सर्लाही । सर्लाहीमा हालसम्म ¥यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) ६६ जनामा गरिएको छ । जिल्लाको विभिन्न क्वारेन्टाइनमा बसेका ६६ जनाको आरडीटी टेष्ट गर्दा ६५ जनाको नेगेटिभ र १ जनाको पोजेटिभ रिपोर्ट आएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।
सर्लाहीको धनकौल गाउँपालिका ५ हरकठबाको क्वारेन्टाइनमा रहेका एक १४ वर्षीय बालकलाई शुक्रवार साँझ आरडीटी परिक्षण गर्दा पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिए । आरडीटी टेष्टमा कोरोना पोजेटिभ देखिए पनि अहिले नै संक्रमित हो भन्न मिल्दैन पिसिआर टेष्टपश्चात मात्र कोरोना संक्रमण हो होइन भन्न सकिने प्रजिअ जिसीले बताए ।
उक्त बालकको थप परिक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाईएको प्रजिअ जिसीले जानकारी दिए । उनीसँगै क्वारेन्टाइनमा रहेका एक अर्का व्यक्तिलाई ¥यापिड टेष्ट गर्दा नेगेटिभ देखिए पनि उनलाई पनि जनकपुर पठाइएको जिसीले जानकारी दिए । कोरोना पोजेटिभ देखिएका ती बालक गएको चैत २३ गतेका दिन भारतको राजधानी दिल्लीबाट आफ्नो गाउँ धनकौल आएका थिए ।
भारतबाट आएको जानकारी सुरक्षाकर्मीलाई थाहा भएपछि ती बालक आफ्नो घर नपुग्दै क्वारेन्टाइनमा राखिएको थियो । हालसम्म सर्लाहीको चन्द्रनगर गाउँपालिकामा ५० जना, हरिपुर नगरपालिकामा २ जना, लालबन्दी नगरपालिकामा ३ , कौडेना गाउँपालिकामा ५ जना र शुक्रवार साँझ रामनगर गाउँपालिकामा ४ जना र धनकौल गाउँपालिकामा २ जना गरी ६६ जनाको आरडीटी टेष्ट गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका बरिष्ठ ल्याब असिसटेन्ट बिजय चौरसीया अनुसार आरडीटी टेष्ट किटमा रगत परिक्षणपश्चात शंका लागेको विरामीलाई पिसिआर टेष्ट किटमा स्वाब परिक्षण गर्दा मात्र कोरोना संक्रमित पत्ता लगाउन सकिने उनले बताए । अहिले जिल्लाभरिमै मलंगवा अस्पतालका र स्वास्थ्य कार्यालय सर्लाहीका ल्याब कर्मचारीहरुले ¥यापिड डायग्नोस्टिक टेष्टमार्फत कोरोना संक्रमणको परिक्षण गरिरहेका छन ।






