काठमाडौं । आफ्नो नयाँ नेपाली चलचित्र ‘२ नम्बरी’को छायांकनका लागि ८० दिनअघि काठमाडौं आएकी भुटानी अभिनेत्री उगेन छोदेन शनिबार भुटान फर्किएकी छन् । उनको नयाँ फिल्मको छायांकन स्थगित भएपछि ड्रयुड एयरको विमान चार्टर्ड गरेर आफ्नो देश फर्किएकी हुन् । नेपाली चलचित्र छायांकनको कामले उनी ८० दिनअघि काठमाडौं आएकी थिइन् ।
शनिबार बिहान भुटानबाट त्यहाँको सरकारी विमानसेवा ड्रयुक एयरको एटीआर विमान उगेनलाई लिन काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको थियो । काठमाडौंबाट बिहान ९ बजे विमान भुटानको पारो विमानस्थल फर्केको थियो ।
उनी थिम्पुकै बासिन्दा हुन् । अहिले पारोको ओलाथाङ होटेलमा उगेनको २१ दिन लामो क्वारेन्टाइन सुरु भइसकेको छ । त्यसपछि उनी थिम्पु प्रस्थान गर्नेछिन् । आठवटा भुटानी फिल्ममा अभिनय गरिसकेकी उगेनको यो पहिलो नेपाली फिल्म हो । उगेन पनि फिल्मको बाँकी छायांकन सिध्याउन भुटानबाट आउनेछिन् । फिल्ममा उगेनले दयाहाङ राईको जोडी भएर अभिनय गरेकी छन् । ‘२ नम्बरी’मा अभिनय गर्नका लागि उगेनले कलाकार विजय बरालसँग विशेष प्रशिक्षण लिएकी थिइन् । लकडाउनको समय उगेनले काठमाडौंको एक होटेल र आफन्तको घरमा बिताएकी थिइन् ।
‘लामो समयपछि भुटान फर्किन पाउँदा खुसी छु, अब क्वारेन्टाइन अवधिभर फिल्महरू हेर्नेछु र केही किताब पढ्नेछु,’ उगेनले पारोस्थित होटेल ओलाथाङ पुगेर भनिन्, ‘अहिलेसम्म भुटानबाहिर सबैभन्दा लामो समय बिताएको यही नै हो । अब परिवारसँग समय बिताउँछु र कामना गर्छु, चाँडै नेपाल फर्केर काम सिध्याउन पाऊँ ।’
फिल्मको छायांकन अझै केही समय नहुने भएपछि यी नायिका भुटान फर्किएको ‘२ नम्बरी’का निर्देशक दीपेन्द्र लामाले बताएका छन् । किरण नेपाली निर्माता रहेको फिल्म ‘२ नम्बरी’को गत ८ चैतसम्म कास्कीको घाचोकमा छायांकन भएको थियो । यसको अझै ७५ छायांकन बाँकी छ । लामाका अनुसार लकडाउन खुलेर स्थिति सामान्य भएपछि फिल्मको छायांकन अघि बढ्नेछ ।






