खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रमितेडाँडामा अत्याधुनिक सुविधा सम्पन्न ‘खोटाङ फयुल सेन्टर’ पेट्रोल पम्प सञ्चालनमा ल्याइएको छ । सोमबारदेखि चौबीसै घण्टा खुला रहनेगरी सुविधा सम्पन्न पेट्रोल पम्प सञ्चालनमा ल्याइएको हो ।
नेपाल आयल निगमको आधिकारिक बिक्रेताका रूपमा करिब छ करोड लगानीमा फयुल सेन्टर सञ्चालनमा ल्याइएको संञ्चालक संञ्जीव थापाले जानकारी दिए । व्यवसायीहरु केशव थापा, रामेश्वर बराल र सरोज श्रेष्ठको संयुक्त लगानीमा फयुल सेन्टर संञ्चालनमा ल्याएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले सोमबार रिबन काटेर फयुल सेन्टरको औपचारिक उद्घाटन गरेका छन् ।
नगर उपप्रमुख राईले तीन युवा व्यवसायीले सञ्चालनमा ल्याएको फयुल सेन्टरले जिल्लाको समग्र विकासमा एउटा इँटा थपिएको बताए । उनले भने, “इन्धन अभावको बहानामा जिल्लामा सञ्चालित अधिकांश विकासे योजनाका काम रोकिएका छन् ।
अब जिल्लामै सस्तो मूल्यमा प्रयाप्त पेट्रोलियम पदार्थ पाइने भएपछि विकास निर्माणका कामले पनि गति लिन्छ भन्नेमा विश्वस्त बनेका छौं ।” प्रतिलिटर पेट्रोल १६८ रुपैयाँ र प्रतिलिटर डिजेल १५९ रुपैयाँ ३० पैसामा फयुल सेन्टरले बिक्री वितरण शुरु गरेको छ ।
२०७६ सालमा नेपाल आयल निगमबाट स्वीकृति लिएर फयुल सेन्टर स्थापना गरिएको हो । व्यवसायी केशव थापाका अनुसार जिल्लामा चौबीसै घण्टा पेट्रोलियम पदार्थ अभाव हुन नदिनका लागि २०-२० हजार लिटर क्षमताका तीनवटा ट्याङ्कीहरू राखिएका छन् । साथै सेवाग्राहीका लागि नगद तथा विद्युतीय कारोबारको सुविधा पनि उपलब्ध गराइएको छ । पाँच रोपनी जग्गामा स्थापना गरिएको फयुल सेन्टरमा महिला, पुरुष तथा फरक क्षमता भएका व्यक्तिका लागि छुट्टाछुट्टै सौचालय, कफिसप, एयर हाउस, ग्यारेज लगायतका संरचना निर्माण गरिएको छ ।
लगानीकर्ता रामेश्वर बरालले भने, “रमितेडाँडामा स्थापना गरिएको ‘खोटाङ फयुल सेन्टर’ मा अत्याधुनिक उपकरण जडान गरेर नमूना फयुल सेन्टरको रूपमा सञ्चालन गरिएको छ ।” यो सँगै जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा दुईवटा फयुल सेन्टर सञ्चालनमा आएका छन् । यसले जिल्लामा पेट्रोलियम पदार्थको अभाव हुन नदिई विकास निर्माणका कामलाई गति दिनुका साथै ग्राहकहरुलाई थप सहजता प्रदान गर्ने अपेक्षा लिईएको छ ।






