अस्पतालको सेवा प्रभावित बनेको थियो ।

अस्पतालको सेवा थप प्रभावित हुन नदिन हटाइएका १४४ कर्मचारीमध्ये अधिकांशले २ महिना स्वयंसेवकको रुपमा काम गरेका थिए । २०८० को साउन र भदौ महिनामा उनीहरुले विना तलब काम गरेका थिए । मन्त्रालयले सो कर्मचारीहरूको भर्ना प्रक्रिया प्रतिष्ठानबाट हटाएर अस्पतालमा नै कायम गरेको थियो । असोज अन्तिम सातामा मन्त्रालयबाट निर्धारित १४४ मध्ये १३० कर्मचारीका लागि अस्पतालबाट भर्ना खुल्ला गरी नियुक्त गरिएको थियो । नियुक्ति लिएको ९ महिनाको अवधि मन्त्रालय पुनः सो कर्मचारीहरू हटाएको हो ।

नागरिकको स्वास्थ्यसम्बन्धी हक सुरक्षित गर्न एमालेको माग
मकवानपुर । नागरीकहरुको स्वास्थ्य सुविधा पाउने मौलिकहकलाई कुण्ठित नपार्न नेकपा एमाले एमाले मकवानपुरले माग गरेको छ ।

मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा आकस्मिक, ओपीडी, ल्याबलगायतका क्षेत्रमा सेवा प्रभावित हुने गरी कर्मचारी कटौंती गरिएको प्रति एमालेले ध्यानाकर्षण जनाएको हो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा कार्यरत प्राविधिक तथा अन्य कर्मचारीहरुलाई कामचलाउ प्रदेश सरकारका मुख्यमन्त्री र स्वास्थ्य सचिवले सेवाबाट हटाएपछि एमालेले विज्ञप्तिमार्फत ध्यानाकषर्ण गराएको हो । हेटौडा अस्पतालमा सेवारत १४५ जना कर्मचारीहरुको अवकाश गरिएको छ । यो कार्यले हेटौंडा अस्पतालबाट आमनागरीकले पाउने स्वास्थ्य सुविधाबाट वञ्चीत भएको भन्दै एमालेले ध्यानाकषर्ण गराएको हो ।

प्रतिष्ठानलाई तहस नहस पार्ने मनसायले कर्मचारी हटाइएको र आवसर्वसाधारणलाई स्वास्थ्योपचारको हकबाट बञ्चित गराइएको कार्य तत्काल रोकी हेटौंडा अस्पतालको सेवा सुविधा सुचारु गर्न नेकपा एमाले मकवानपुरले माग गरेको छ ।

हाल बर्षाको समयमा आपतकालिन उद्वार र राहत पु¥याउन बढी भन्दा बढी प्राविधिक तथा अन्य जनशक्तिको आवश्यकता पर्ने हुँदा यस्तो समयमा राजनैतिक पूर्वाग्रहपूर्ण ढंगबाट प्राविधिक जनशक्ति सहित ठुलो संख्यामा रोजगारीबाट निकाल्ने र अस्पतालबाट दिईदै आएको सेवालाई प्रभावित पार्ने पार्टी अध्यक्ष श्रीधर पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

“हचुवाको भरमा कुनै वैकल्पिक व्यवस्था नगरी भएको यस्तो अमानविय व्यवहारप्रति नेकपा एमालेको गंभिर ध्यानाकर्षण भएको छ” विज्ञप्तिमा भनिएको छ ।

एमालेले तत्काल उक्त निर्णय सच्याई हाल निष्काशन गरिएका कर्मचारीहरुको वहाली गरी हेटौंडा अस्पतालको बिरामीको चापलाई ध्यानमा राखेर सेवा सुविधालाई निरन्तरता दिन माग गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 115 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि इन्जिनियर दम्पती र छोराछोरीसहित चारै जनाको अन्तिम संस्कार