काठमाडौ । नेपाल भाषाको कालजायी गीत राजमती…नेपाली भाषामा पनि रेकर्डिङ भएर श्रोतामाझ आएको छ । यही गीतलाई आदिगायक सेतुरामले पहिलो पटक करिब ११५ बर्ष अघि भारतको कलकत्तामा आफ्नो स्वरमा रेकर्ड गरेका थिए ।
यसपछि यो गीतलाई प्रेमध्वज प्रधान, मदनकृष्ण श्रेष्ठलगायत धेरै कलाकारले नेपाल भाषामा आफ्नो स्वरमा रेकर्ड गरेर बजारमा ल्याए । अग्रज गायक तथा अभिनेता मदनकृष्ण श्रेष्ठका अनुसार यो नेवार समुदायको निकै पुरानो गीत हो । बुधबार काठमाडौंमा एक समारोहबीच यो गीतलाई अग्रज गायक–अभिनेता मदनकृष्ण श्रेष्ठले सार्वजनिक गरे ।
यही गीत यतिबेला कृष्ण काफ्लेको स्वरमा रेकर्ड भएर भिडियोको रुपमा बजारमा आएको हो । जसमा सन्तोष श्रेष्ठको पुनसंगीत रहेको छ । यसलाई कृष्णदेव रिमालले नेपाली भाषामा पुन लेखन गरेका हुन् । त्यसपछि पुन संगीत र पुन संगीत संयोजन गरेर काफ्लेको स्वरमा सार्वजनिक गरिएको हो ।
प्रथम गायक सेतुराम प्रधानका परिवारले कार्यक्रममा दिएको जानकारी अनुसार बिस १९६५ ताका भारतको कलकत्ता गई नेपाली र नेपालभाषाका राजमती सहित १४ वटा गीतहरू सेतुरामले आफ्नो स्वरमा रेकर्ड गराएर ग्रामोफोन डिस्कमा ल्याएका थिए । नेपालीले ग्रामोफोन डिस्कमा यो नै पहिलो पटक गीत रेकर्ड गराएको सेतुरामका परिवारले बताए । त्यही राजमती…गीतलाई नेपाली भाषामा गायक कृष्ण काफ्लेको स्वर ल्याउँदा आफुहरुलाई निकै खुसी लागेको सेतुरामका परिवारले राजधानीलाई बताए ।
यो गीतलाई आफ्नो स्वरमा ल्याउन पाउँदै निकै खुसी लागेको बताउँदै गायक कृष्ण काफ्लेले भने,‘दुई सय ५० वर्षदेखि आजसम्म पनि नेवार समुदायमा उत्तिकै लोकप्रिय यो कालजयी गीतलाई गाउन पाउँदा खुसी लागेको छ । यसले राजमती गीतलाई ससारभरका नेपाली भाषीमाझ पु¥याउने विश्वास लिएको छु ।’
यो गीतको भिडियोलाई सवनम मुखियाले निर्देशक गरेकी हुन् । नेपाली भाषामा रेकर्ड गरिएको यो गीतको भिडियो भने नेवार समुदायकै कथामा तयार गरेकी छिन् । गीतको भिडियोलाई म्युजिक नेपालको युट्युव च्यानलबाट ल्याईएको छ । भिडियोको निर्माण कम्पनी ड्रिम वल्र्ड अफ फिल्ममेकर्सकी अध्यक्ष मुखियाले सार्वजनिक कार्यक्रममा बुधबार भनिन्,‘गीतलाई १०० वर्ष अगाडिको कथाबस्तु अनुसार तयार गरी सोही अनुरुप भिडियो निर्माण गरिएको हो । यो गीतलाई धेरै भन्दा धेरै नेपालीहरुमाझ पु¥याउने नेपाली भाषामा पनि ल्याएका हौं ।’
कार्यक्रममा हास्य अभिनेता मनदकृष्ण श्रेष्ठले नेपाली संस्करणको गीतसँगै भिडियो पनि आफुलाई मन परेको बताए । आफुले राजमती गीत रेकर्ड गर्दाको अनुभव पनि उनले सुनाए । यो गीत नेवार समुदायमा अझै पनि त्यत्तिकै लोकप्रिय रहेको मदनकृष्णले बताए ।
यस अघि यो गीत नेपाल भाषाको चलचित्र राजमतीमा समेटिएको थियो । राजमतीकी अभिनेत्री हिसिला महर्जनले राजमतीलाई नेपाली भाषामा सुन्न पाउँदा अझ खुसी लागेको बताईन् । यही चलचित्रले आफुलाई राजमतीको परिचय दिएको सुनाउँदै उनले नेपाली भाषाले यो गीतलाई अझ फराकिलो तुल्याएको बताईन् । यो गीतको भिडियोमा सागर खनाल र सोनी लगुनलगायतको अभिनय छ ।
सोही लोकार्पण समारोहमा बुधबार १५ हजार रुपैयाँसहति आयोजकका तर्फबाट चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकार बिजय रत्न तुलाधर र युवा उद्धमीसम्मानबाट फुपु तेन्जिङ शेर्पालाई सम्मानित गरियो ।






