हुरी बतासले फलफूलका चिचिला झार्याे

Rajdhani Rastriya Dainik | Online Nepali News Portal
Rajdhani Rastriya Dainik | Online Nepali News Portal

हिउँदे बाली राम्ररी थन्क्याउन नपाउदै आएको हुरी बतासले फलफूलमा क्षति पु-याएपछि यहाँका कृषक समस्यामा परेका छन् ।

लकडाउनभित्र बाली (गहुँ, जौ, दलहन (रहरी, मुसुरो, चनाआदि) र तरकारी) जनशक्तिको अभावले थन्क्याउन र बजार पु-याउन नभ्याइरहेका बेला सोमबार रातिको हुरीबतासले आँप, लिचीसहितका फल बग्रेल्ती झारेपछि किसानको पिरोलो बढेको हो । बगैँचामा बग्रेल्ती आँप र लिचीका चिचिला झर्दा मन अड्याउने ठाउँ नभएको किसानको दुखेसो छ ।

“मजदुर नपाएर तयार बाली थन्क्याउन पाइएन, तरकारी टिपेर बजार पु-याउन नपाउँदा बारीमै बुढिँदै छन्”, भङ्गाहा नगरपालिका–४ का किसान सत्यनारायण यादवले भने, “मधुवा (डढुवा) रोगले आँपका मज्जर (मञ्जरी, फूल) डढाएर सखाप पारेको थियो, अहिले बाँकी रहेका चिचिला पनि हुरीबतासले सखाप पा-यो ।” हुरीबतासले आँप र लिचीका चिचिला झार्नसँगै लहरे वैशाखी तरकारी (लौका, फर्सी, घिरौँला र झिङ्नी) का लहरा हुत्याएर चुँडाएको किसानको भनाइ छ ।

जिल्लामा करिब सात हजार हेक्टर क्षेत्रफलमा आँप र लिचीसहितका फल खेतीको बगैँचा छ । यसपालि मज्जरमै मधुवाको प्रकोप र अहिले हुरीबतासले चिचिला झारेपछि आँपको उत्पादन कम हुने चिन्ता छाएको छ । उत्पादन कम हुने किसानको चिन्तासँगै आमउपभोक्ताका लागि पनि यसपालि आँप मनग्य खान नपाइने चिन्ता बढेको छ ।

उत्पादन कम भएपछि आँपको भाउ आकाशिने हुँदा गरिब उपभोक्तामा आँप राम्ररी खान नपाइने चिन्ता बढेको हो । जिल्लाका सबै भेगतिर सोमबार मध्यरातपछि चलेको हुरीबतासले फलपूmल क्षति पारेसँगै आज बिहान मेघ गर्जनसहित पानी परेको छ । लगातारको वर्षाले ग्रामीण सडक हिलाम्मे भएका छन् । वर्षाले सडक हिलाम्मे भएपछि यहाँका चोकबजारमा भने हिँडडुल पातलिएको छ । पछिल्लो वर्षाले बाँझो खेतबारी खनजोत गर्न भने सहज भएको किसानले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

epaper

ताजा समाचार

लालपूर्जा माग्दै जिल्ला प्रशासन कार्यालय घेराउ