धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले थालेको ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियानमा महिलाको सहभागिता बढ्दै गएको छ । यो अभियानमा अन्तरगत आफ्नो घरआँगन, टोल तथा सार्वजनिक स्थल सरसफाइ गर्न महिलाको संख्या दैनिक रुपमा बढ्न थालेको हो ।
उपमहनगरपालिकाभित्रका १९ वटै वडाका प्रत्येक टोलमा सरसफाइ संयोजक नै तोकेर आफ्नो गाउँघर एवं टोल सफा गर्ने काम भइरहेको धनगढी उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाअनुसार अधिकांश वडा, टोल एवं गाउँघरमा महिलाकै संयोजकत्वमा सरसफाइ समिति गठन गरेर आफ्नो टोल सुन्दर र सफा बनाउने काम भइरहेको छ ।
सहरी क्षेत्रदेखि गाउँघरसम्मै दैनिक रुपमा सरसफाइको काम भइरहेको धनगढी उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत टंकबहादुर विष्टले बताए । सरसफाइ अभियानमा सामुदायिक एवं संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी समेत जुटेका छन् । विद्यालय क्षेत्रको पाँच सय मिटर वरिपरी विद्यार्थी आफैले सरसफाइ गर्ने काम गर्दै आएका छन् ।

धनगढीलाई नेपालकै सफा सहरको रुपमा चिनाउन अधिकांश संघसंस्था समेत यो अभियानमा जोडिएका छन् । धनगढीमा जथाभावी फोहोर फाल्न समेत निषेध गरिएको छ । धनगढीमा प्लास्टिकको प्रयोग डेढ वर्षदेखि प्रतिबन्धित छ । जथाभावी फोहोर नफाल्न उपमहारपालिकाले धनगढी प्रवेश गर्ने छोटो तथा लामो दुरीमा सवार यात्रुहरुलाई समेत सचेत गराउने कामको सुरुवात गरेको छ ।
सफा धनगढीसँगै हरियाली र उज्यालो धनगढी बनाउने अभियान पनि जारी रहेको छ । धनगढीका धेरै स्थानमा वृक्षारोपण गरेर हरियाली धनगढी अभियानलाई सार्थक बनाउने प्रयास भइरहेको अधिकृत बिष्टले जानकारी दिए । यस्तो अभियानमा उपमहानगरवासीले खुलेर सहयोग र साथ दिइरहेको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।






