काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले साउन महिनामा मात्रै ४ अर्ब १९ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले दैनिक १३ करोड ११ लाख रुपैयाँको विद्युत् निर्यात गरी ४ अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको हो । भारतमा भारुमा विद्युत् निर्यात हुने भएकाले साउन महिनामा विद्युत् बिक्रीबाट २ अर्ब ६२ करोड १२ लाख ३ हजार भारु आम्दानी गरिएको छ । साउनमा निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ८ रुपैयाँ ५१ पैसा रहेको छ ।
गत आव २०८०–८१ मा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरिएको थियो । भने १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आठ वर्षअघिसम्म वर्षायाममा दैनिक ८–९ घण्टा र सुख्खायाममा १८ घण्टासम्मको लोडसेडिङ व्यहोर्नुपर्ने अवस्थाको अन्त्य भई हाल वर्षायामका महिनाहरूमा देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रूपमा ७ सय मेगावाटभन्दा बढी निर्यात गर्ने अवस्थामा आइपुगेको बताए । प्राकृतिक र प्राविधिक कारणले यदाकदा केही क्षण वत्ति जाने आउने गरेतापनि अहिले मागअनुसार विद्युत् आपूर्ति गर्न नसकेर लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ रहेको छ ।
कार्यकारी निर्देशक घिसिङले भने, ‘हाम्रो पहिलो प्राथमिकता देशभित्रको विद्युत् खपत बढाउने नै हो, खपत बढाउन प्रसारण र वितरण प्रणाली सुधार तथा विस्तारका कार्य अभियानकै रूपमा कार्यान्वयनमा लगिएको छ, आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको विद्युत् छिमेकी देश भारत र बंगलादेशलाई निर्यात गरिनेछ ।’
घिसिङले वर्षायाममा भारततर्फ विद्युत् निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन हुँदा देशको विदेशी मुद्रा सञ्चिति एवं नेपाल र भारतबीच व्यापार घाटा कम गर्नमा समेत सकारात्मक योगदान पुगिरहेको उल्लेख गरे ।
‘हिउँदयाममा केही महिना अझै विद्युत् आयात गर्नुपरे तापनि आयातको परिमाण क्रमशः घट्दै जानेछ, गत आवबाट देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय बजारमा बिक्री गरी खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनिसकेका छौं,’ उनले भने ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लि–एनभीभीएनलाई बिक्री गरिरहेको छ । एनभीएनले सो विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको बताइएको छ ।
प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित ९ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ । केही दिनअघि द्विपक्षीय सम्झौताबमोजिम भारतका बिहार र हरियाण राज्यलाई थप २ सय ५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको थियो । यसमध्ये एनभीभीएनमार्फत हरियाणा राज्यलाई थप दुई जलविद्युत् आयोजनाबाट उत्पादित १ सय २५ दशमलव ८९ मेगावाट बिक्री गरिनेछ । हाल दुई आयोजनाबाट उत्पादित १ सय ९ दशमलव ६१ मेगावाट विद्युत् हरियाणा राज्यमा बिक्री हुँदै आएको छ ।
१० जलविद्युत् आयोजनाबाट उत्पदित १ सय २५ मेगावाट विद्युत् मध्यकालीन सम्झौताबमोजिम पीटीसी, भारतमार्फत बिहार राज्यमा निर्यात हुनेछ । बिहारलाई पहिलोपटक र हरियाणालाई थप विद्युत् निर्यातका लागि प्राविधिक प्रक्रिया पूरा गरी छिट्टै निर्यात सुरु गरिनेछ ।
हाल १४ आयोजनाबाट उत्पादित ५ सय ८० दशमलव ८९ मेगावाट विद्युत् प्रतिस्पर्धी दरमा आइएक्समा बिक्री भइरहेको प्राधिकरणले जनाएको छ । केही दिनअघि स्वीकृति पाएको परिमाणको विद्युत् निर्यात सुरु भई नसकेकाले हाल आईएक्स र हरियाणालाई गरी दैनिक रूपमा ६ सय ९० दशमलव ५० मेगावाट विद्युत् निर्यात भइरहेको बताइएको छ । स्वीकृत परिमाणको १० प्रतिशत थप विद्युत् निर्यात गर्न सकिन्छ । त्यसैले, हाल दैनिक रूपमा ७ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ ।